www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरको प्रमुख र उप-प्रमुखको टुंगो लगाउँदै एमाले

जीवन सुवेदी
पाेखरा, ताण्डव न्यूज ।

नेकपा एमालेले पोखरा महानगरका प्रमुख र उपप्रमुख उम्मेद्वार चयनको प्रकृया सुरु गरेको छ । आज पार्टी कार्यालय शान्तिवनमा बसेको एमाले महानगर कमिटिको बैठकले उम्मेद्वारहरुको आकांक्षा संकलन गरी छलफल थालेको हो ।

अपरान्ह बसेको बैठकमा मेयर पदका लागि १२ जनाले आकांक्षा देखाएका छन् । त्यस्तै उपमेयरका लागि ११ जनाले आकांक्षा प्रस्तुत गरेका छन् ।

Batas

मेयर पदका लागि नेताहरु दर्शन लामा, पुष्पज्योति ढुङ्गाना, पुष्प अधिकारी, दिपक पौडेल, बालसिंह काउछा मगर, सावित्री भण्डारी, मिना कुमारी गुरुङ, भिम कार्की, रश्मी आचार्य, प्र.डा. विश्वकल्याण पराजुली, कृष्णबहादुर थापा र राजिव पहारीले आन्तरिक बैठकमा उम्मेदवारी दिएका हुन् ।

यसैगरी उपमेयरमा पनि ९ जनाले उम्मेदवारी दिएका छन् । जसमा सुस्मा पौडेल, शाेभामोहन पौडेल, बामदेव ढुंगना, टिकाराम पंगेनी, तेजनारायण अधिकारी, सञ्जिवबहाजुर कोइराला, देवका प्रहारी, जिवनप्रसाद आचार्य र बैनबहादुर अधिकारी क्षेत्रीले बैठकमा उम्मेदवारी दर्ता गराएका छन ।

आकांक्षीहरुका बारेमा थप छलफल गरी बैशाख ४ गतेभित्र टुंगो लगाईने नेकपा एमालेका जिल्ला ईन्चार्ज भिम कार्कीले ताण्डव न्यूजलाई जानकारी दिए ।

पोखरामा मुख्यतः दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

२०७४ सालको निर्वाचनमा मेयर निर्वाचित मानबहादुर जिसीले कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार कांग्रेसका रामजी कुँवरलाई साढे १३ हजार मतले पराजित गरेका थिए । पोखरामा एमाले बलियो मानिन्छ । यहाँ एमालेबाट निर्वाचित २२ र कांग्रेसका ११ वडाध्यक्ष छन् । संगठन बलियो भएकाले आफूहरुको जित सुनिश्चित रहेको एमालेको दावी छ ।

पोखरा महानगरपालिकामा २०७४ को स्थानीय तह निर्वाचनभन्दा ३९ हजार ६ सय ४५ मतदाता थपिएका छन् । २०७४ सालमा १ लाख ६८ हजार ६७ मतदाता थिए । चुनावमा भने १ लाख २५ हजार ९ सय ३२ मत खसेको थियो ।

यसपटक भने पोखरा महानगरमा २ लाख ७ हजार ७ सय १२ मतदाता पुगेको निर्वाचन कार्यालय पोखराले जनाएको छ । यसरी थपिएका मतदाता पोखराको नेतृत्व चुन्न निर्णायक हुन सक्ने देखिएको र थप भएका मतदातामा पनि उल्लेख्य संख्यामा आफ्नो पक्षका मतदाता रहेको एमालेको दावी छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.