www.tandavnews.com
Fact ~ In search of truth

चन्दा उठाएर डोजर

म्याग्दी।
म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका वासिन्दाले चन्दा सङ्कलन गरेर डोजर किनेका छन् । गाउँमा सडक पु¥याउन गुर्जा विकास मञ्चको पहलमा चन्दा सङ्कलन गरेर चुरेन कन्ट्रक्सन प्रालिको नाममा डोजर किनेका हुन् । मञ्चका सचिव प्रेम छन्त्यालले कम्पनीले खरिद गरेको डोजर परिचालन गरेर धवलागिरि गाउँपालिकाको केन्द्रदेखि वडा नम्बर २ हुँदै गुर्जा जोड्ने सडक अन्तर्गत महतला भिरमा मार्ग खोलिएको बताए ।

“स्वदेश तथा विदेशमा रहेका गुर्जावासीले सडक निर्माणका लागि चन्दा सङ्कलन गरेर डोजर किनेका हौँ,” उनले भने “हालसम्म करिब रु ७०÷७५ लाख सङ्कलन जुटिसकेको छ ।” गुर्जा घर भई हाल पोखरामा बस्नुहुने भारतीय गोर्खा सैनिकका सेवा निवृत्त क्याप्टेन लालबहादुर छन्त्यालको अध्यक्षतामा रहेको मञ्चले सडक निर्माणका लागि आर्थिक स्रोत जुटाउन समन्वय गरिरहेको छ ।

म्याग्दीका छ वटा स्थानीय तहका ४५ मध्ये गुर्जा मात्रै सडक नपुगेको वडा हो । धवलागिरि गाउँपालिका–२ लुलाङदेखि गुर्जा पुग्न तीन हजार ३०० मिटर अग्लो देउरालीडाँडा पार गरेर भीर, जङ्गल र खोल्साको पैदलमार्गमा पूरै दिन हिँड्नुपर्छ । २६५ घरधुरी छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जाका बासिन्दा गम्भीर अवस्थाको बिरामी पर्दा बिरामीलाई हेलिकप्टर चार्टर गरेर, स्टे«चर र डोकामा बोकेर अस्पताल लैजानुपर्छ । पछिल्लो एक वर्षमा अस्पताल जान हेलिकप्टर चार्टर गर्न मात्र गुर्जावासीले करिब रु ४० लाख खर्चेको मञ्चका सचिव छन्त्याल बताए ।

Batas

खच्चर र भरियालाई पिँठ््युमा बोकाएर सामग्री ढुवानी गर्नुपर्छ । महतलादेखि गुर्जाको प्रतिकिलो ढुवानी शुल्क रु २२ तिर्नुपर्छ । विपन्न र शारीरिक अशक्त गाउँपालिका र जिल्ला सदरमुकाम पुग्न नसकेका सरकारी सेवा सुविधाबाट वञ्चित भएका छन् । आलु, जडीबुटी र पशुजन्य वस्तु निकासी गर्न समस्या भएको छ ।

लोत्ता, पुवा, चोयालगायत वनपैदावार जङ्गलमा कुहिएर खेर गएको छ । महँगो ढुवानीका कारण विकास आयोजनाको लागत बढेर कार्यान्वयनमा समस्या भएको स्थानीयवासी गोर्खाबहादुर छन्त्यालले बताए ।

गुर्जा र लुलाङ तथा बागलुङको ढोरपाटन क्षेत्रलाई गाउँपालिकाको केन्द्र मुनासँग जोड्ने मुना–लुलाङ सडक अन्तर्गत पर्ने महतला भिरमा दुई वर्षको प्रयासमा गत पुस महिनामा करिब एक सय मिटर सडकको मार्ग खुलेको थियो । पूर्वाधार विकास कार्यालय म्याग्दीले दरवाङ–बिम–भारवाङ–ताकम–मुना–लुलाङ–गुर्जा सडक आयोजना अन्तर्गत महतला भिरमा सडक निर्माणका लागि २०७६ पुसमा बिएन कन्ट्रक्सनले रु ७८ लाख ९९ हजार ३१० मा ठेक्का लिएको थियो ।

विसं २०७७ चैतदेखि सहायक निर्माण व्यवसायीको रुपमा काम थालेको चुरेन कन्ट्रक्सनको डोजरले महतलाको भिरमा मार्ग खोलिएको हो । चट्टान काटेर मार्ग खोलिएको सडकको ग्रेड मिलाउने र फराकिलो बनाएर यातायातका साधन चल्न योग्य बनाउने काम भइरहेको छ । महतलादेखि लुलाङ हँुदै गुर्जातर्फ जाने सडक खोरिया, लमसुङ र लुलाङका बासिन्दाको विवादले निर्माण हुनसकेको छैन् । विवादित भूगोललाई छोडेर लुलाङदेखि देउराली हुँदै गुर्जा जोड्ने १० किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए । धवलागिरि गाउँपालिकाले रु चार लाख खर्चेर बनाएको डिपिआर अनुसार सो सडक निर्माणका लागि रु ४७ करोड ८७ लाख लगानी आवश्यक पर्छ ।

“वडा र पालिकाको बजेटबाट सम्भव नहुने भएपछि डिपिआर बनाएर सङ्घ र प्रदेश सरकारमा योजना प्रस्ताव गर्ने तयारीमा छौँ,”वडाध्यक्ष छन्त्यालले भए, “गुर्जावासीले आफै डोजर खरिद गरेर सडक निर्माणमा अग्रसर भएपछि बजेट व्यवस्थापनमा दबाब परेको छ ।” सरकारले इन्धन र चालकको तलब भत्ताको व्यवस्था गरेमा डोजर परिचालन गरेर सडक खन्ने गुर्जा विकास मञ्चका पदाधिकारीको भनाइ छ ।

विसं २०७४ मा भूगर्वविद् र प्राविधिक टोलीले लुलाङ र गुर्जा जोड्ने सुरुङमार्गको सम्भाव्यता अध्ययन गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिए पनि महँगो लागत जुटाउन नसकेपछि सडक निर्माण योजनालाई अघि बढाइएको छ । गुर्जातर्फबाट मजदूर परिचालन गरेर देउरालीदेखि वनामसम्म दुई किलोमिटर आन्तरिक सडक निर्माण भएको छ ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.