www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशका बालबालिकालाई विद्यालयमै टाइफाइडविरुद्धको खोप

कास्की ।

कोभिड महामारीविरुद्धको खोप कार्यक्रम जारी रहेकै अवस्थामा गण्डकी प्रदेशमा जनस्वास्थ्यको समस्याका रुपमा रहेको टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ ।

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गतनै प्रदेशका ११ जिल्लाका पाँच लाख ६० हजार २२७ बालबालिकालाई पहिलोपटक टाइफाइडविरुद्धको खोप दिन लागिएको छ । बहुवर्षीय खोप कार्ययोजना सन् २०१७–२१ को लक्ष्यअनुरुप यही चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

Batas

टाइफाइडविरुद्धको खोप १५ महिनादेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई लगाउन लागिएको हो । एक भायलमा पाँच मात्रा रहेको रङविहीन तयारी झोलका रुपमा रहेको खोप एक जनालाई शून्य दशमलव पाँच एमएल दिइने निर्देशनालयका निर्देशक डा खिमबहादुर खड्काले जानकारी दिए । उनका अनुसार खोप योजनाका लागि प्रदेशस्तरीय योजना तथा प्रशिक्षण सम्पन्न भएर ११ जिल्लामै खोप लगाउने स्वास्थ्यकर्मीको तालिम चैत १४ गतेदेखि २४ गतेसम्म सञ्चालन गरिएको छ ।

चैत २० गतेभित्र प्रदेशमा खोप आइपुग्ने भएकाले २१ देखि २३ गतेसम्म खोप सबै जिल्लामा पुगिसक्ने बताइन्छ । खोप प्रत्येक विद्यालयमा लगाउने व्यवस्था गरिने निर्देशक डा खड्काले बताए ।

उनले भने, “यस खोप अभियानमा खोप लगाउनेपर्ने उमेर समूहको ठूलो हिस्सा विद्यालयमा रहने हुँदा बालबालिकाको सहजताका लागि सबै वडाका विद्यालयमा नै खोप कार्यक्रम सञ्चालन हुनेछ । यससँगै वडा कार्यालय र आवश्यक परे स्वास्थ्य संस्थामा पनि खोप लगाउने व्यवस्था गछौँ ।”

टाइफाइड खोपको प्रभावकारिता ९६.९७ प्रतिशत रहेको बताइन्छ । यो खोप लगाउँदा खोप लगाएको ठाउँ रातो हुने, चिलाउने, सामान्य ज्वरो आउनेलगायतका समस्या देखिए पनि जटिल प्रकारको समस्या नआउने स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका स्वास्थ्य सामग्री आपूर्ति व्यवस्थापन विभागका निर्देशक डा रोशन न्यौपानेले जानकारी दिए ।

प्रतिलाखमा एक जनालाई जटिलता हुनसक्ने भनिएकाले त्यस्ता अनपेक्षित घटना भइहालेमा तत्काल उपचार गर्नका लागि आकस्मिक औषधिको समेत व्यवस्था गरिएको बताइन्छ । टाइफाइड रोकथामका लागि खोप प्रभावकारी हुने विश्वास गरिएको छ । विश्व स्वास्थ्य सङगठनका अनुसार टाइफाइडबाट विश्वमा हरेक वर्ष दुई करोड मानिस बिरामी हुने गरेका छन् । त्यसमध्ये करिब एक लाख ६१ हजारले ज्यान गुमाउने गरेको तथ्याङ्क छ ।

नेपालमा भने प्रतिएक लाखमा एक हजार ६२ मा टाइफाइडको सङ्क्रमण दर रहेको छ भने १५ वर्षमुनिका बालबालिकामा प्रतिएक लाखमा १० हजार ९६० सङ्क्रमण दर रहेको बताइन्छ ।

रासस
–––

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.