www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरः वडा हाँक्न हौसिएका महिला

जीवन सुवेदी
पोखरा, ताण्डव न्यूज ।

२०७९ बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा कास्कीमा पनि निर्वाचनको माहोल बढ्दो क्रममा छ । विभिन्न राजनीतिक दलहरुले निर्वाचनमा जाने आ आफ्नै तयारी गरिरहेका छन् भने सम्भावित उम्मेद्वारहरुको चर्चा परिचर्चा समेत भईरहेका छन् ।

३३ वटा वडा रहेको पोखरा महानगरपालिकामा २०७४ सालमा भएको निर्वाचनमा वडा नं १ बाट एकमात्र महिला उम्मेद्वारले निर्वाचनमा विजयी हासिल गरेकी थिईन । अहिलेको निर्वाचनमा भने महिलाहरुको पनि सक्रिय रुपमा उपस्थिति हुनुपर्ने विषयमा महिला अधिकारकर्मीहरुले आवाज उठाँउदै आएका छन् ।

Batas

उसो त पोखरा महानगरको मेयर पदमै महिला उम्मेद्वारको चर्चा चलिरहेको छ । नेकपा एमालेबाट हालकी उपमेयर मञ्जुदेवी गुरुङ र नेपाली काँग्रेसको तर्फबाट २०७४ सालको निर्वाचनमा पराजय भोगेकी सरस्वती गुरुङको पनि नाम चर्चामा छ ।

यी दुई बाहेक अरु दलहरुबाट महिला उम्मेद्वारको खासै चर्चा भएको छैन ।

महानगरका ३३ वटा वडामा वडा अध्यक्ष पदका लागि भने यस पटकको निर्वाचनमा अहिले वडा सदस्य भएर काम गरिरहेका जनप्रतिनिधिहरुको नाम चर्चामा आईरहेको छ ।

नेकपा एमालेका तर्फबाट पोखरा १५ की वडा सदस्य पार्वती कार्की, २४ मा वडा सदस्य रहेकी सन्तुदेवी सुवेदी, पोखरा १७ की वडा सदस्य राधीका शाही योगी, वडा नं २५ की वडा सदस्य लक्ष्मी अधिकारी, पोखरा ५ की वडा सदस्य अन्जु क्षेत्रीले वडा अध्यक्षमा आकांक्षा राखेका छन् । यी मध्ये कार्की, सुवेदी र शाहीले महानगरको कार्यपालिका सदस्य समेत भएर काम गरिसकेका छन् ।

त्यस्तै नेपाली काँग्रेसबाट पोखरा ११ की वडा सदस्य तिर्थ गुरुङ र वडा नं १० की निशा मल्ल ठकुरीले आकांक्षा देखाएका छन् ।

५ वर्षसम्म कार्यपालिकाको अनुभव भएकाले पनि आफूले वडालाई अझ सक्षम नेतृत्व प्रदान गर्न योग्य भएको पोखरा २४ की आकांक्षी उम्मेद्वार सन्तुदेवी सुवेदीले बताईन् । ‘मेरो ५ वर्षको अनुभवलाई वडाको विकासमा लगाउने छु,’ उनले भनिन् ‘पार्टीले विश्वास गरेमा म नेतृत्व लिन पछि हट्ने कुरा हुँदैन ।’ अब महिलाहरु पनि नेतृत्व लिन सक्षम रहेको भन्दै उनले कामबाट पनि त्यसको पुष्टि गर्ने बताईन् ।

अर्की दावेदार राधिका शाही योगी पनि १७ नम्बर वडाको विकासका लागि आफू योग्य रहेकाले आकांक्षा राख्नु स्वाभाविक भएको दावी गर्छिन् । ‘हामीले ५ वर्ष वडाको विकास र समग्र महानगरमा मसिनो गरी काम गरेका छौँ’, उनले भनिन् ‘कतिपय अधुरा कामहरु पूरा गर्नुछ, ती काम पूरा गर्न भएपनि मेरो स्वाभाविक दावेदारी रहन्छ ।’ साथै महिला सक्षमताको पुष्टिका लागि समेत आफ्नो दावेदारी रहेको उनको कथन छ ।

त्यसैगरी वडा नं १५ को अध्यक्षमा दावी गरेकी महानगरको न्यायिक समितिमा समेत रहेर काम गरिसकेकी पार्वती कार्कीले आफ्नो क्षमता, २ पटक सम्म कार्यवहाक अध्यक्ष समेत भएर काम गरिसकेको आफ्नो अनुभव, निर्णायक तहमा महिला पुग्नुपर्छ पर्छ भन्ने मान्यताका कारण अध्यक्षमा उम्मेद्वारी दिन पाउनुपर्ने बताईन् । पुरुषलाई मात्र नेतृत्वमा लगिँदा महिलाहरुका सवाल सम्बोधन नहुने भएकाले पनि आफ्नो दावेदारी रहेको उनको भनाई छ ।

