www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीमा सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्न सकस

गलेश्वर ।

सत्तारुढ गठबन्धनले आफूले जितेको ठाउँ सुरक्षित गर्न र अरु दलले जितेको पालिकाको नेतृत्व हत्याउने प्रयासमा छन् । सत्तारुढ गठबन्धनले आन्तरिक कलह मिलाउन भने सकिरहेका छैनन् । केन्द्र र प्रदेशबाट गठबन्धनबीच तालमेल गरेर चुनावमा जाने निर्णय भए पनि स्थानीय तहमा दलहरूका आ–आफ्नै दाबी र अडान छन् । फलस्वरुप गठबन्धन दललाई स्थानीय तहको भागबण्डा टुङ्गो लगाउन सकस भइरहेको छ ।

चुनावमा तालमेल गरेर जाने सैद्धान्तिक सहमति गरेका सत्ता साझेदार दलहरूका बीच म्याग्दीमा सहमति जुट्न नसकेपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आआफ्नो पार्टीबाट उम्मेदवार छनोट गरेर चुनावी अभियानसमेत सुरु गरिसकेका छन् । निर्वाचन आउन अब २३ दिन मात्र बाँकी रहँदा स्थानीय तह बाँडफाँटमा सहमति जुट्न नसकेपछि सत्ता साझेदार दलहरूका नेताहरूले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गर्न थालेका छन् । सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरू तीन पटक बैठक बसेर छलफल गर्दा पनि कुन स्थानीय तहमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा सहमति जुट्न सकेको छैन ।

Batas

सत्ता गठबन्धनमा आबद्ध मुख्य दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच भागबण्डामा कुरा नमिलेपछि नेताहरूले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गर्न थालेका छन् । पटक पटक बैठक बसेपनि उनीहरू निष्कर्षमा पुग्न सकेका छैनन् । बैठक निष्कर्षविहीन भएपछि दलहरूले चुनावको आ–आफ्नो तयारी थालेका छन् भने सामाजिक सञ्जालमा अभिव्यक्ति सार्वजनिक गरेर नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले कांग्रेसलाई दबाब सिर्जना गर्न खोजेको देखिन्छ ।

नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक रेशम जुग्जालीले एमाले हराएर कांग्रेसलाई ठूलो बनाउन माओवादी सहयोगी नहुने चेतावनी सामाजिक सञ्जालमार्फत व्यक्त गरेका छन् । गठबन्धनमा आबद्ध जिल्लाका दलहरू कांग्रेस, माओवादी, एकीकृत समाजवादी, सङ्घीय समाजवादी र राष्ट्रिय जनमोर्चा आबद्ध छन् । नेपाली कांग्रेसले मालिका गाउँपालिका माओवादीलाई छाड्न नमानेपछि गठबन्धनमा सङ्कट पैदा भएको एक नेताले बताए । कांग्रेसले जितेको पालिका माओवादीलाई कुनै पनि हालतमा छाड्न नसकिने अडान कांग्रेसले लिएको छ ।

माओवादीका जिल्ला संयोजक नै उम्मेदवारका रुपमा अगाडि बढेकाले आफ्नो दलले जसरी पनि मालिका पाउनुपर्ने अडानमा माओवादी छ । कांग्रेसले भने माओवादीलाई मङ्गला र धौलागिरि गाउँपालिका दिन तयार भएको बताइएको छ । यस्तै नेकपा एकीकृत समाजवादीले पनि जिल्लामा एक स्थानीय तहको प्रमुखका लागि माग गरेको छ ।

गठबन्धन दलमा कुरा नमिलेपछि नेपाली कांग्रेसले बेनी नगरपालिकामा चिरञ्जीवी पौडेललाई प्रमुख पदको उम्मेदवार बनाएर चुनावी अभियान सुरु गरेको छ भने मालिका गाउँपालिकामा वर्तमान अध्यक्ष श्रीप्रसाद रोकालाई नै अध्यक्षको उम्मेदवार बनाएको छ । त्यसैगरी मङ्गला गाउँपालिकामा वीरेन्द्र बूढाथोकीलाई अध्यक्षको उम्मेदवार बनाएर चुनाव प्रचारप्रसारमा लागेको छ । धवंलागिरि, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा भने अध्यक्षको उम्मेदवार कांग्रेसले अझसम्म पनि छनोट गर्न सकेको छैन ।

रासस

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.