www.tandavnews.com
Fact ~ In search of truth

पोखरा-२१ को ५ वर्षलाई फर्किएर हेर्दा…

पोखरा ।

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा होमिएसँगै स्थानीय तहका अधिकारमा व्यापक बढोत्तरी भयो । डेढ दशकसम्म कर्मचारीको भरमा चलेका स्थानीय तहका वडामा जनप्रतिनिधि चुनिएर आएसँगै वडाबासीको अपेक्षाले समेत चुली टेकिरहेको थियो ।

सीमित स्रोत साधन र वडाबासीको अपेक्षाबीचको सन्तुलन कायम गर्न जनप्रतिनिधिलाई सुरुवाती दिनमा खास, खास कामहरुमा चुनौती थिए । सीमित स्रोत, साधनका बाबजुद पनि पोखरा महानगरपालिका वडा २१ का वडाध्यक्ष खगराज आचार्यसहितका जनप्रतिनिधिहरुको नेतृत्वले बितेको ५ वर्षमा उल्लेखनीय उपलब्धि हात पारेका छन् ।

Batas

संघीयताको संस्थागत विकास, पैरवी, अधिकारको खोजी गर्दै वडाबासीलाई दिनुपर्ने सेवा नियमित कामकाज नभई सामाजिक भावको महशुस गराउन सफल बनेका छन् ।

सामाजिक भावको आधारशीलामा उभिएर काकाकूल बनेका वडाबासीलाई वडाध्यक्ष खगराज आचार्यले आफ्नै निजी जग्गा धितो राखी खानेपानी आयोजना शुभारम्भ गरेका थिए । जुन कदमले जनप्रतिनिधि शासक होइनन् वडाबासीका सुखदुःखका साझेदार हुन् भन्ने सन्देश नेपालभर प्रसारित बन्यो ।

विकासका विविध सूचक र आयाममा केन्द्रीत हुँदै वडाध्यक्ष आचार्यले समग्र वडाबासीलाई विकासतर्फ उत्प्रेरित गराउन प्रयास गरे ।

तरपनि तथ्य यो छ कि वडा २१ मा वडाध्यक्ष आचार्यले आफ्नो ५ वर्षे कार्यकालमा हालेको विकासको जगले क्रमशः सार्थक परिणाम देखाउँदै ल्याएको छ ।

सडक पूर्वाधार, पर्यटन गुरु योजना, होम स्टे निर्माण, खानेपानी, कृषि, शिक्षा, स्वास्थ्य, रोजगार तथा सीपमूलक तालिम, मानव संसाधन विकास, सुशासन, सार्वजनिक सेवा प्रवाहमा भएका र गरिएको विकासका थालनी । जनप्रतिनिधि र वडाबासी बीच रहेको दुरीलाई कम गर्ने अभियानले पोखरा २१ लाई व्यवस्थित वडाको रुपमा परिचित गराएको छ ।

वडाध्यक्ष आचार्य भन्छन् ,‘हाम्रो प्राथमिकता भनेको पिउने पानि थियो ।त्यो सँगै स्वास्थ्य,कृषि, शिक्षा, पर्यटन र पूर्वाधार वडा नं २१ को विकासको आधार भन्ने नारालाई आत्मसात् गर्दै अघि बढ्यौँ । मूलतः हामीले सुशासन र सामाजिक न्यायलाई पनि ध्यान दियौँ । विकासको कुरामा हामीले भूगोललाई फिल्ड अब्जर्भेसन गरेर स्थानीयहरुले माग गरे अनुसार नै काम गयौँ ।’ नयाँ व्यवस्था, नयाँ जनप्रतिनिधि भएर मौजुदा कानुनको अक्षरंश पालना गर्दै जनसेवामा जनमैत्री हिसाबले वडाको विकासमा अगाडी बढेको उनले बताए ।

