www.tandavnews.com
Fact ~ In search of truth

मतगणनास्थलमा मतपेटिका ल्याउन तीन दिनको पैदलमार्ग

फुङ्लिङ।

चीनको सिमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ याङमा मतदान केन्द्रबाट मतगणनास्थलसम्म मतपेटीका आइपुग्न तीन दिन लाग्ने भएको छ । वैकल्पिक व्यवस्थापनको समस्याका कारण उक्त स्थानको मतिपेटिका पैदलमार्ग हुँदै मतगणनास्थल ल्याउन लागिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिकूल मौसमका कारण हेलिकोप्टर जान नसकेपछि पैदल मार्गहुँदै निर्वाचन अधिकृतको कार्यालयसम्म मतपेटीका पु¥याउन लागिएको हो । भौगोलिक हिसाबले अतिदुर्गम बस्ती याङमा, ओलाङचुङगोला, घुन्सा र ग्याप्ला गरी चार मतदान केन्द्रको मतपेटीका हेलिकोप्टरमार्फत निर्वाचन अधिकृतको कार्यलयसम्म ल्याउन निर्वाचन आयोगले गत साता गृह मन्त्रालयबाट अनुमति लिएको थियो । तर, मौसम प्रतिकूल भएसँगै हेलिकोप्टर जान नसकेपछि तीन दिनलाग्ने पैदलमार्गमार्फत बोकेर ल्याउनुपरेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका सूचना अधिकारी पिविन दुलालले बताए।

दुलालका अनुसार आज बिहानै मतपेटिका ल्याउने तयारी गरिएको थियो । उनले आइतबारसम्ममा निर्वाचन अधिकृतको कार्यालय तापेथोकसम्म मतपेटीका ल्याई पु¥याइने योजना बनाइएको छ । ओलाङचुङगोला, घुन्सा र ग्लाप्लाका मतदान केन्द्रका मतपेटीका भने आज १० बजे रातिसम्ममा निर्वाचन अधिकृतको कार्यालयसम्म आइपुग्ने जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ ।

समुद्र सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थित याङमा बस्तीमा शेर्पा समुदायको ११ घरपरिवार बसोबास गर्दै आएका छन् । ६० जना मतदाता रहेको याङमा यस स्थानीय तह निर्वाचनमा १४ जनाले मात्र मतदान गरेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । शुक्रबार दश पुरुष र चार महिलाले मतदान गरेको जिल्ला निर्वाचन अधिकृत खनालले बताए।

उक्त क्षेत्रमा मतदान गराउनका लागि कर्मचारी र सुरक्षाकर्मी गरी नौ जनाको टोली याङमा पुगेको थियो । मतदान गर्नका लागि रु दुई लाखभन्दा बढीखर्च हुने निर्वाचन आयोगको कार्यालय ताप्लेजुङले जनाएको छ । “उक्त क्षेत्रमा निर्वाचनका लागि दुई लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ, नागरिकको मताधिकारका लागि खर्च गर्नु राज्यको दायित्वभित्र पर्दछ” खनालले भने।

फक्ताङलुङ गाउँपालिका—७ ओलाङचुङगोलामा वडाध्यक्षसहित पाँचैजना जनप्रतिनिधि भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । जसका कारण सो वडाको दुवै मतदान केन्द्रमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि मात्रै मतदान भएको छ । यस्तै २७६ जना मतदाता रहेको ओलाङ्चुङगोलामा ८५ मत खसेको छ । ४२ जना पुरुष र ४३ जना महिलाले मतदान गरेको जनाइएको छ ।

यस्तै १६६ मतदाता रहेको घुन्सामा ८१ मत खस्यो । जसमा ४४ पुरुष र ३७ महिला छन् । यता ग्याव्लामा भने ३२ जनाले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ । नौ स्थानीय तह रहेको ताप्लेजुङमा फक्ताङलुङ गाउँपालिकाबाहेक अन्य आठ स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतपेटीका सङ्कलन भइसकेको छ ।

यसैबीच मेरिङदेन गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका, फुङ्लिङ नगरपालिकामा मतगणना सुरुभएको छ भने अन्य स्थानीय तहमा सर्वदलीय बैठक बस्ने तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । “सर्वदलीय बैठकपछि ती पालिकामा मतगणनाकार्य सुरु गर्नेछौँ, फक्ताङलुङ गाउँपालिकाको भने आइतबारसम्ममा मतगणनास्थलमा आइपुग्ने अनुमान गरेका छौँ”, अधिकृत खनालले भने।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.