www.tandavnews.com
Fact ~ In search of truth

७५३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौँ।
आसन्न स्थानीय तह निर्वाचन सम्पन्न गराउन आज ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र ६७६ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतले जिल्ला सदरमुकाम रहेको स्थानीय तहको केन्द्र र ६७६ निर्वाचन अधिकृतले सम्बन्धित पालिकाको केन्द्रमा कार्यालय स्थापना भएको आयोगले जनाएको छ ।

कार्यालयले यही वैशाख १० गतेसम्म व्यवस्थापकीय कार्य गर्नेछन् । “ निर्वाचन कार्यालयले आफूलाई चाहिने कर्मचारी नियुक्त गर्ने, भौतिक सामग्रीको जोहो गर्नेछन्”, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने। ११ र १२ गते उम्मेद्वारको मनोनयनको कार्यक्रम राखिएको छ ।

आजैदेखि जिल्लामा निर्वाचन सामग्री पठाउन थालिएको आयोगले जनाएको छ । आज मुगु, बजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखुम्बु र काठमाडौँ जिल्लाका लागि निर्वाचन सामग्री पठाइएको छ । अन्य जिल्लामा पनि क्रमशः निर्वाचन सामग्री पठाइने प्रवक्ता पौडेलले जानकारी दिए।

Batas

निर्वाचन सामग्रीको ढुवानीका लागि ढुवानी व्यवसायीसँग प्रतिस्पर्धात्मकरुपमा छट्टाछुट्टै प्रदेशमा बेग्लाबेग्लै ढुवानी व्यवसायीको छनोट गरिएको उनको भनाइ छ । मतपत्रको ढुवानीको सुरक्षा नेपाली सेनाले गर्ने र अन्य सामग्रीको नेपाल प्रहरीले सुरक्षा गर्नेछ । निर्वाचनमा आयोगका कर्मचारीसमेत सहभागी हुने र ढुवानी सवारीको जिपिएस ट्र्याकिङ गर्ने व्यवस्था मिलाइएको छ ।

आयोगले आसन्न स्थानीय तह निर्वाचनको पर्यवेक्षण गर्न ४४ वटा संस्थालाई अनुमति दिएको छ । ती संस्थाका १० हजार बढी पर्यवेक्षकले निर्वाचनको पर्यवेक्षण गर्नेछन् । निर्वाचन सम्पन्न भएको ३० दिनभित्र पर्यवेक्षण गर्ने संस्थाले आयोगलाई आफ्नो प्रतिवेदन दिनुपर्ने प्रवक्ता पौडेलले जानकारी दिए ।

५३ जिल्लाको १ करोड १९ लाख मतपत्र छपाइ गरिएको छ । आयोगले करिब दुई करोड मतपत्र छपाइ गर्ने तयारी गरेको छ । स्थानीय निर्वाचनमा करिब एक करोड ७७ लाख मतदाताको अन्तिम नामावली प्रकाशित भएको छ ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.