www.tandavnews.com
Fact ~ In search of truth

‘मतपेटिका खोस्न सक्छन्, आँखा झिमिक्क नगर्नु’ : एमाले अध्यक्ष ओली

पोखरा
ताण्डव न्यूज ।

एमाले अध्यक्ष केपी ओलीले पाँचदलीय गठबन्धनले मतपेटिका लुट्न सक्ने आरोप लगाएका छन् । पाँच दलीय गठबन्धनले जनताको भोटबाट जित्ने सम्भावना नरहेकाले मतपत्र च्यात्न सक्ने भन्दै गणना नसकिएसम्म आँखा झिमिक्क पनि नगर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

पोखरा महानगरपालिकाको मेयर कृष्ण थापा र उपमेयर मन्जु गुरुङको टिमलाई मत माग्न पोखरा आएका ओलीले अमरसिंह चौरमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै षड्यन्त्रकारी गठबन्धन विरुद्ध चनाखो हुनुपर्ने आवस्यकता औँल्याए ।

Batas

अध्यक्ष ओलीले भने, ‘गठबन्धनले भोटले जित्ने होइन । त्यसैले यिनीहरुले मतपत्र च्यात्ने, चपाउने र निल्ने बानी परेका छन् । भरतपुरमा पहिले त्यसै गरेका हुन् । त्यसैले हाम्रा साथीहरु मतदानको गणना नसकिएसम्म तपाईंहरु सुत्न हुन्न । ‘पशुपतिमा फूलपाती लिएर गयौं भने फूलपातीको टोकरी बाँदरले खोजेर लान सक्छ,’ उनले भने, ‘त्यहाँ त एउटा बाँदर आउँछ । यहाँ (चुनावमा) पाँचवटा छन् । हामी सतर्क हुन जरुरी छ । धाँधलीबाट परिणामलाई तलमाथि हुन दिनुहुँदैन ।’

ओलीले एमालेको जीत निश्चित भईसकेकाले निर्वाचनको प्रकृया पूरा मात्र गर्नुपर्ने भएकाले मतदान गर्न मतदाताहरुसंग आग्रह गरे । “एमालेलाई पार्टी मात्रै होइन लोकतन्त्र जित्ने कुरामा छौं । हामी जनताले दिएको मतबाट जित्ने पक्षमा छौं । कसैले शान्ति सुब्यवस्थामा खलल पार्न खोज्छ भने, धाँधली गर्न खोज्छ भने हामीले रोक्नुपर्छ । बाकस एकछिन पनि आँखाबाट ओझेलिन दिनु हुँदैन ।’

उनले निर्वाचन आयोग र प्रशासनलाई भयरहित वातावरणमा तटस्थ भएर चुनाव गर्न सुझाए । ‘एमालेलाई प्रशासन र प्रहरीको सहयोग चाहिँदैन । मतदाताबाट सहयोग छ,’ ओलीले भने, ‘तपाईंका सहयोग एमालेलाई चाहिँदैन । तटस्थ निर्वाचन गराउनुस् ।’ उनले गठबन्धन झाडीमा जन्मिएको भन्दै कसैले साथ नदिने टिप्पणी गरेका छन् । ‘परमादेशबाट आएको गठबन्धन हो । कसले फालेको हो थाहा छैन । यस्तो गठबन्धनलाई कसैले साथ दिन्छ भन्ने लाग्दैन,’ उनले भने ।

उनले सत्तारुढ गठबन्धन देशकै कलंक भएको बताए । ओलीले वैशाख ३० देखि हामीले जनताको तागत देखाउन सुरु गर्ने पनि बताए ।

सभामा मेयरका उम्मेदवार कृष्ण थापा, उपमेयरका उम्मेदवार मन्जुदेवी गुरुङले एमालेका प्रतिवद्धताहरु सुनाएका थिए ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.