www.tandavnews.com
Fact ~ In search of truth

तीस वर्ष भयो, धारा सुक्दै गयोे !

बागलुङ।

बागलुङको बडिगाड गाउँपालिका–१ का ५३० घरमा एउटै आयोजनाको भर परेर पानी खानुपर्छ । त्यो पनि १२ किमी परको तारेभिरमा मात्रै मुहान छ । दैनिक बिहान ४ बजेदेखि उठेर पानी नभरे स्थानीयवासीले दैनिकी गर्न भ्याउँदैनन् ।

 

खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष रेमबहादुर भुजेलले राति ४ बजेदेखि कुरेर पानी भर्दा बिहानभर लाग्ने गरेको गुनासो गरे । तीस वर्षअघि बनेका ५० वटा धाराको भरमा वडा नं १ को सबै बस्तीमा अझै पानी वितरण छ । पानी सुक्दै गएपछि स्थानीयवासीले राति ४ बजेदेखि नै उठेर लाइन बस्दा पनि चाहेजति भर्न नपाएको गुनासोसमेत गरेका छन् । तीस वर्षअघि तुम्डाँडाका प्रेमलाल पोखरेलले १२ किमी परको तारेभिरमा पुगेर पानीको मुहान भेटेका थिए।

 

पानी भरिसकेपछि मेलापात, खेतीपाती गर्नु त छँदैछ । उनको टोलमा १० घरलाई एउटामात्रै धारो छ । दगागाउँको वडाभवन नजिकैको धारामा त १५ घरले पानी थाप्नुपर्छ । कसैले पालो मिचेमा झगडासमेत हुन्छ । समयमा उठ्न सकिएन भने त पानी थाप्नै नपाइने भुजेलले बताइन्। “पानी खेपेर २०० लिटरको ड्रम भरेर भित्र राखेपछि मात्रै ढुक्क हुन्छ”, भुजेलले भनिन्, “नत्र खानेपानीदेखि शौचालयसम्मको समस्या छ ।” बारीमा तरकारी फलाउने, गाईभैँसीलाई खुवाउने काममा त झनै धेरै पानी चाहिन्छ । दैनिक एक हजार लिटर पानी नभएसम्म दैनिकी नचल्ने भुजेलले बताइन्।

 

टुटीफेद, गहते, सिमलचौरलगायतका बस्तीमा पनि पानीको सास्ती छ । पुरानो मुहान धेरै स्थानमा भत्केको छ । पानीको चुहावट छ, त्यसैले यहाँ नियमित पानीसमेत आउँदैन । स्थानीयवासीकै पहलमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले पानी खुवाउने काम भने थालेको तर टुक्रे बजेटले यो अभियान पूरा हुन नसकेको हो । “केही ट्याङ्की त निर्माण भइरहेका छन्, तर बजेट अभावले पूरा भएका छैनन्”, स्थानीयवासीले भने, “पूर्ण सरसफाइयुक्त वडा बनाउन लागेका छौँ, पानीकै समस्या भयो ।”

 

सबै घरमा शौचालय बने पनि पानीकै कारण कतिपय प्रयोगमा आउन नसकेको उनले बताए। स्थानीय मूल सुक्दै गएकाले तारेभिरबाटै पानीको स्रोत बढाएर ल्याउनुपर्ने बाध्यता भएको स्थानीय बोमबहादुर थापाले सुनाए । हाल निर्माणाधीन आयोजनामा पुगेर मर्मत गर्नसमेत एक दिनमा नसकिने उनले बताए।

 

पानीकै अभावले ७०० विद्यार्थी रहेको खड्गदेवी माविमा शौचालय फोहर छ । एउटा धाराको भरमा पानी वितरण गर्दा खाने, सरसफाइलगायतमा अपुग भएको शिक्षकहरूले गुनासो गरे। कतिपय बालबालिका शौच गर्नसमेत घर–घरमा जाने गरेका छन् । “पानी नभएर घरमै आएर शौचालय जान्छन्”, स्थानीयवासी दुर्गा थापाले भने, “पानीकै कारण खुला दिसामुक्त अभियान सफल पार्न कठिन भएको छ ।” आनीबानी परिवर्तन गरेर पूर्ण सफाइ वडा घोषणाको तयारी गरे पनि पानीले चुनौती थपेको उनले गुनासो गरे । रासस–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.