www.tandavnews.com
Fact ~ In search of truth

स्थानीय तह निर्वाचन: दलहरुको विकल्प खोज्दै ‘अटेरी अभियान’

जीवन सुवेदी
पोखरा, ताण्डव न्यूज ।

नेपालको संविधान बमोजिम निर्वाचनमा उम्मेद्वार बन्नका लागि कुनै पार्टी वा दलमै आवद्ध हुनैपर्छ भन्ने छैन । व्यक्ति योग्य ठानेमा मतदाताले स्वतन्त्रपूर्वक उम्मेद्वार बनेका व्यक्तिलाई पनि निर्वाचित गराउन सक्छन् । नेपालमा पटक पटक यसको अभ्यास पनि भईरहेकै छ । काठमाण्डौ महानगरपालिकामा पनि स्वतन्त्र उम्मेद्वारहरुको चर्चा चलिरहेको छ । गण्डकी प्रदेशमा एकजना सांसद नै स्वतन्त्र पूर्वक उम्मेद्वारी दिएर विजय हासील गरी अहिले मन्त्री समेत भईसकेका छन् ।

२०७९ बैसाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि कास्कीका विभिन्न पालिकाहरुमा पनि यतिबेला धमाधम स्वतन्त्र उम्मेद्वारी दिने क्रम बढेको छ ।

Batas

लेखक एवं साहित्यकार गनेस पौडेलले पोखराबाट सुरु गर्नुभएको “अटेरी अभियान”मार्फत यूवाहरुले स्वतन्त्र उम्मेद्वारी दिने तयारी गरिरहेका छन् । पोखरा महानगर विभिन्न वडामा गरी १७ जनाले उम्मेद्वारी दिने तय भैसकेको छ । अभियानले उम्मेद्वारीको तयारी मात्र होईन पोखरालाई कस्तो शहर बनाउने भनेर “पोखरा लक्ष्य २०७९” नाम दिएर कार्ययोजना समेत सार्वजनिक गरेर निर्वाचनमा होमिएको छ ।

शनिबार पोखरामा कार्ययोजना सार्वजनिक गर्दै अभियानका संयोजक पौडेलले दल केन्द्रित राजनीतिले स्थानीय स्तरमा विकास हुन नसक्ने भएकाले आफूहरुले अटेरी अभियान थालेको बताए । “हामीले कुनै दलमा आवद्ध नहुनुस भनेका छैनौँ” पौडेलले भने “जहाँ हुनुहुन्छ त्यहिँबाट बेथिति र सिद्धान्त विपरितका कार्यहरुमा अटेरी गर्नुस” फरक नतिजा चाहने हो भने उहि काम दोहो¥याउन नहुने उनको भनाई थियो । “काँग्रेसको विकल्प एमाले होईन, एमालेको विकल्प काँग्रेस होईन उनले भने “दुईटैको विकल्प आजको दिनमा अटेरी अभियान हो ।” स्थानीय तहको निर्वाचनलाई दल रहित बनाउनुपर्नेमा उनको जोड थियो ।

स्थानीय तहको निर्वाचनमा दल हेरेर होईन व्यक्ति हेरेर निर्वाचित गराउनुपर्छ भन्ने मूल उद्धेस्यका साथ पोखराबाट सुरु भएको यो अभियान देशभर फैलिएको अभियन्ताहरुको दावी छ । बुटवलको सिद्धार्थनगर नगरपालिकामा मेयरको उम्मेद्वारी घोषणा गरेकी ईसा खड्काले देशलाई संकटबाट जोगाउन आफू पनि अभियानमा जोडिएको बताईन् ।

निर्वाचनमा होमिनेमध्ये अधिकांश यूवा छन् । “दल केन्द्रित राजनीतिक नेतृत्वबाट स्थानीय स्तरमा विकाश गर्न सकिँदैन” भन्ने निष्कर्षमा पुगेका यूवाहरुले थालेको यो अभियान आम नागरिकहरुमाझ पु¥याउनका लागि पोखरा कार्ययोजना बनाएरै अघि बढेको अभियानका यूवा परिचालन संयोजक अभिमन्यू पाण्डेले बताए । “निधारमा पर्यटन, आँखामा शिक्षा र स्वास्थय, नाकमा शुसासन”को मूल नाराका साथ कार्ययोजना बनाएको अभियानले जनताको चाहना अनुसार जनप्रतिनिधिहरुले काम गर्न नसकेको औँल्याएको छ । यो अभियानलाई अभियन्ताहरुले दलहरुको अकर्मण्यताप्रतिको प्रहार समेत भनेका छन् ।

२००७ साल पछि नेपालमा दलीय राजनीति हुन थालेको थियो । आफ्ना पिता पुर्खा जुन पार्टीका थिए सन्तती हरुपनि सोही पार्टीमा रहने परम्परा जस्तै बनेको अहिलेको अवस्थामा आम नागरिकले यो अभियानलाई साथ दिन्छन् वा दिँदैनन् त्यो भने हेर्न बाँकी नै छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.