www.tandavnews.com
Fact ~ In search of truth

पोखराः मेयरका आकांक्षीमा युवा आकर्षण

पोखरा
ताण्डव न्यूज ।

तोकिएकै समयमा निर्वाचन भयो भने अबको ठिक २ महिनामा स्थानीय तहको निर्वाचन हुनेछ । निर्वाचनको मिति नजिकिँदै गएको अवस्थामा पोखरा महानगरपालिकामा पनि मेयरका सम्भावित उम्मेद्वारहरुको चर्चा हुन थालेको छ । धेरैले यसपटक पोखराको मेयर जुन पार्टीबाट वा जसरी भएपनि युवालाई बनाउनु पर्ने भन्दै सामाजिक सञ्जालमा आवाज उठाएका छन् ।

भौगोलिक रुपमा देशकै ठूलो महानगर भएकाले पनि यहाँको नगरप्रमुख बन्न विभिन्न राजनीतिक दलका नेताहरुले दौडधुप सुरु गरिसकेका छन् । उनीहरुले पार्टीमा लविङ गर्नेदेखि सामाजिक सञ्जालमा उम्मेद्वारी दिने तयारी गरेको बारे समेत उल्लेख गरेका छन् । मेयरका लागि बहालवाला प्रदेश मन्त्रीदेखि प्रदेश सांसद तथा व्यवसायीहरुसम्मले आकांक्षा देखएका छन् ।

Batas

पोखरा महानगरपालिकामा साविकको एमाले सबैभन्दा बलियो पार्टी हो । मानबहादुर जिसी मेयरमा निर्वाचित हुँदा कांग्रेसका उम्मेद्वार १४ हजार मतान्तरले हारेका थिए । उपमेयरमा १२ हजारको मतान्तर थियो । त्यसमाथि मेयरमा माओवादीको समर्थन कांग्रेसलाई थियो । अहिले एमालेभित्रै माधव नेपालको एकीकृत समाजवादी पार्टी पोखरामा पनि विभाजित अवस्थामा छ । तर यसले ठूलो अर्थ नराख्ने राजनीतिक बृत्तमा चर्चा हुने गरेको छ ।

त्यसोत विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्नेहरुको लहर चलेको भन्दै फेरिपनि पार्टी बलियो बनेको एमाले कास्कीको दावी छ । यस बीचमा दुईपटक सम्म एमाले अध्यक्ष केपि शर्मा ओली नै पोखरा आएर बृहद कार्यक्रमका साथ अरु पार्टीका जिम्मेवार नेता कार्यकर्तासम्मलाई एमालेमा स्वागत गरिसकेका छन् । जनता समाजबादीका केन्द्रिय सदस्य, गण्डकी ईन्चार्ज समेत एमालेमा प्रवेश गरेका छन् । यसले पनि चुनावी नतिजामा फरक पार्न सक्नेछ । निर्वाचन कार्यालयल गण्डकीले दिएको तथ्याङ्क अनुसार पोखरामा मात्रै करिब ४० हजार मतदाता थपिएका छन् । स्थानीय निर्वाचनको नतिजा उम्मेद्वार अनुसार फरक आउन सक्छ । नेपालको राजनीतिमा जनता र मतदाता सधैँ सत्ताको विपक्षमा उभिने भएकोले केही मत त्यहाँबाट पनि तलमाथि हुन्छ । समग्रमा हालसम्मको अवस्था हेर्दा पोखराको भावी मेयर पनि सम्भवतः एमालेकै भागमा पर्न सक्छ ।

नेकपा एमालेबाट हालसम्म दर्जन भन्दा बढीको नाम नगरप्रमुखको आकाक्षीको रुपमा देखिएका छन् । मेयरमा पूर्वमेयर एवं प्रदेश सांसद कृष्ण थापा, हाइड्रो सञ्चालक पुष्पज्योति ढुगाना, होटल सञ्चालक पुष्प अधिकारीसम्मको चर्चा छ ।

त्यस्तै हालका उपमेयर मञ्जुदेवी गुरुङ, पूर्वमेयर कृष्णबहादुर थापा, प्रदेश सांसद राजीव पहारी, भीम कार्की, दिपक पौडेल, नेतृ मीनाकुमारी गुरुङ, वडा नं १३ का वडा अध्यक्ष दर्शन लामा समेत एमालेबाट मेयरको दाबेदार हुन् ।  कार्की पार्टीको कास्की जिल्ला इन्चार्ज पनि हुन् ।