पूर्वाधारः

बितेको ५ वर्षमा मात्रै पोखरा २१ मा सडक पूर्वाधारतर्फ स्पष्ट तस्बिरमा देखिने विकास सम्भव भएको छ । सतप्रतिशत ग्रामीण भूभाग रहेको वडा २१ मा विकटका जनतालाई राज्य सत्ताको निकट बनाई सरकारसँग जोडिएको अनुभूत गराउन सडक पूर्वाधारले महत्वपूर्ण भूमिका खेल्यो । सडक पूर्वाधार मात्र आवागमनका लागि मात्र होइन । पोखरा केन्द्र भागसँगको अर्थतन्त्रसँगको साइनो खुला अर्वान लिंकेज हो भन्ने जनप्रतिनिधिले बुझेकै कारण कृषिजन्य उत्पादित सामग्रीको निर्यात सम्भव भएको छ ।

निर्वाचित भइसकेपछि वडा २१ का वडाध्यक्ष आचार्यको नेतृत्वले पिउने पानीलाई मुख्य प्राथमिकतामा राखी कार्यभार थालनी गरेका थिए । पिउने पानी अभियान वर्ष घोषणा गरी एकै वर्षमा २० र ४० हजार लिटरका पानी ट्यांकी निर्माण र लाखौं रुपैयाँका पिउने पानीका पाइप वितरण गरेका थिए ।

यसैगरी वडाका विभिन्न क्षेत्रमा दर्जनौ सडक आयोजना ५ वर्ष अगावै सम्पन्न भई सञ्चालनमा आइसकेका छन् ।

उक्त अवधिमा कृस्ती स्वास्थ्य केन्द्र हुँदै ठकुरी गाउँसम्मको सडक कालोपत्रे हुँदै छ । देउराली गैराबाट हेल्थपोस्ट सडक पिच भइसकेको छ । दोहपरेदेखि बक्रेक सडक कालोपत्रे योजना सम्पन्न हुने क्रममा छन् । शिवालय, चिलाउने खर्क जनचेतन मावि कालोपत्रे सडक आयोजना सम्पन्न भई सञ्चालनमा आइसकेको छ ।

वडाभित्र पहिलोपटक ढलान प्रविधिमा दाँतेको आरनदेखि चापाचौरसम्म सडक ढलान भई स्थानीय लाभान्वित बनेका छन् । मूलबाटो, फ्रुसेखोला, दोपहरे, निर्मलपोखरीदेखि लेवाडसम्मको मूल सडक आयोजना सम्पन्न भएको छ ।

दोविल्ला मैदान सडक, हर्राबोटदेखि रातामाटा सडक, मैदान ठूलीस्वारादेखि धुर्सेनी सडक, मैदान पिच सडक सम्पन्न भएको छ । शिवढुंगा जाने सिँढी बाटो बनाइएको छ । पर्यटकीय पदमार्गका धेरै सिढीहरु निर्माण गर्ने कार्य हुँदैछन् ।

वडाले खेल पूर्वाधारतर्फ पनि उल्लेखनीय कार्य गरेको छ । प्यारापिटसहितको गमर्दी फुटबल खेलमैदान आयोजना अघि बढाइएको छ । ठूलाचौर भलिबल खेलमैदान, सिमलचौर भलिबल खेलमैदान, धुर्सेनी भलिबल खेलमैदान, बयली भलिबल खेल मैदान, नगर स्तरीय पृथ्वी भलिबल खेल मैदान धमाधम काम भई निर्माण सम्पन्न हुने चरणमा छन् ।

१७ र २१ जोड्ने पक्की पुल निर्माण हुँदै छ । उक्त वडाहरु जोड्ने झोलुंगे पुल निर्माण हुँदै छ भने भुगेखोलामा पक्की पुल निर्माणको लागि संघीय सरकारले माटो परीक्षण कार्य सम्पन्न गरिसकेको छ ।

वडा भित्रका सार्वजनिक जग्गा संरक्षण अभियान अन्तर्गत खुला पार्कको अवधारणा अघि बढाएको छ । सोही अभियान अन्तर्गत रवीन्द्र–विजय स्मृति पार्क, मनकामना पार्क, स्यार्तुङ रातामाटा पार्क निर्माण गरिएका छन् ।

ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, गिरी गाउँ भवन, कृस्ती स्वास्थ्य केन्द्र भवन, जनजागृती आभारभूत विद्यालय भवन, भविष्य निर्माण माविमा नयाँ भवन, जनचेतन माविमा नयाँ भवन गमर्दीमा क्रियापुत्री भवन निर्माण भएका छन् । वडाका ८ स्थानमा सार्वजनिक शौचालय निर्माण गरिएको छ । जनचेतन माविमा पुनः नयाँ भवनको लागि शिक्षा मन्त्रालयले बजेट विनियोजन समेत गरिसकेको छ ।

बुहप्रतीक्षित सह लगानीको खानेपानी आयोजना निर्माण सम्पन्न हुने चरणमा छ । पिउने पानी अभियान अन्तर्गत वडाभित्र ठूला तथा साना २१ वटा ट्याङ्की निर्माण गरी शुद्ध खानेपानी वितरण गरिएको छ । कृस्ती स्वास्थ्य केन्द्रमा पानीको अभावमा उपचार प्रक्रियामै समस्या भएपछि गमर्दीमा ४० हजार लिटरको छुटै पानी ट्याङ्की निर्माण गरी सप्लाई गरिएको छ ।

पर्यटनः

पर्यटन नै अर्थतन्त्रको मूल आधार बनाउन सकिने गुरुयोजनासहित पोखराका ३३ वटै मध्ये पहिलोपटक वडा २१ ले गुरुयोजना ल्याएको थियो । सोही अनुरुप नै वडाका विकास पूर्वाधार स्वरुप ठाउँठाउँमा विश्राम स्थलहरु, पार्कहरु, पर्यटन पैदलमार्गहरु निर्माण गरिएका छन् ।

‘पर्यटन विकासको माध्यमबाट नै यहाँका व्यक्तिको, परिवारको र समाजको आर्थिक स्तरोन्नती हुन्छ भन्ने हाम्रो निक्र्योल हो । तसर्थ पर्यटनलाई प्राथमिकतामा राख्दै राष्ट्रलाई नै आर्थिक टेवा पुर्याउने योजना हो । कोभिडका कारण केही डिस्टर्ब भयो,’ वडाध्यक्ष आचार्यले भने,‘सञ्चालनमा आउन लागेको क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलले यहाँ पर्यटनमा टेवा पुर्याउने छ । हामी हामस्टे सञ्चालनमा ल्याएका छौँ । पर्यटकको बसाई लम्ब्याउन तयार गरिएका कही योजनाहरु कार्यन्वयनमा आइसकेका छन् भने, केही योजना कार्यान्वयनको चरणमा छ ।’

गहतेरा संगमचोक रिजलाइन पर्यटन मार्ग, निर्मलपोखरी मैदान रिजलाइन पर्यटन मार्ग, मैदानबाट गैरागाउँ रिजलाइन पर्यटन मार्ग, आपको रुख फेदीपाटन, धम्सादी, पारीडाँडा, फ्रुसेखोला पर्यटन मार्ग आयोजनाले परिणाममूखी सार्थकता पाउँदै छ ।

कुभिण्डे–कोत्रे थ्री डे टु नाइट न्यू टुरिजम डेस्टिनेसन प्याकेजबारे पर्यटन व्यवसायीहरुलाई जानकारी दिइएको छ । कुभिण्डे कोत्रे खण्डलाई नेपालकै नयाँ रिजलाइन पर्यटन गन्तव्य बनाउन विश्व विकास बैंक समक्ष ५० करोडको योजना माग गरिएको छ । ठाउँठाउँमा टुरिजम इन्फर्मेसन बोर्ड राखिएका छन् । माउन्टेन बाइक राइडिङ वडा घोषणा भएको छ । जसबाट वडामा विभिन्न संघसंस्थाहरुले साइकिलिङका कार्यक्रमहरु सञ्चालन हुन थालेका छन् ।

