www.tandavnews.com
Fact ~ In search of truth

स्थानीय तह निर्वाचन उम्मेदवार टुङ्गो लगाउन सकस

जनकपुर।
स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा पनि मधेस प्रदेशमा राजनीतिक दलले अझै उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् । सत्ता साझेदार दलकाबीचमा चुनावी तालमेलमा सहमति जुटेपनि आ आफ्ना पार्टीभित्र उम्मेदवार बन्ने आकाङ्क्षी बढी देखिएकाले उम्मेदवार छनोट गर्न दलहरुलाई सकस भइरहेको छ ।

दलले उम्मेदवारको टुङ्गो लगाउन नसक्दा उम्मेदवारका आकाङ्क्षीहरु मात्र होइन, पार्टीका नेता कार्यकर्तासमेत अन्योलमा परेका छन् । “उम्मेदवारी मनोनयन दर्ता गराउने समय एक साताभन्दा पनि कम समय बाँकी छ तर अझै उम्मेदवारको टुङ्गो लगाउन नसक्दा हामी अन्योलमा छौँ,” नेकपा (एमाले) का नेतृ अम्बिका विश्वकर्माले भनीन्, “नगरपालिकाको उपप्रमुख पदका लागि मेरो नाम सिफारिस भएको छ तर पार्टीले अझै आधिकारिक निर्णय लिन नसक्दा अन्योलमा परेकी छु ।” पार्टीले निर्णय नगरेकाले खुलेर उम्मेदवारका रुपमा जनतामाझ पुगेर प्रचार गर्न सकिरहेकी छुइन्, उाको भनाइ छ ।

“पार्टीले उम्मेदवार छनोटको निर्णय लिन नसक्दा प्रचारप्रसारमा ढिलाइ भइरहेको छ,” नेपाली कांग्रेस नेता काननकुमार चौधरीले भने, “पार्टीले उम्मेदवार टुङ्गो लगाउन ढिलाइ गर्दा न त उम्मेदवारका रुपमा खुलेर प्रचार गर्न सकिरहेको छु न त अन्य तयारी नै गर्न भ्याएको छु ।” केवल अहिले पार्टीको निर्णय कुरेर बसिरहेको छु उनको कथन छ ।

Batas

उनीहरु मात्र होइन, अधिकांश दलबाट विभिन्न पदका आकाङ्क्षी उम्मेदवार पार्टीको निर्णय पर्खेर बसिरहेका छन् । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरेको छ । तर उम्मेदवारी मनोनयन दर्ताको समय एक साताभन्दा कम समय बाँकी रहँदा पनि राजनीतिक दलहरुले उम्मेदवार टुङ्गो लगाउन नसक्दा नेता कार्यकर्ताहरुमा अन्योलता मात्र बढ्ेको छैन गाउँगाउँमा चुनाबी माहोलसमेत बन्न नसकेको मतदाताहरु बताउँछन् ।

सत्ता साझेदार दलहरु तालमेलको कसरमा जुटिरहँदा प्रतिपक्षी दल एमाले, लोकतान्त्रिक समाजवादी पार्टी तथा जनमत पार्टी उम्मेदवार छनोटको गृहकार्यमा जुटेका छन् । गठबन्धनभित्र चुनावी तालमेलमा अझै कुरा मिल्न नसक्दा कांग्रेस र जनता समाजवादी पार्टीले सिरहा, सप्तरी लगायतका जिल्लाहरुमा उम्मेदवार बिनै छुट्टाछुटै घरदैलो कार्यक्रम सुरु गरिसकेको छ भने गठबन्धनमा आबद्ध नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टी पनि आन्तरिक गृहकार्य गरिरहेको नेताहरुले बताएका छन् ।

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मात्र उम्मेदवारको टुङ्गो लगाएर उम्मेदवारहरुलाई टिकट वितरण गरेको छ । “मधेस प्रदेशका हरेक स्थानीय तहमा उम्मेदवारी दिने तयारी पार्टीको छ,” जनमत पार्टीका नेता बिपी साहले भने, “पालिका समितिहरुबाट सिफारिस भएका उम्मेदवारहरुलाई टिकट वितरण गरिसकेको छ, वडाध्यक्षहरुको टिकट भोलिदेखि बाँड्ने तयारी गरेको छ ।”

यसैबीच कांग्रेस र जसपाको पर्सा जिल्ला समितिले केही दिनअघि विज्ञप्ति जारी गरेरै पर्सा जिल्लाको स्थानीय तहहरुमा तालमेल नगर्ने र मित्रवत् रुपमा प्रतिस्पर्धा गर्ने निर्णय नै घोषणा गरिसकेको छ भने कांग्रेस लहान नगरसमितिले पनि वडा सभापतिहरुको रायअनुसार कुनै दलसँग गठनन्धन नगर्ने र एक्लै प्रतिष्पर्धामा जाने घोषणा गरिसकेको छ । “लहान नगरपालिकामा दलहरुबीच गठबन्धन हुने सम्भावना नदेखिएकाले हामी एक्लै चुनावी प्रतिस्पर्धामा जाने निष्कर्षका पुगेका छौँ,” कांग्रेस लहान नगरसमितिका सभापति महेशप्रसाद चौधरीले भने, “पार्टीको नगर समितिको निर्णयअनुसार हामीले चुनाव प्रचारप्रसार सुरु गरिसकेका छौँ ।”

