www.tandavnews.com
Fact ~ In search of truth

पहुँचका भरमा जहाजको टिकट वितरण

जाजरकोट।

पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज बनेको छ । हवाइमार्ग भएर यात्रा गर्दा अत्यधिक खर्च हुने गरेको छ । टिकट पाउन सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।

हुम्लामा निजी क्षेत्रका तारा र समिट एयरलाइन्सले मात्र उडान भर्दैआएका छन् । हुम्ला हालसम्म सडक सञ्जालसँग जोडिन सकेको छैन । सुर्खेतबाट हुम्ला जान रु १० हजार र हुम्लाबाट सुर्खेत आउन रु सात हजार भाडा तिर्नुपरेको यात्रु बताउँछन् । नेपाल वायुसेवा निगमको न्यून उडानका कारण यात्रु थप मारमा परेका छन् ।

थप उडानका लागि स्थानीयवासीले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामालाई गुहार्दै आएका छन् । नेपालगञ्ज जानका लागि जहाजको टिकट लिन एक हप्तासम्म लगातार विमानस्थल धाउँदा पनि खाली हात फर्कनुपरेको खार्पुनाथ गाउँपालिका–१ प्युसका प्रेम शाही बताए ।

“तारा एयरले दैनिक एउटा मात्र उडान भर्छ, टिकट पाउनै मुस्किल छ”, उनले भने। निजी एयरलाइन्स कम्पनीले नियमित उडान नभर्दा सबैभन्दा बढी हुम्ली मारमा परेका छन् । सिमकोटमा उडान भर्दै आएका सीता र समिटले हुम्लाको उडान सङ्ख्या कटौती गरेका छन् ।

सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले उडान भर्न छाडेको छ । सुर्खेतभन्दा नेपालगञ्जबाट हुम्लाका लागि हवाई यात्रा अझ महँगो छ । यस्तै समस्या डोल्पा जानका लागि छ । नेपालगञ्जबाट डोल्पा जाँदा रु नौ हजार र फर्कँदा रु पाँच हजार तिर्नुपर्छ । पछिल्लो समय डोल्पा जान स्थलमार्गको प्रयोग बढ्दै गएको छ ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.