www.tandavnews.com
Fact ~ In search of truth

क्रिप्टोको अवैध कारोबार: ९ करोड ७४ लाख हिनामिना, ‘पुष्कर र विनिता’ विरुद्ध मुद्दा दायर

काठमाडौँ ।

मुलुकको ढुकुटीमा अमेरिकी डलरको हिस्सा क्रमशः घट्दा त्यसको प्रभाव समग्र अर्थतन्त्रमा बढ्दै गएको छ । वैदेशिक मुद्रा सञ्चिति घट्दो क्रममा रहेको बेला विदेशी विनिमयको गैरकानुनी रुपमा प्रयोग गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले रतुवामाई नगरपालिका–७ मोरङका पुष्कर श्रेष्ठ र विनिता लिम्बूविरुद्ध ‘विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अनुसार काठमाडौँ जिल्ला अदालतमा सोमबार मुद्दा दायर गरेको आज जारी विज्ञप्तिमा उल्लेख छ । उनीहरुले नेपालमा प्रतिबन्धित वानएक्सवेट, बाइनान्स , एड्भी क्यास, क्वाइनबेस र प्याक्फुल जस्ता माध्यमको प्रयोग गरी सामूहिक मिलेमतोमा अमेरिकी डलरको गैरकानुनी कारोबार गरेको पाइएको छ । विभागका अनुसार आरोपितले विभिन्न एप तथा गैरकानुनी माध्यममार्फत रकम राख्ने वा पठाउने गरेको पाइएको छ ।

Batas

उनीहरुले अमेरिकी डलरको सटही तथा क्रिप्टोमा लगानीकर्ताको रुपमा रहेको अनुसन्धानबाट खुलेको छ । आरोपी श्रेष्ठले मेगा बैंकबाट रु ८६ लाख ८३ हजार ४२९, सिटिजन बैंकबाट रु दुई करोड ५१ लाख ७६ हजार ९९, एनआइसि एशिया बैंकबाट रु एक करोड ८२ लाख ४९ हजार ८८९ र राष्ट्रिय वाणिज्य बैंकबाट रु दुई करोड ३६ लाख ६२ हजार ५३९ गरी कूल रु सात करोड ५७ लाख ७१ हजार ९५८ बराबरको रकम हिनामिना गरेको पाइएको छ ।

यस्तै, आरोपी लिम्बूले एनआइसि एशिया बैंकबाट रु दुई करोड १६ लाख ९८ हजार २४ बराबरको रकम हिनामिना गरेको देखिन्छ । विभागले कूल रु नौ करोड ७४ लाख ६९ हजार ९८३ बराबरको विदेशी विनिमयको अपचलन गरेको अध्ययनमा पत्ता लगाएको छ ।

विभागले आरोपीलाई बिगो जफत गरी सजाय र तीन वर्षसम्मको कैद सजायको मागदाबी गर्दै मुद्दा दायर गरिएको छ । नेपाल राष्ट्र बैंकले २०७४ साउन २९, २०७५ चैत २६ र २०७८ भदौ २४ गते अवैध रुपमा विदेशी विनिमयको अवैध कारोबार नगर्न निर्देशन दिएको छ । यस्तै, नेपालमा गैरकानुनी रहेको क्रिप्टोकरेन्सीको कारोबार नगर्न समेत पटक–पटक केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

रासस
–––

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.