कांग्रेस लहान नगर समितिले लहान नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा तीन÷तीनजनाको नाम सिफारिस गरेको छ ।

कांग्रेसले तालमेल नगर्ने निर्णय गरेपछि लहान नगरपालिकामा नेकपा (माओवादी केन्द्रं, जसपा र नेकपा (एकीकृत समाजवादी)ले तालमेल गर्ने प्रयास गरेको छ ।

यद्यपि अझै यस विषयमा ठोस निष्कर्षमा पुग्न नसकेको नेकपा एसका नेता सत्यनारायण यादवले बताए। कूल ३३ लाख ३१ हजार १७० मतदाता रहेको मधेस प्रदेशमा स्थानीय तहको निर्वाचनका लागि चार हजार १९९ मतदात केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालय जनकपुरधामले जनाएको छ ।

एमाले र लोसपा जितेको पालिकामा अनिवार्य तालमेल गर्ने गठबन्धनको निर्णय

सत्तारूढ गठबन्धनको मधेस प्रदेशस्तरीय बैठकले मधेस प्रदेशमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले जितेको स्थानीय तहमा अनिवार्य रुपमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । गठबन्धनमा आबद्ध दलका प्रदेशस्तरीय नेताहरुको जनकपुरधाममा दुई दिनसम्म बसेको बैठकले मधेस प्रदेशमा एमाले र लोसपा जितेको गाउँ÷नगर पालिकामा गठबन्धनमा आबद्ध दलहरुबीच तालमेल गर्ने निर्णय गरेको हो ।

मधेस प्रदेशका बाँकी पालिकाहरुमा आवश्यकतानुसार गठबन्धन दलबीच तालमेल गर्ने सहमति भएको जसपा मधेस प्रदेशका मुख्यसचिव दिनेशकुमार यादवले जानकारी दिए।

मधेस प्रदेशका आठ जिल्लामा लोसपा र एमालेले ३३÷३४ पालिकाहरुमा जितेको छ । दुवै पार्टीले जितेको स्थानीय तहमा जसरी पनि चुनावी तालमेल गर्ने र बाँकी पालिकाहरुमा आवश्यकता हेरी गठबन्धन गर्ने सहमत भएको उहाँले बताउनुभयो । गठबन्धनमा भागबन्डाबारे पालिकास्तरमै गठबन्धनका नेताहरुले निर्णय लिने सहमति बनेको उनको भनाइ छ ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेलको गृहकार्यका लागि गठबन्धनले जिल्लाजिल्लामा प्रदेशस्तरीय नेतालाई पठाएको थियो । मधेस प्रदेशका आठ जिल्लामा १३६ वटा स्थानीय तह छन् ।

जनमत पार्टीद्वारा टिकट वितरण

आसन्न स्थानीय तह निर्वाचनका लागि डा सिके राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेशका जिल्लामा रहेका पालिकाहरुको प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरुलाई टिकट वितरण गरेको छ ।

पार्टी केन्द्रीय सचिवालयको कार्यालय जनकपुरधाममा प्रदेशका १३६ पालिकामध्ये ११० पालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरुलाई टिकट वितरण गरेको सो पार्टीका महासचिव चन्दन सिंहले जानकारी दिए।

बाँकी २६ पालिकाहरुको प्रमुख र उपप्रमुखको टिकट आज पनि वितरण गर्ने र यही वैशाख ७ र ८ गते पालिकाका वडाध्यक्षको टिकट वितरण गरिने पार्टीले जनाएको छ ।

सबै पालिकाको उम्मेदवारहरूको चयन प्रक्रिया समाप्त भएपछि औपचारीकरुपमै सार्वजनिक गर्नका लागि आन्तरिक गृहकार्य थालिएको महासचिव सिंहको भनाइ छ ।

मधेस प्रदेश रहेको एक महानगर, तीन उपमहानगर र पालिकाहरुको उम्मेदवार सर्वसम्मतरुपमै टुङ्गो लागेको जनमत पार्टीले जनाएको छ ।

सुशासन र पारदर्शितामा जोड दिँदै आएको सो पार्टीले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्नेहरुलाई उम्मेदवारी मनोनयन पत्र दिनुअघि पार्टीको अनुशासनमा बस्ने र भ्रष्टाचारमा संलग्न नहुने प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुपर्ने व्यवस्था गरेको छ । निर्वाचन लड्न उम्मेदवारहरुले निर्वाचन खर्च आफैँले बेहोर्नुपर्ने निर्णय पार्टीले गरिसकेको नेता साहले जानकारी दिए ।

राजनीतिक सहमतिको आधारमा मुलुक बिखण्डनको मुद्दा छाडेर मूलधारको राजनीतिमा फर्केको पार्टीले मधेस प्रदेशका सबै पालिकाहरुमा उम्मेदवारी दिने जनाएको छ ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.