www.tandavnews.com
Fact ~ In search of truth

एमालेप्रति दृढ मतदाता ‘उम्मेद्वारले पार्टी फेर्नुहोला, मैले सूर्य फेर्दिनँ’

पोखरा ।
नेकपा एमालेबाट कास्कीको मादी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष मादी ९ का जनताको घरमा पुगेका छन् । अध्यक्ष उम्मेद्वार शिवबहादुर गुरुङ (महेन्द्र) र कल्पना गुरुङ शनिबार वडाका उम्मेद्वारसहित घरदैलोमा पुगेका हुन् ।

मादी ९ गहते गाउँ, ठूलास्वाँरा, स्याँदी, गुर्जेको डाँडाथोक टोल, गुर्जेको गैराथोक गाउँमा पुगेर शनिबार मतदाता भेटेको एमाले मादी सचिव सुवास सापकोटाले बताए । मादी ९ को गुर्जेको डाँडाथोक टोल वडाभरमा एमालेको राम्रो ठाउँ हो ।

गाउँपालिका अध्यक्ष–उपाध्यक्ष, वडाध्यक्ष उम्मेद्वारसहितको टोली दिउँसो ३ बजे डाँडाथोक टोलका स्थानीय विष्णुप्रसाद अधिकारीको घरमा पुगेको थियो । उनले उम्मेद्वारलाई चिनेका थिएनन् । उम्मेद्वारसँगै गएका नेताहरुसँग भने पहिल्यैदेखि चिनजान थियो । उम्मेद्वारसँग चिनपर्चीपछि विष्णुले आफूले सधैँ सूर्यमा मत हाल्दै आएको सुनाए । ‘मैले त सधैँ एमालेलाई भोट हालेँ । यसपटक पनि अन्तः खेर जाँदैन,’ उनले उम्मेद्वारलाई जवाफ दिए । उनी त्यतिमै रोकिएनन् । ‘अहिले मान्छेले पार्टी फेरिरहन्छन् । अहिले एमालेमा भोट माग्नुभएको छ । भोलि तपाईंहरु अर्को पार्टीबाट भोट माग्न आउनुभयो भने पनि मेरो भोट एमालेलाई नै हो,’ एमालेप्रति विष्णुको लगाव देखियो ।

Batas

गाउँपालिका अध्यक्ष उम्मेद्वार महेन्द्रले चुनाव जितेपछि जनताको समस्या बुझेर त्यसको सम्बोधन गर्ने बताए । उनले आफूहरु चुनाव प्रचार गर्नमात्रै नभई चुनाव जितेपछि पनि गाउँगाउँ पुग्ने प्रतिबद्धता व्यक्त गरे । पर्यटकीय गन्तव्यको थप प्रचारप्रसार गर्न योजना नै बनाएर अघि बढ्ने उनको भनाइ थियो ।

उपाध्यक्ष उम्मेद्वार कल्पना गुरुङले महिला सशक्तिकरण आफ्नो प्राथमिकता हुने बताइन् । ‘गाउँपालिका उपाध्यक्षमा अरु पार्टीबाट महिला छैनन् । मैले चुनाव जितेमा महिलाको आवाज बोल्छु । महिलाको सीप विकास र आर्थिक उन्नति मेरो प्राथमिकता हुने छन्,’ उनले भनिन् । भाषा र संस्कृति संरक्षणको क्षेत्रमा पनि काम गर्ने उपाध्यक्ष उम्मेद्वार गुरुङले बताइन् ।

मादी ९ को वडाध्यक्षमा मनोजकुमार गुरुङ, खुल्ला सदस्यमा राजु अधिकारी र श्रीधर अधिकारी, महिला सदस्यमा कविता गुरुङ, दलित महिला सदस्यमा गंगादेवी सार्की उम्मेद्वार छन् । चुनावी सभामा बोल्दै वडाध्यक्षका उम्मेद्वार गुरुङले मादी ९ मा अघिल्लो चुनावमा पराजय भोगे पनि यसपटक जित्ने दाबी गरे ।

अन्य दल नेतृत्वमा रहँदा विकास निर्माण जनताले सोचेजस्तो नभएको र जनताले एमाले खोजेको उनको भनाइ थियो । लामो समय वैदेशिक रोजगारीमा बसेका उनले आफूसँग गाउँ विकासको भिजन भएको बताए । ‘मलाई यता लाहुरे उम्मेद्वार भन्छन्, कतिले टुरिस्ट पनि भन्नुभयो । तर मलाई गाउँमा केही गर्नुपर्छ भन्ने भयो र फर्किएँ,’ उनले भने, ‘मैले विदेशमा कसरी काम भएको छ भन्ने देखेको छु । गाउँ चिनाउने योजना बनाउँछु ।’

एमालेले मादी ३ र ४ नम्बर वडामा शुक्रबार घरदैलो र चुनावी सभा गरिसकेको छ । आइतबार गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षसहित एमालेका नेता–कार्यकर्ता मादी ८ का मतदातामाझ जाने छन् ।

जसले कांग्रेससँगको ३० वर्षको सम्बन्ध टुंग्याए, एमाले रोजे
पोखरा । कास्कीको मादी गाउँपालिकाका एक जना कांग्रेस क्रियाशील स्थानीय नेता नेकपा एमाले प्रवेश गरेका छन् । मादी ९ गहते निवासी दुतबहादुर गुरुङ कांग्रेससँगको ३० वर्ष पुरानो आबद्धता टुंग्याएर शनिबार एमाले प्रवेश गरेका हुन् ।

उनी २०४८ सालमा तत्कालीन मिजुरेडाँडा गाविस ८ को वडाध्यक्ष बनेका थिए । एमाले प्रवेश गरेपछि बोल्दै गुरुङले एमाले विकासप्रेमी पार्टी भएकाले आफ्नो रोजाइँमा परेको बताए । ‘कांग्रेससँग २०४८ सालदेखि जोडिएर राजनीति गरेँ,’ उनले भने, ‘नेपालमा विकास गर्छ भने एमालेले मात्रै गर्छ भन्ने बुझेँ । त्यही भएर मैले एमाले रोजेँ । आजदेखि एमाले भएको छु ।’

नेपाली कांग्रेस छोडेर स्थानीय गमबहादुर शाही, सुकुमाया गुरुङ र माओवादी केन्द्र छोडेर हरि भुजेल पनि शनिबार एमाले प्रवेश गरेका छन् । उनीहरुलाई मादी गाउँपालिका अध्यक्ष उम्मेद्वार शिवबहादुर गुरुङ (महेन्द्र), उपाध्यक्ष उम्मेद्वार कल्पना गुरुङ, गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ (श्याम), उपाध्यक्ष विष्णुमाया आचार्य पौडेललगायतले एमालेमा स्वागत गरेका थिए ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.