www.tandavnews.com
Fact ~ In search of truth

नेपाल युएई संयुक्त समिति बैठकः नेपाली श्रमिकको सामाजिक सुरक्षा र पारिश्रमिक वृद्धिमा जोड

काठमाडौँ।

नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) को संयुक्त समिति बैठक आज आबुधावीमा हुँदैछ । उक्त बैठक उद्घाटन सत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधनमन्त्री डा अव्दुलरहमान अव्दुलमानन अल अवारले सम्बोधन गर्ने बताइएको छ।

उद्घाटन सत्रपछि सुरु हुने प्राविधिक समूहको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्रालयका सहसचिव राजीव पोखरेलले गर्नेछन। बैठकमा नेपाल र युएईबीच सन् २०१९ मा भएको श्रम–सम्झौता कार्यान्वयनबारे समीक्षा हुने श्रम मन्त्रालयले जनाएको छ ।

Batas

यस्तै यसअघि भएको संयुक्त समितिको बैठकका निर्णय कार्यन्वयन पक्षमा पनि छलफल गरिने भएको छ । बैठकमा वैदेशिक रोजगारीका लागि युएई जाने नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थलमा सुरक्षा, स्वास्थ्य र बीमाको व्यवस्था, सीप विकास, पारिश्रमिक वृद्धिलगायत विषयमा पनि छलफल गरिने भएको छ । पर्यटन प्रवेशाज्ञामा आएर अलपत्र परेका नेपालीका समस्या समाधानबारे पनि बैठकमा छलफल हुने मन्त्रालयले जनाएको छ ।

युएईको भ्रमणमा रहेका मन्त्री श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा अवारबीच आज भेटवार्ता हुँदैछ । भेटवार्ताका क्रममा नेपाली श्रमिकको सुरक्षा र हितका विभिन्न विषयमा छलफल हुनेछ । सो अवसरमा मन्त्री श्रेष्ठले पर्यटन प्रवेशाज्ञा र सोबाट सिर्जित समस्या समाधानका उपायबारे आफ्ना समकक्षीसँग छलफल गर्ने उनको सचिवालयले जनाएको छ । मन्त्री श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सोमबार युएई प्रस्थान गरेको थियो ।

आबुधावीस्थित विमानस्थलमा नेपाली प्रतिनिधिमण्डललाई युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले स्वागत गरेका थिए । बुधबार मन्त्री श्रेष्ठले नेपाली दूतावासमा आयोजना हुने नेपाली श्रमिकले भोगेका समस्या र समाधानका उपायबारे नेपाली समुदायसँग छलफल गर्ने बताइएको छ ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.