हालकी उपमेयर मञ्जुदेवी गुरुङ पनि मेयरको स्वाभाविक दाबेदार हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै पालिकाको नेतृत्वमा कसैलाई रोज्न पाए मञ्जुलाई नै व्यवस्थापन गर्न सक्ने चर्चा एमालेभित्र छ । राष्ट्रपति भण्डारी र उपमेयर गुरुङ सैनी हुन् । कृष्णबहादुर २०५४ सालमा तत्कालीन पोखरा उप–महानगरपालिकाका मेयर थिए । हाल उनी प्रदेश सांसद छन् । फेरि मेयर हुने इच्छा भएकाले पार्टीले चाहे थापा प्रदेश सांसदबाट राजीनामा दिन तयार रहेको एमाले स्रोत बताउँछ ।

प्रदेश सांसदबाट राजीनामा गरेर स्थानीय तह चुनाव लड्न मिल्ने नीति पार्टीले अख्तियार गर्दा राजीव पहारी पनि दाबेदार हुन्छन् । उनी पनि थापाजस्तै पार्टीको केन्द्रीय सदस्य र गण्डकी प्रदेशको सांसद हुन् । नेतृ मीनाकुमारी गुरुङ महिलातर्फबाट चर्चामा आएको अर्को नाम हो । पार्टीको जिल्ला सहइन्चार्ज रहेकी मीना एमाले उपमहासचिव पृथ्वीसुब्बाकी सम्धिनी हुन् । एमाले छाडेर संघीय समाजवादी गएको इतिहास नभएको भए उनी यसअघिकै चुनावमा उपमेयरको उम्मेदवार हुन्थिन् भन्ने चर्चा एमालेभित्र चल्थ्यो ।

यी बाहेक होटल सञ्चालकद्वय इन्जिनियर भरत पहारी र पुष्प अधिकारी पनि मेयरका आकांक्षी हुन् । उनीहरूले पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बालाई रिझाउने प्रयास गरेका छन् । रूपाकोट रिसोर्टका सञ्चालक पुष्पले गत २३ फागुनमा अध्यक्ष ओली पोखरा आउँदा आफ्नै रिसोर्टमा स्वागत गरेका थिए । त्यहाँ पुष्पले पोखरा बनाउने आफ्नो भिजनको भिडिओ प्रेजेन्टेसन अध्यक्ष ओलीलाई गरेको एमाले स्रोत बताउँछ ।

 

विद्यार्थी राजनीतिबाट आफ्नोे बलियो छवी बनाएका हाल एमाले प्रदेशका उपसचिव रश्मि आर्चायपनि मेयरको आकाक्षीको रुपमा रहेका छन् । पृथ्वीनारायण क्याम्पसका पुर्व स्ववियु सभापति रश्मिले त्रिभुवन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिमा पिएचडी गर्दैछन् । रश्मिले बेला बेलामा आफ्नोे बौेद्धिक लेखन मार्फत युवापुस्तामा तरंग ल्याउने गरेको पाइन्छ ।

जिल्ला कमिटी कास्कीका उपसचिव दर्शन लामाको पनि मेयरमा चर्चा चलेको छ । पोखरा–१३ का अध्यक्ष समेत रहेका लामालाई विशेष गरि युवा पुस्ताले निकै रुचाउछन् । दुई महिना अघि सम्पन्न एमाले जिल्ला कमिटी कास्कीको उपसचिवहरु मध्ये सर्वाधिक मत ल्याएका लामाले पोखरा महानगरपलिकाका अन्य वडाको तुलनामा आफ्नो वडामा उदाहरणिय काम गरेकोे देखिन्छ ।

यसअघिको निर्वाचनमा एमालेले आन्तरिक प्रतिस्पर्धा गरेर उम्मेद्वारको सिफारिस केन्द्रमा पठाएको थियो । तत्कालीन समयमा प्रभा कोइरालाले सबैभन्दा बढी मत ल्याएकी थिईन् । तर कोइरालाको सट्टा गुरुङले टिकट पाईन् । त्यति मात्र होइन पोखराको मेयर बन्न स्वतन्त्र रुपमा ‘अटेरी उम्मेदावर’का रुपमा गनेस पौडेल पनि अघि सरेका छन् ।

