www.tandavnews.com
Fact ~ In search of truth

पञ्चायतकालमा उदाएका नेता ‘दीपक पौडेल’

पोखरा
ताण्डव न्यूज ।

अन्तिम समयमा आएर नेकपा एमालेले पोखरा महानगरको मेयरमा पूराना कम्यूनिष्ट नेता दीपक पौडेललाई उम्मेदवार चयन गरेको छ । पार्टीभित्र निकै राम्रो छवि बनाएका दीपक शिक्षण पेशाबाट राजनीतिमा होमिएका व्यक्ति हुन् । पोखरा महानगर वडा नं. १९ का पौडेलले गाउँकै भारती भवन माविमा लामो समय अध्यापन गरे । भारती भवन र अन्य विद्यालयमा गरी करिब २८ वर्षसम्म अध्यापन पेशामा लागेका दीपक निष्ठाको राजनीतिबाटै आफू यहाँसम्म आईपुगेको बताउँछन् ।

६० वर्षे उमेर हदले निस्किँदा पेन्सन पाक्न दुई महिना मात्र बाँकी थियो । आफू पञ्चायत विरोधी आन्दोलनमा लागेकै कारण शिक्षण पेशामा स्थायी हुन नसकेको गुनासो छ दिपकको । शिक्षण पेशामा रहँदा दीपकले शिक्षक आन्दोलनको नेतृत्व गरे ।

Batas

पञ्चयतविरूद्ध २०३६ सालको विद्यार्थी आन्दोलनमा पृथ्वीनारायण क्याम्पसको नेतृत्व लिएका पौडेल २०४४ सालको जिल्ला विकास समिति कास्कीका सभापति उम्मेदवार बनेका थिए । सभापतीको उम्मेदवार बनेको थाहा पाएर तत्कालिन समयमा प्रहरीले पक्राउ समेत गरेको थियो उनलाई ।

पञ्चायतकालमा १० पटकसम्म प्रहरीले हिरासतमा लिएको उनले बताए । उम्मेदवारी दिन नपाएसँगै पुनः शिक्षण पेसामै फर्किएका पौडेल एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनको दुई पटक सफल जिल्ला अध्यक्ष बनेका थिए । यस्तै नेपाल शिक्षक युनियन कास्कीको एक कार्यकाल अध्यक्ष र संगठनको केन्द्रीय उपाध्यक्ष बनेका थिए ।

तत्कालीन माले, हालको एमालेको गाउँ कमिटी सदस्यबाट पार्टी गतिविधिमा सक्रिय हुन थालेका पौडेल क्षेत्रीय कमिटी, १८ वर्षसम्म जिल्ला कमिटी सदस्य, ८ वर्ष जिल्ला सचिवालय सदस्य, एमाले र माओवादी मिलेर बनेको नेकपाको पोखरा महानगर कमिटी संयोजक र अहिले प्रदेश कमिटीका सचिवालय सदस्य छन् ।

राजनीतिमै लागेका कारण दुईपटक सम्म मरेर बाँचेको स्मरण गर्छन् दीपक । “मलाई २०६१ सालमा त माओवादीहरुले म¥यो भनेर भनेका थिए नि ।” उनले विगत सम्झँदै भने “४३ सालमा पनि मलाई पञ्चहरुले मार्ने षड्यन्त्र गरेका थिए, त्यो बेला बल्ल तल्ल बाँचेको हुँ ।”

पोखरा महानगरलाई समृद्ध महानगर बनाउन सक्ने योजना आफूसँग रहेको दीपकको दाबी छ । पोखराको मुख्य बजार क्षेत्र, वरीपरीका गाउँविकास समितिहरू र पहिलेको लेखनाथ नगरपालिकाको छुट्टाछुट्टै आवश्यकता र महत्व रहेकोले यसको विकासका लागि पनि सोही अनुसारका योजना बनाउनुपर्ने उनको भनाई छ । ‘पोखराको भौगोलिक अवस्था हेरेर यहाँको विकासको मोडल तयार पार्नुपर्छ भन्ने मेरो योजना छ’ उनले भने ‘कलस्टर नै छुट्याएर योजनावद्ध विकास गर्ने सोँच बनाएको छु ।’

पोखराको मेयरमा निर्वाचित भएर कार्य प्रारम्भ गरेपछि व्यक्तिगत लोभ र लालचमा कुनै हालतमा नपर्ने उनको बाचा छ । “मलाई कमाएर गाडी चढ्नु छैन, धन थुपार्नु छैन, महानगरबासीको मुहारमा उज्यालो ल्याउने गरी काम गर्न मन छ ” उनले भने ।

पोखराका सार्वजनिक जग्गाको संरक्षणमा देखिनेगरी काम गर्ने दीपकको अर्को महत्वपूर्ण योजना छ । पोखरामा सार्वजनिक जग्गामाथिको दोहन र तालतलैयाको अतिक्रमणमाथि रोक लगाउने पनि उनको योजना छ ।

दीपकले बैशाख १२ गते उम्मेदवारी मनोनयनको तयारी गरेका छन् ।  अघिल्लो पटकको निर्वाचनको परणाम हेर्दा पोखरा महानगरमा एमाले बलियो मानिन्छ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.