पर्यटक तथा पैदल यात्री सहजताका लागि कृस्ति स्वास्थ्य केन्द्र, मनकामना बयली, मैदानकोट, डाँडापोखरी, देउरालीसहितका स्थानमा व्यवस्थित विश्राम स्थलहरुको निर्माण गरिएको छ । पर्यटन पैदलमार्गहरु निर्माण भएका छन् । यसबीचमा चिलाउने खर्च सामुदायिक होमस्टे सञ्चालनमा आएको छ । उक्त स्थानसम्म सार्वजनिक सवारीको पहुँच स्थापित गरी पर्यटकीय आवागमनलाई सहज बनाइएको छ । होमस्टे व्यवस्थापन अध्ययनका लागि चार दिवसीय होमस्टे अवलोकन भ्रमण स्याङ्जाको सिरुबारीमा सम्पन्न गरिएको थियो ।

स्वास्थ्यः

वडाबासीको स्वास्थ्योपचारलाई प्राथमिकता दिँदै वडाले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । घरघरमा नर्स कार्यक्रम, टोलटोलमा डाक्टर कार्यक्रमबाट वडाबासी लाभान्वित बनेका छन् । यस अवधिमा टोलटोलमा स्टे«चर वितरणसमेत गरिएको थियो ।

नेपाली कांग्रेस इकाई समिति उपध्यक्ष लक्ष्मी थापा जनप्रतिनिधि आइसकेपछि स्वास्थ्य क्षेत्रमा उल्लेखनिय परिवर्तन आएको बताउँछिन् । ५ वर्ष अघि र अहिलेको समयमा स्वास्थ्य क्षेत्रले फड्को मारेको उल्लेख गर्दै उनले भनिन्,‘ ५ वर्षअघि धेरै समस्या थियो । यहाँको कृस्ती स्वास्थ्य केन्द्रमा कर्मचारीहरुको अभाव थियो । जनप्रतिनिधी आइसकेपछि यस स्वास्थ्य केन्द्रमा २४सै घण्टा सेवा सुचारु भएको छ । औषधिहरु उपलब्ध छन् । सुत्केरीका लागि बजार धाउनुपर्ने बाध्यता अहिले छैन । ’

कोभिड महामारी विरुद्धको लडाईमा वडाले ठूलो जित हाँसिल गरेको छ । वडाभित्रका कोभिड विरामीलाई अक्सिजनको कमी हुन पाएन । कृस्ती स्वास्थ्य केन्द्रमा छुटै आइसोलेसन निर्माण गरी उपचार अघि बढाइएको थियो । मनकारीहरुको सहयोग र स्थानीय स्रोत साधनको सदुपयोगले वडाले कोभिड विरुद्धको लडाईमा जित हाँसिल गर्न सफल भयो । कोभिडका कारण रोजगारी गुमाएर गर्जो टार्न समस्यामा परेका परिवारहरुलाई दैनिक उपभोग्य सामग्री सहायता उपलब्ध गराइएको थियो । प्राथमिक स्वास्थ्य केन्द्रलाई चाहिने पिउने पानीको व्यवस्था भएको छ ।

कृषिः

आत्मनिर्भरताको आधार कृषि । कृषि अर्थतन्त्रले नै वडालाई समृद्धिको मार्गमा लैजान सक्छ भन्ने आत्मविश्वास सहित वडाले आफ्ना कार्यक्रमहरु तय ग¥यो । जसमा पूर्वाधारको निर्माणदेखि किसानलाई अनुदानसम्मका कार्यक्रमहरुले सार्थकता पाएका छन् । वडामा बिउँ वितरण, कृषक तालिम, सुन्तलाको विरुवा वितरण, मौरी घार वितरण, राँगा–बोका वितरण, हाते ट्रयाक्टर वितरण, कुखुरा चल्ला वितरण कार्यक्रम र सुन्तला संरक्षण अभियान सञ्चालन भएका छन् । धुर्सेनी बक्रेक कृषि सडक आयोजना सम्पन्न भएको छ ।

