www.tandavnews.com
Fact ~ In search of truth

सत्ता साझेदारबीच भागबण्डा मिल्यो तर उम्मेदवारको टुङ्गो लगाउन बाँकी

ताप्लेजुङ।

आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाका सत्ता साझेदार दलहरुले पदीय भागबण्डाको टुङ्गो लगाएका छन् । स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने सत्तारुढ दलबीचको निर्णयअनुसार यहाँस्थित सत्ता साझेदार दलहरुले विभिन्न चरणमा छलफल गरेर बुधबार भागबण्डाको टुङ्गो लगाएका हुन् ।

एक नगरपालिकासहित यहाँका ९स्थानीय तहमध्ये सात स्थानीय तहको नेतृत्व कांग्रेसले लिने र दुई वटामा भने माओवादी केन्द्रले नेतृत्व लिने भएको छ । फुङलिङ नगरपालिकासहित पाथीभरा, याङ्वरक, सिरीजङ्घा, सिदिङ्वा, आठराई त्रिवेणी, मेरिङ्देन र मिक्वाखोला गाउँपालिकाको नेतृत्व कांग्रेसको भागमा परेको छ भने मैवाखोला र फक्ताङ्लुङ गाउँपालिकाको नेतृत्व माओवादी केन्द्रको भागमा परेको छ । मेरिङ्देन, मैवाखोला र फक्ताङ्लुङ गाउँपालिका बाहेक सबै ठाउँमा कांग्रेसले नै उपप्रमुखको पद लिने भएको छ ।

सत्ता साझेदार दल नेकपा एकीकृत (समादवादी)ले भने मेरिङ्देन गाउँपालिकाको उपप्रमुखसहित सात वटा वडाको नेतृत्व पाएको बताइएको छ । यस्तै कांग्रेसले ३९, माओवादी केन्द्रले १५ वटा वडाको नेतृत्वमा प्रतिस्पर्धा गर्ने भएको छ । स्थानीय अवस्था र आवस्यकताअनुसार तालमेल गरी भागबण्डाको टुङ्गो लगाइएको दलहरुले बताएका छन् ।

भागबण्डा भएसँगै आ–आफ्ना उम्मेदवारको टुङ्गो लगाउन दल आन्तरिक कसरतमा जुटेका छन् । यता (नेकपा एमाले)ले समेत पाँचवटा स्थानीय तहका प्रमुख र उपप्रमुख पदका उम्मेदवारको टुङ्गो लगाएको छ । फक्ताङलुङ ७ बाहेक सबै वडाका अध्यक्ष पदका उम्मेदवारकोसमेत टुङ्गो लागेको उक्त दलले जनाएको छ ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.