कांग्रेसबाट यसअघि मेयरका उम्मेद्वार रामजी कुवँरको निधन भएको छ । यसअघि उपमेयरमा पराजित सरस्वती गुरुङ अहिले मेयरका लागि दाबेदार छिन् । गुरुङ मेयरको टिकटका लागि दौडधुप चलिरहेको काँग्रेस निकटस्थहरु बताउँछन् । कांग्रेसबाट हाल प्रदेशका सन्चार तथा कानुनमन्त्री विन्दुकुमार थापा मेयरमा उठ्ने तयारीमा रहेको बुझिएको छ । उनले मेयरकै तयारी स्वरुप स्थानीय स्तरमा आफ्ना गतिविधि तीव्र पारेका छन् । उनलाई मन्त्रीबाट फिर्ता बोलाएर मेयरको उम्मेद्वार बनाउँदा पार्टीभित्रै असन्तुष्टि बढ्ने देखिन्छ ।

भर्खरै कांग्रेस प्रवेश गरेका व्यवसायी गणेशबहादुर भट्टराई, निवर्तमान जिल्ला सभापति कृष्ण केसी, उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका आनन्दराज मुल्मी, पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विश्वसंकर पालिखे, पुर्वमन्त्री यज्ञबहादुर थापा र महादेव गुरुङ, नेता वीरेन्द्रनारायण बिजुक्छे, पत्रकार गंगाधर पराजुली लगायतले दाबी गरेका छन् । पत्रकारिता क्षेत्रमा बेग्लै पहिचान बनाएका पराजुली कांग्रेसकोे तर्फबाट बलियोे उम्मेदवार मानिन्छन् । कांग्रेसको महानगर सभापतिमा कुनै नेताको साथ नपाएर पराजित भएका पराजुलीले ल्याएकोे मतको आधारमा उनकोे निकै चर्चा भएको थियो । नेताको आर्शिवादबिना पनि राम्रो मत ल्याएकोे भनेर कांग्रेस वृत्तमा बलियो छाप छोडेका थिए ।

त्यसबाहेक पूर्व मेयर सूर्यबहादुर केसीका छोरा किरण केसी पनि महानगरको नेतृत्व लिने दाउमा रहेको बताईन्छ ।

माओवादीबाट विश्वप्रकाश लामिछाने प्रमुख दाबेदार छन् । उनले यसअघि पनि टिकट पाएर अन्तिममा कांग्रेसलाई समर्थन गरेर उम्मेद्वारी फिर्ता लिएका थिए । उपमेयरमा पराजित गोमा ढकाल अहिले राजनीतिमा खासै सक्रिय छैनन् । प्रदेश सांसद दीपक कोइराला, बखानसिंह तमु लगायत नेताहरू टिकटको लविङमा छन् । एकीकृत समाजवादीका जिल्ला अध्यक्ष धनराज आचार्य र पूर्वजिविस उपसभापति समेत रहेका श्रीनाथ बरालको नाम पनि मेयर पदमा उम्मेद्वारीको चर्चा छ । तर सत्ता गठबन्धन कायम रहे निर्वाचनमा उम्मेद्वारहरु फरक पनि हुन सक्छन् ।

२०७४ सालको स्थानीय निर्वाचनमा पोखरा महानगरपालिकामा १ लाख २५ हजार ९ सय ३२ मत खसेको थियो । जुन कुल मतदाताको ७४ दशमलव ९३ प्रतिशत हो । २०७४ मा पोखरामा १ लाख ६८ हजार, ६७ मतदाता थिए । २०७४ सालको स्थानीय निर्वाचन बेलाको भन्दा अहिले पोखरामा ३९ हजार ६ सय ३८ जना मतदाता बढेका छन् । निर्वाचन कार्यालय पोखराका अनुसार पोखरा महानगरमा २ लाख ७ हजार ५ जना मतदाता पुगेका छन् ।

स्थानीय निर्वाचनको मिति घोषणा हुँदाका दिनसम्म त्यतिका मतदाता पुगेका हुन् । यो बाहिरी जिल्लामा दर्ता भएर थप हुन आउने, दाबी विरोधको समयमा मृत्यु भएको तथा दोहोरो तथ्यांक हटाउन लगायत काम गर्नुअघिको तथ्यांक भएको निर्वाचन आयोगले जनाएको छ । स्थानीय तह निर्वाचन ऐन अनुसार उम्मेदवारी दर्ता गर्ने दिनसम्म २१ वर्ष उमेर पूरा भएका व्यक्तिले स्थानीय तहका जुनसुकै पदमा उम्मेदवार हुन पाउने व्यवस्था छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.