गोठ सुधार कार्यक्रमबाट किसान लाभान्वित बनेका छन् । बाख्रा पालन किसानलाई अनुदान वितरण गरिएको छ । बयलीमा कृषि संकलन केन्द्र निर्माणले उत्पादनले बजार पाएको छ । वडाले असार १५ लाई रोपाइँ उत्सवको रुपमा मनाउँदै आएको छ । पूर्वी नेपालका क्षेत्रहरुमा कृषक अवलोकन भ्रमण गराई फरक भूगोलसँग साक्षात्कार गराउने कार्यसमेत वडाले सम्पन्न गरेको छ । करिब तीन सयभन्दा बढी कृषकहरुलाई कृषि तालिम, वडामा दर्ता गरी आफ्नो व्यवसाय दर्ता गरेका कृषकहरुलाई बढी प्राथमिकता दिइएको छ ।

रोजगार तथा तालिमः

रोजगारी सिर्जना गर्ने र आत्मनिर्भर बनाउने उद्देश्यले वडाले सिपमूलक तालिम सञ्चालन गरि नै रह्यो । उक्त अवधिमा ५० जनालाई डकर्मी तालिम, ४० जनालाई हाउस वेयरिङ तालिम, १ सय ६० जनालाई लहरेबाली तथा पशुपालन सम्बन्धी तालिम, ४२ जनालाई मौरी पालन सम्बन्धी तालिम प्रदान गरी एक-एक घार मौरी वितरण गरेको छ । त्यस्तै ६० जनालाई व्यावसायिक सिलाई कटाई तालिम प्रदान गरिएको छ ।

विद्युतः

वडालाई उज्यालो वडा घोषणा गरिएको छ । विजुली पोल वितरण गरी वडाका सबै स्थानमा विद्युत आपूर्ती सहज बनाइएको छ ।

विपन्नसँग जनप्रतिनिधि कार्यक्रमः

विपन्नसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गरी वडाले वास्तविक विपन्न नागरिकसम्म सुविधा पु¥याउन अग्रसर बनेको छ । वडाका ३७ टोलमध्ये विपन्न परिवार पहिचान गरी कार्यक्रम अगाडि बढाइएको छ । पहिचान भएका परिवारका सदस्यहरुको शिक्षामा छात्रवृत्ती लगायत रोजगार तथा सिपमूलक तालिमका लागि आवश्यक सहायता उपलब्ध गराइएको छ । वडाले उक्त कार्यक्रमलाई आगामि वर्षसमेत सञ्चालन गर्ने गरी वडा समितिले सर्वसम्मत निर्णय समेत गरेको छ ।

सुशासन/सार्वजनिक सेवा प्रवाहः

सतप्रतिशत ग्रामीण भूभाग रहेको वडा २१ भूगोलको हिसाबले पनि ठूलो छ । छिरलिएका बस्ती, फरकफरक भूगोलबीच पनि वडाबासीलाई सार्वजनिक सेवा प्रवाहमा बिना कुनै बाधा अड्चन सुविधा प्रदान गर्न जनप्रतिनिधि र कर्मचारी सफल बनेका छन् । रित पु¥याई कागजात ल्याएका सेवाग्राहीलाई बिना रोकतोक तत्कालै सेवा दिने अभ्यास लागू गर्दै वडाको सुशासन एवं कार्यक्षमतामा वृद्धि गरिएको छ । राजस्व संकलन डिजिटलाइज गरिएको छ । ज्येष्ठ नागरिकहरुको भत्ता बैंकिङ प्रणाली मार्फत वडा प्रांगणबाटै वितरण गरिएको छ । आर्थिक पादर्शितालाई उच्च प्राथमिकता दिँदै वडा समितिको निर्णयानुसार मात्र खर्च वितरण गर्ने नीति अबलम्वन गरिएको छ ।

वडाध्यक्ष आचार्यले वडावासीकै माग अनुसार विकासका कार्य गरिएको बताए । ‘मुलतः जनताले भनेका योजनामा नै प्राथमिकिकरण गरेर काम गर्यौँ । जनता खुशी छन् भन्ने लाग्छ ।’

 

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.