वडा नं ५ का वडा सदस्य रहेकी अन्जु क्षेत्री पनि आफ्नो अनुभव वडाको विकासमा लगाउने चाहना राख्छिन् । ‘मैले यो ५ वर्षको अवधिमा विकास कसरी गर्न सकिँदो रहेछ भन्ने अनुभव बटुलेकी छु’, उनले भनिन् ‘आफ्नो अनुभव प्रयोग गरेर वडाको विकास र समग्र महानगरको विकासका लागि योगदान दिने ईच्छा छ ।’ जनतालाई छरितो सेवा दिन आवश्यक रहेको उनको भनाई थियो । नेतृत्वमा महिला सशक्तताका लागि उनले अभियाननै चलाइरहेकि छिन् ।

यो ५ वर्षको अनुभवले मलाई जनताका कामहरु निर्णायक तहमै रहेर पूरा गर्न सकिदो रहेछ भन्ने लागेको उनले सुनाइन् । साथै उनले आर्थिक समृद्धि, एक घर एक उद्यमीको योजना समेत आफूसंग रहेको सुनाईन ।

पोखरा २५ मा वडा सदस्यको रुपमा रहेकी लक्ष्मी अधिकारी पनि वडा अध्यक्षमा आफ्नो स्वाभाविक दावी रहने बताउँछिन् । ‘५ वर्षसम्म वडा सदस्य भएर अनुभव हासील गरेँ’, उनले भनिन् ‘अब वडाको नेतृत्व लिनुपर्छ भन्ने सोँच आएर मेरो दावी रहेको हो ।’ उनले वडाको समग्र विकास गरी नमुना वडाको रुपमा विकाश गर्ने, सुईँखेत खोलाको दिगो व्यवस्थापन गर्ने र महिलाहरुलाई आत्मनिर्भर बनाउने आफ्ना योजनाहरु रहेको समेत बताईन् ।

हाल पोखरा १० को वडा सदस्यमा कार्यरत निशा मल्लले पनि ५ वर्षसम्म वडा सदस्य भएर काम गर्दा महत्वपूर्ण योजनाका कामहरु गर्न नसकेको हुँदा आफ्नो दावेदारी प्रस्तुत गरेको बताउछिन् । तर उनको आकांक्षा रहँदा रहँदै पनि पार्टीको माथिल्लो समितिले उम्मेद्वार छनोट समिति बनाएको र उक्त समितिले आफ्नो अनुकुल निर्णय नगर्ने जानकारी पाइसकेपछि आफू पछि हटेको ताण्डव न्यूजसंग बताईन् । आफू महाधिवेशन प्रतिनिधि पनि भईसकेकोले माथिल्लो पदमा जानुपर्ने कुरा आइरहे भएपनि वडाबासीको सेवा गर्न, वडामा बाँकी रहेका योजना पूरा गर्न, वडा भवन निर्माण गर्ने योजना भएपनि आफू ब्याक हुनुपरेको उनले बताईन् ।

त्यस्तै महानगरको वडा नं ११ की वडा सदस्य तिर्थ गुरुङ पनि वडाको नेतृत्वका लागि आकांक्षी देखिएकी छिन् । आफू जनजातीको तर्फबाट समेत भएको हुँदा वडा नं ११ लाई सक्षम नेतृत्व दिन तयार रहेको उनको भनाई छ । ‘वडा नं ११ का जनताले पनि म नै वडाको नेतृत्वमा आउनुप¥यो भनिरहनुभाको छ’, उनले भनिन् ‘मैले वडा सदस्य भएर काम गर्दा मेरो भत्ता समेत जनातकै काममा खर्च गरेकी छु ।’ वडा नं ११ लाई नमुना वडा बनाउन आफू सक्षम रहेको उनको दावी छ ।

वडा सदस्यमा रहेर काम गरिसकेकाहरु अधिकांशको भनाई ५ वर्षको अनुभवलाई प्रयोग गर्न पाउनुपर्ने भन्ने नै छ । तर महानगरको अहिलेको निर्वाचनमा कति जना महिला उम्मेद्वारले टिकट पाउँछन् र कतिजना विजयी हुन्छन् भन्ने २०७९ बैसाख ३० पछि मात्रै थाहा हुनेछ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.