www.tandavnews.com
Fact ~ In search of truth

अन्नपूर्ण पदमार्गमा पर्यटकको चाप बढ्दै

लमजुङ ।

अहिले चक्रिय अन्नपूर्ण पदमार्गमा पर्यटकको चाप बढ्दै गएको छ । तेस्रो कोरोना सङ्क्रमणको जोखिम कम भएसँगै विस्तारै आउन थालेका पर्यटक केही दिन अघिदेखि भने अझै वृद्धि हुँदा यस पदमार्गमा पर्यटकको चाप बढ्दै गएको हो ।

कोरोना सङ्क्रमणका कारण पर्यटक आउन छोडेको यस पदमार्गमा कोरोनाको तेस्रो लहरको जोखिम कम भएसँगै दैनिक दुई चार जनामात्र आउन थालेकामा यतिबेला भने दैनिक ४०/५०भन्दा बढी पर्यटक आउन थालेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का धारापानीस्थित पर्यटक जाँच केन्द्रका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले बताए ।

Batas

पदमार्गमा अझै पर्यटक वृद्धि हुँदै जाँदा विगतका जसरी दैनिक चार पाँचसयभन्दा बढी पर्यटक आउने सम्भावना रहेको उनको भनाइ थियो । यतिबेला पर्यटकको आगमन बढ्दा पर्यटन व्यवसायीको आम्दानीसमेत वृद्धि हुन थालेको छ ।

पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले भने, “पर्यटक आगमनमा कमी हुँदा आम्दानी नहुने चिन्तामा बसेपनि यतिबेला भने राम्रो आम्दानी हुँदै जाने सम्भावना देखिएको छ । विगतमा दैनिक ५०-६० हजारभन्दा बढी आम्दानी हुन्थ्यो त्यसरी नै अब पर्यटक बढेमा आम्दानी हुने बढी सम्भावना छ ।” यतिबेला गुरुङले दैनिक रु १५ हजारदेखि रु २० हजारसम्म आम्दानी गर्न थालेका छन् ।

त्यस्तै जीतबहादुर गुरुङ, खुसीराम गुरुङ, देवीजङ गुरुङ, पूर्णबहादुर गुरुङलगायतको यस पदमार्ग आसपासमा रहेका सयौँ सङ्ख्याका होटल व्यवसाय पनि फस्टाउँदै जान थालेको छ । पर्यटकले हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नाका साथै मनाङबाट थुम्रापास गरी मुस्ताङ जान र कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् ।

प्रवेशद्वार लमजुङमा पर्ने अन्नपूर्ण पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी ५ वटा जिल्ला जोडिएको छ ।

रासस
––––

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.