www.tandavnews.com
Fact ~ In search of truth

सरकार र जनमत पार्टीबीच गृह मन्त्रालयमा भेटवार्ता

काठमाडौँ।

गृहमन्त्री बालकृष्ण खाँणले जनमत पार्टीले राखेको माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको जानकारी दिएका छन् । गृह मन्त्रालयमा आज सरकार र सिके राउत नेतृत्वको जनमत पार्टीबीच भएको भेटवार्तामा गृहमन्त्री खाँणले जनमत पार्टीसँग पूर्ववर्ती सरकारले गरेको सहमतिबमोजिम कानुनअनुरुप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिन पहल गर्ने बताए ।

उनले जनमत पार्टीलाई मूलधारको राजनीतिमा आएर निर्वाचन आयोगमा दल दर्ता गर्दै निर्वाचन भागलिने तयारी गर्नु स्वागतयोग्य कुरा भएको बताए। मन्त्री खाँणले सबै राजनीति दलले आफ्नो दलको चुनाव चिह्न पाउने व्यवस्था गर्न आयोगसँग आग्रह गरेको र सोहीअनुरुप आयोगले निर्णय गरिसकेको जानकारी दिए ।

भेटमा सो पार्टीका नेताले आगामी स्थानीय तह निर्वाचन प्रयोजनार्थ निर्वाचन आयोगमा दल दर्ता गराएको जनाउँदै आफूहरुले यसअघि सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न माग गरेको थियो । उक्त पार्टीले आफूहरुले गरेको कृषि आन्दोलनमा पक्राउ परेका नेता तथा कार्यकर्ताको रिहाइ गर्न माग गर्दै किसान आन्दोलनका माग सम्बोधन गर्न आग्रहसमेत गरेको छ ।

भेटमा गृहमन्त्री खाँण, गृहसचिव टेकनारायण पाण्डे, महान्यायाधिवक्ता खम्बबहादुर खाती र सहसचिव फणीन्द्रमणि पोखरेल तथा सो पार्टीको तर्फबाट अध्यक्ष राउत, उपाध्यक्षत्रय वसन्त कुशवाह, दीपक साह, नरेन्द्र साह र महासचिव चन्दन सिंहको सहभागिता रहेको थियो ।
रासस।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.