www.tandavnews.com
Fact ~ In search of truth

गठबन्धन मूलभूतरुपमा सफल : अध्यक्ष दाहाल

काठमाडौँ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा गठबन्धन मूलभूतरुपमा सफल भएको बताएका छन्।

उनले मध्यपुरथिमिमा गठबन्धनको मर्मलाई पक्डिन सफल देखिएको भन्दै अगाडि थपे, “हामीले गठबन्धनबाट देशको राजनीतिमा परिवर्तन वा स्थायित्व र विकासको नयाँ यात्रा सुरु गर्न खोजेको हो, मूलभूतरुपमा गठबन्धन सफल भएको हो ।” उनले यो गठबन्धनलाई आउने प्रदेश र सङ्घीय निर्वाचन र त्यसपछि देशको विकास र समृद्धिको यात्रामा पनि लिएर जाने सङ्कल्प गरिएको र त्यसमा गठबन्धनमा रहेको दल दृढ रहेको बताए।

मध्यपुरथिमि नगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट विजयी उम्मेदवारलाई आज आफ्नै निवास खुमलटारमा बधाई दिँदै उनले गठबन्धनलाई निरन्तर अगाडि बढाउने विश्वास दिलाए। उनले विजयलाई विकास, समृद्धि र जनताको हितमा बदल्ने सङ्कल्प गर्ने बेला भएको उल्लेख गरे।

अध्यक्ष दाहालले भने, “निर्वाचन अघि पनि जितेर आउने प्रतिबद्धता व्यक्त गरेर जानुभएको थियो, अहिले जितेर आउनुभएकामा तपाईहरु सबैलाई बधाई र कार्यकालको शुभकामना छ ।” उनले मध्यपुरथिमि भक्तपुरको एउटा ऐतिहासिक नगर भएको उल्लेख गर्दै जनताको पक्षमा हुने काम कारबाहीको प्रभाव र असर सिङ्गो भक्तपुरमा पर्ने बताए ।

मध्यपुरथिमिमा निर्वाचित जनप्रतिनिधिबाट राम्रो काम भए एकाधिकार भएर बस्नेलाई पनि भोलिका दिन चुनौति दिन सकिने उनको धारणा थियो । “त्यहाँका जनताको विकास निर्माण, शिक्षा स्वास्थ्य रोजगारी, सफाइ सूचनालगायतका तपाईंहरुका काम कारबाहीको प्रभाव सिङ्गै भक्तपुर, उपत्यका र देशैभरि पनि सन्देश दिने स्थानमा तपाईहरु आउनुभएको छ”, अध्यक्ष दाहालले भने। उनले विजयी जनप्रतिनिधिलाई अब राम्रो काम गर्ने चुनौति रहेकातर्फ सचेत पनि गराए।

रासस

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.