www.tandavnews.com
Fact ~ In search of truth

निर्वाचन सामान्य, नियमित र सहज हुँदैन: अध्यक्ष ओली

काठमाडौँ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन सामान्य, नियमित र सहज नहुने बताएका छन् ।

काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा जारी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचन राजनीतिक स्थायित्वका पक्षधर र अस्थिरताका संवाहकहरू बिचको लडाइका रुपमा हेर्नुपर्ने बताए।

उनले संवैधानिक कर्तव्य र स्वेच्छाले नभई जनदबाबका कारण चुनावको मिति घोषणा गर्न बाध्य भएको दाबी गर्दै निर्वाचन तोकिएकै मितिमा, शान्तिपूर्ण, धाँधलीरहित र निष्पक्ष ढङ्गले सम्पन्न गर्ने कुरा सुनिश्चित गर्न चनाखो हुनुपर्ने धारणा राखे ।

भोलिसम्म चल्ने जारी केन्द्रीय कमिटी बैठकको मुख्य एजेन्डा वैशाख ३० को स्थानीय तहको निर्वाचनमा केन्द्रित रहेको छ । बैठकमा अध्यक्ष ओलीले राजनीतिक तथा समसामयिक प्रतिवेदन पेश गरेका थिए। भने सात वटै प्रदेशका अध्यक्षहरूले रिपोर्टिङ गरेका छन् । बैठकमा महासचिव शङ्कर पोखरेलको चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायतका विषय मुख्य एजेन्डाका रुपमा रहेका छन् ।

यस्तै बैठकमा पार्टीका विभागलाई पूर्णता दिने, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, सचिवालय र पोलिटब्यूरो कमिटी बैठकको निर्णय अनुमोदन लगायत प्रस्तावमाथि पनि छलफल हुने बताइएको छ ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.