www.tandavnews.com
Fact ~ In search of truth

२५ सय ६६ औँ बुद्धजयन्तीको तयारी पूरा

रुपन्देही।

२५ सय ६६ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवसको तयारी पूरा भएको छ । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाइन्छ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका रुपमा लिने गर्छन् ।

बुद्धजयन्तीका कार्यक्रमको तयारी पूरा भएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए। उनका अनुसार मायादेवी मन्दिरको सरसफाइ, रङरोगन गरी चिटिक्क बनाइएको छ । अन्य क्षेत्रमा सौन्दर्यकरणका काम गरिएको छ । मन्दिर आसपासका पुरातात्विक संरचनालाई फूल र मालाले सजाएर आकर्षक बनाइएको छ । मन्दिर परिसरको भित्र, बाहिर र अशोक स्तम्भभित्र सरसफाइ गरेर आकर्षक पारिएको छ ।

स्तम्भसम्म पुग्ने सडक पनि सफा गरेर सुन्दर बनाइएको छ । मन्दिर र पवित्र उद्यान क्षेत्रमा झिलीमिली बत्ती राखिएको छ । ठाउँ ठाउँमा बुद्ध वचन, वाणी र पञ्चशिलका नयाँ तुल व्यानार टाँसिएको छ । आगन्तुकलाई स्वागतका लागि बाहिर नै गेट बनाइएको छ । अघिल्ला वर्षहरूभन्दा यसपटक लुम्बिनीलाई विशेषरुपमा सजाउने काम गरिएको छ । कोरोना महामारिका कारण अघिल्लो बुद्ध जयन्ती मनाउन नपाएका कारण पनि यो वर्ष विशेष तयारी गरिएको विकास कोषले जनाएको छ ।

लुम्बिनीमै बनेको अन्तर्राष्ट्रियस्तरको बौद्ध सभाहल तथा ध्यान केन्द्रको पनि बुद्धजयन्तीका दिन शुभारम्भ गर्ने कार्यक्रम छ । राष्ट्रिय गौरवको योजनाअन्तर्गत निर्माण थालिएको अत्याधुनिक सुविधासहितको सभाहल चार वर्षमा पूरा भएको छ । सो सभाहलकोे प्रधानमन्त्री शेरबहादुर देउवाले शुभारम्भ गर्न बताइएको छ । तीन वर्षमा सम्पन्न गर्ने योजना रहेको सभाहल कोरोना महामारीका कारण एक वर्ष ढिलो सम्पन्न भएको हो । पाँच हजार सिट क्षमताको यो सभाहलको मुख्य पूर्वाधारको काम पहिलो चरणमा सम्पन्न भएको थियो भने दोस्रो चरणमा फिनिसिङ र सौन्दर्यीकरणको काम पूरा भएको हो ।

विसं २०७५ वैशाख १७ गते २५६२ औँ बुद्धजयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सो सभाहलको शिलान्यास गरेकी थिइन्। कोषकाअनुसार छाता शैलीमा निर्माण भएको यो हलमा गर्मीमा चिसो र जाडोमा तातो बनाउन छदेखि आठ डिग्रीसम्म तापक्रम तलमाथि हुन सक्ने इपीएस प्यानल प्रयोग गरिएको छ । लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईका अनुसार सभाहलको कूल लागत झण्डै रु साढे ७४ करोड रहेको छ ।

ध्यान र शान्तिको कार्यक्रम गर्ने ठाउँ भएकाले भित्रै पूरै सेतो रङ लगाइएको छ । हलको भित्रतिर माथि पहेलो रङको लोटस बनाइएको छ । भित्र उज्यालोका लागि छतमा ४७६ वटा बत्ती जडान गरिएको छ । लुम्बिनीमा हुने बुद्धजयन्ती समारोह, आध्यात्मिक, धार्मिकलगायतका कार्यक्रम गर्न हलको अभाव भएपछि कोषले दक्षिण एसियाकै नमूना सभाहल निर्माण सुरु गरेको थियो ।

सन् २०१६ को अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन मनाउने क्रममा पानीले कार्यक्रम नै प्रभावित बनेपछि सोही कार्यक्रममा उपस्थित भएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक र भव्य सभाहल बनाउन निर्देशन दिएका थियो । सोही बमोजिम मुलुककै ठूलो सभाहल निर्माणको काम पूरा भएको छ । सभाहलकै नजिक रु ७५ लाखको लागतमा चारवटा हेलिप्याड निर्माणको कामसमेत सम्पन्न भएको विकास कोषका योजना प्रमुख सरोज भट्टराईले जानकारी दिए।

“लुम्बिनी गुरुयोजनाअनुसार कोषको बाटो पार्कसहित तीनवटा हेलिप्याड निर्माणका लागि ठेक्कमा दिएका थियौँ तर, अहिले डिजाइनमा सामान्य परिवर्तन गरी चारवटा हेलिप्याड बनायौँ”, उाले भने। यस पटक बुद्धजयन्तीको अवसरमा बुद्धजन्मस्थल तथा देवदह र कपिलवस्तुको तिलौराकोटमा चार दिनसम्म विशेष कायर्कम गरिने कोषका कोषाध्यक्ष तथा प्रचारप्रसार उपसमितिका संयोजक ढुण्डिराज भट्टराईले जानकारी दिए।

उनका अनुसार बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा आज गौतमबुद्धको मावली देवदह तथा अस्तुधातु राखिएको स्थल नवलपरासीको रामग्राममा विशेष कार्यक्रम गरिने छ । जेठ दुई गते बुद्धजयन्ती विशेष समारोह लुम्बिनीमा आयोजना हुने छ । यही जेठ ३ र ४ गते कपिलवस्तुको तिलौराकोटमा कार्यक्रम छ । बुद्धजयन्ती तथा लुम्बिनी दिवस मनाउन सो कोषले रु एक करोड बजेट व्यवस्थापन गरेको संयोजक भट्टराईले बताए ।

बौद्ध ग्रन्थका अनुसार इपू ६२३ को वैशाष पूर्णिमाको दिन कपिलवस्तुका राजा शुद्धोदनकी रानी मायादेवी आफ्नो माइती देवदह जाने क्रममा लुम्बिनी उद्यान आइपुगेपछि सिद्धार्थ गौतमको जन्म भएको थियो । अहिले लुम्बिनीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.