www.tandavnews.com
Fact ~ In search of truth

मत माग्दै उम्मेदवार मतदाताका घरदैलोमा

दमौली।

आसन्न निर्वाचनका लागि उम्मेदवारले घरदैलो अभियान सुरुवात गरेका छन् । उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारले घरदैलो अभियान सुरु गरेका हुन् ।

उम्मेदवार आफ्ना प्रतिबद्धतापत्र, प्रचारसामग्रीसहित मत माग्न मतदाताको घरदैलोमा पुग्न थालेका हुन् । जिल्लाको सबैभन्दा धेरै मतदाता रहेको व्यास नगरपालिका सहित अन्य पालिकामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) नेकपा (एमाले) लगायत दलका उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन् । कांग्रेसले पहिलो चुनावीसभा व्यास–१३ बेलवासमा गरेको छ । व्यासमा कांग्रेसका तर्फबाट प्रमुखमा वैकुण्ठनाथ न्यौपाने र उपप्रमुखमा इन्दिरा दरैले उम्मेदवारी दिएका छन्।

व्यासलाई उपमहानगरपालिका बनाउन संरचना निर्माणतर्फ मुख्य ध्यान रहने प्रमुखका उम्मेदवार न्यौपानेले बताए। एमालेबाट व्यास नगरको प्रमुख उम्मेदवार दीपकराज जोशी र उपप्रमुख उम्मेदवार बसुन्धरा घर्ती उम्मेदवारको घरमा पुगी मत माग्न व्यस्त छन्। व्यासलाई सुव्यवस्थित, समुन्नत र सुन्दर नगरपालिका बनाउने योजनासहित चुनावी मैदानमा होमिएको प्रमुखका उम्मेदवार जोशीले बताए।

यसैगरी सत्ता गठबन्धनबाट शुक्लागण्डकी नगरपालिकाका प्रमुखका उम्मेदवार कृष्णराज पण्डित र उपप्रमुखका उम्मेदवार राजु विक मतदाताको घरमा पुग्न पुगेका छन्। शुक्लागण्डकीमा कांग्रेसबाट प्रमुख र माओवादी केन्द्रबाट उपप्रमुखमा गठबन्धन भएको छ । शुक्लागण्डकी नगरपालिकालाई समृद्ध बनाउने योजनासहित आफूहरु चुनावी मैदानमा उत्रिएको नगरप्रमुखका उम्मेदवार पण्डितले बताए।

नेकपा (एकीकृत समाजवादी)ले पनि घरदैलो अभियान सुरु गरेको छ । भानु नगरपालिकामा एकीकृत समाजवादीका उपप्रमुख उम्मेदवार श्रीराम पौडेल मतदाताको घरदैलोमा पुगेर मत माग्न थालेका छन्। उनले हरेक वडामा सीप केन्द्र सञ्चालन गरिने जनाउँदै नगरवासीलाई आत्मनिर्भर बनाउन एक वडाः एक सीप केन्द्र सञ्चालन गर्ने योजना रहेको उल्लेख गरे।

तनहुँमा एक हजार ६४० उम्मेदवार आसन्न स्थानीय तह निर्वाचनका लागि तनहुँमा एक हजार ६४० उम्मेदवार कायम भएका छन् । चार नगरपालिका र छ गाउँपालिकामा कांग्रेसबाट ४४० जनाको उम्मेदवारी परेको छ । यसैगरी एमालेका ४१६ जना माओवादीका ३४७ जनाको उम्मेदवारी दर्ता भएको छ ।

एकीकृत समाजवादीका १३०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १७९, मङ्गोल नेशनल अर्गनाइजेशनका ५२, विवेकशील साझाका ११ जनाको उम्मेदवारी दर्ता भएको छ । यसैगरी स्वतन्त्ररूपमा १२५ जनाको उम्मेदवारी दर्ता भएको छ । जनता समाजवादी पार्टीका तर्फबाट १८, राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट २६, मौलिक जरोकिलो पार्टीबाट दुई, नेपाली कांग्रेस (बिपी) एक, उन्नत लोकतन्त्र पार्टीबाट एक, नेकपा (माक्र्सवादी लेनिवादी)बाट दुई जनाको उम्मेदवारी परेको छ ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.