www.tandavnews.com
Fact ~ In search of truth

‘नेतृत्वमा महिलालाई स्थापित गर्न निरन्तर अभियान’

पोखरा ।

शासन, कानुन, समय बदलिए पनि नेपाली समाज अझै पितृसत्तात्मक सोचबाट चलिरहेको छ । राजनीतिसहित समाजका सबैजसो क्षेत्रमा महिला नेतृत्वमा कम छन् । भएका ठाउँमा पनि उप, सहायक जस्ता कार्यकारी भूमिका नहुने पदमा छन् । नारी र पुरुषलाई एक रथका दुई पांग्रा मानिन्छ । नारी अर्थात् एउटा पांग्रो कमजोर बनाइएकाले समाज अग्रगतिमा बढी बढ्न नसकेको एक कार्यक्रमका वक्ताहरुले औंल्याएका छन् ।  नारी जागरण अभियान गण्डकीले ‘नेतृत्वमा महिला’ अभियान अन्तर्गत बुधबार आयोजना गरेको कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले महिलाले क्षमताको आधारमा समान हक माग्ने समय आइसकेको बताइन् । उनले ज्ञान, सीप, तर्कमा अब्बल गर्न आग्रह गर्दै ऐन, कानुनलाई व्यवहारमा लागू गर्न दबाब दिनुपर्ने औल्याइन् । उनले भनिन्, ‘हामीले पुरुषको भाग खोस्ने होइन, क्षमताको आधारमा समान अधिकार लिने हो । रथ चल्न दुवै पांग्रा समान हुनुपर्छ, सँगै हिड्नुपर्छ । एउटा पांग्रा कमजोर हुँदा नेपाली समाज अग्रगामी बन्न सकेको छैन ।’

Batas

कांग्रेस नेतृ लक्ष्मी पाण्डेले सबै पार्टीमा महिलालाई पछि पारिएको फेहरिस्त प्रस्तुत गर्दै महिलालाई नेतृत्वमा स्थापित गर्न सामूहिक प्रयत्न जरुरी भएको तर्क गरिन् । आफूलाई अन्यायमा पारिए, पछि पारिए बोल्न र छलफलमा आउन उनले महिलालाई अनुरोध गरिन् ।

नागरिक अधिकारकर्मी रामबहादुर पौडेलले ठाउँ ठाउँमा यस खालका अभियान चल्नुपर्नेमा जोड दिए । उनले अभियानलाई भ¥याङ होइन, समाज परिवर्तनको माध्यम बनाउन आग्रह गरे । पौडेलले भने, ‘यो खालका अभियान देशैभर चल्नु जरुरी तर यसलाई भ¥याङ बनाउनु हुँदैन ।’

पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपालीले समावेशिता लोकतन्त्रको अमूल्य पक्ष भएको विचार राखे । उनले लैंगिक तथा जातीय विभेद हटाउन नीति निर्माण गर्ने ठाउँमा शोषित, पछि पारिएका, उत्पीडितको प्रतिनिधित्व जरुरी हुने जनाए ।

कार्यक्रममा पोखरा ५ का वडा सदस्य उज्ज्वल खत्री, पोखरा ९ की वडा सदस्य अभियन्ताहरु राममाया मानन्धर, हरिमाया विश्वकर्मा, लक्ष्मी अधिकारी लगायतले बोलेका थिए ।

नारी जागरण अभियान गण्डकी संयोजक अञ्जु केसीले महिलालाई आर्थिक, सामाजिक र राजनीतिक रुपमै सक्षम बनाउन अभियान सहयोगी हुने उल्लेख गरिन् । उनले भनिन्, ‘संविधान, कानुनले अधिकार दिए पनि व्यवहारमा लागू भएको देखिएको छैन । यो खबरदारीसहित हक, अधिकार स्थापित गर्ने प्रयत्न पनि हो ।’

अभियान अन्तर्गत छलफल, अन्तक्र्रियासहित प्रमुख राजनीतिक दलका नेताहरुलाई ज्ञापनपत्र बुझाइने उनको भनाइ छ । नेतृत्वमा महिलाको सम्मानजनक उपस्थिति सुनिश्चित नभएसम्म अभियान निरन्तर रहने उनको भनाइ छ । केसीले भनिन्, ‘आधा आकास भन्ने चौथाइ पनि स्थान नदिने मानसिकता परिवर्तन गर्न सबै जुट्नुपर्छ ।’

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.