www.tandavnews.com
Fact ~ In search of truth

बाढीपहिरोको जोखिम र पाठ्यपुस्तक अभावले विद्यार्थी घट्दै

मनाङ।

मनाङमा गत वर्ष बाढीपहिरोले धेरै क्षति पु¥यायो । बर्षाको पछिल्लो अवस्थाले बाढीपहिरोको असर यस वर्ष अझ बढी विद्यालय र विद्यार्थीमा देखिने भएको छ ।

विद्यालय क्षेत्र तथा बस्तीमा बाढीपहिरोको जोखिमका कारण यहाँका अभिभावकले बालबालिका अन्यत्र सार्न थालेका छन् । जिल्लामा बाढीपहिरोका कारण अभिभावकले विद्यार्थी आफन्तकोमा राखेर अध्यापन गराउन विद्यालय परिवर्तन गर्न थालेको लोकप्रिय माध्यमिक विद्यालय चामेका प्रधानाध्यापक कृष्णदास कोइरालाले बताए ।

“बाढीपहिरोको जोखिम अझै पनि छ, कतिपय निजी आवास निर्माण हुन सकेका छैनन् । अभिभावकले बाढीपहिरो आए आफू भागाैंला तर बालबालिका भाग्न सक्दैनन् भनेर अन्यत्रै आफन्तकोमा राखेर पढाउने भएकाले विद्यार्थी घट्दो अवस्थामा रहेका छन्,” प्रअ कोइरालाले भने।

साथै पाठ्यपुस्तक अभावले पठनपाठनमा अझ समस्या थपिएर पठनपाठन सकस भएको उनले बताए । मनाङमा शैक्षिक सत्र आधा सकिन लागेको छ । तर, विद्यार्थीको पठनपाठन राम्रोसँग हुन सकेको छैन । विद्यार्थीहरु विद्यालय आए पनि पुस्तक जिल्लामा आइनपुग्दा पठनपाठनमा सकस भएको कोइरालाले बताए।

उनका अनुसार पुस्तकका ‘टपिक्स डाउनलोड’ गरी सम्भव भएसम्म विद्यार्थीहरुलाई प्रिन्ट गरेर दिँदै पठनपाठन हुँदै आएको छ । “टपिक्स डाउनलोड गर्ने र फोटोकपी गरेर पठनपाठनलाई अगाडि बढाएका छौँ, महाविपत्तिले त्रास नै त्रासमा पठनपाठन गराइरहेको अवस्थामा पाठ्पुस्तकको अभावले समस्या थपिएको छ,” कोइरालाले भने।

लोकप्रिय माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्रा सरिता गुरुङ पाठ्यपुस्तक नपाउँदा पुस्तक हेरेर गृहकार्य गर्न समस्या भएको बताए । शिक्षकले सकेको सहज बनाउन खोजे पनि पुस्तकमा हेरेर पठनपाठन गर्न नपाउँदा अध्ययनमा समस्या थपिएको उनले बताए ।

“शिक्षकले दिएका होमवर्क गर्दा पुस्तक हेर्न नपाउँदा समस्या हुन्छ, शिक्षकले पढाएका तर घरमा पुस्तक हेर्न नपाउँदा होमवर्क गर्न समस्या हुन्छ”, उनले भने । लोकप्रिय मावि कक्षा १० मा अध्ययनरत छात्र जयराम थापाले नयाँ शैक्षिक सत्र शुरु भए पनि पुस्तक अभावमा शिक्षकले विभिन्न माध्यमबाट पठनपाठन अगाडि बढिरहेको बताए। शिक्षकले पुस्तकको ‘हेन्सआउट’ दिने गरेकाले पठनपाठनमा समस्या खासै नभएको उनको भनाई छ ।

प्रकाश ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक जगराम विश्वकर्माले गतवर्षको बाढीपहिरोले विद्यालयको क्षतविक्षत भएको र दुई शौचालय, एउटा हल क्षति भएपछि बर्षायाममा त्रास रहेको बताए। प्राकृतिक विपत्तिको जोखिम न्यूनीकरणका लागि लागिरहेको भए पनि अभिभावकले विद्यार्थी अन्यत्र लैजाने क्रम जारी रहेको विश्वकर्माले बताए। “अभिभावकले बालबालिकालाई जोखिममा पढाउन नसक्ने भन्दै अन्यत्र लैजाने प्रक्रियाका लागि आउने गर्नुभएको छ । जोखिमपूर्ण अवस्थाबाट जोगाउँदै विद्यार्थीलाई सहज बनाउन सम्बन्धित निकायले ध्यान दिनुपर्छ । तर, बाढीपहिरोको जोखिमले विद्यार्थी घट्दो अवस्थामा रहेको छ,” उनले भने ।

विद्यालयका प्रधानाध्यापक श्याम पन्थीले गत वर्षको बाढीले मनाङवासीलाई त्रसित बनाएको बताए । “बाढीपहिरोले क्षति पुगेको निजी आवास अभिभावकले बनाउन सकेका छैनन् । यसवर्ष पनि बाढीपहिरोले त्रास हुने हो कि भन्ने अवस्था रहेको छ । अभिभावकहरु बाढीको त्रासले बालबालिकालाई अन्यत्र सार्ने गरेका छन्”, पन्थीले भने।

विद्यालयमा बालबालिकाको सङ्ख्या घट्दो अवस्था रहेको उनले बताए । “विद्यालय क्षेत्रमा तटबन्धन गरिएको छैन, विद्यालयका तीन वटा कक्षा यस शैक्षिक सत्रमा खाली भएको छ । अभिभावकले आफ्ना आफन्तको राखेर पढाउनका लागि लैजाने भएकाले विद्यालय नै शून्य हुने अवस्थामा पुगेको छ,” प्रधानाध्यापक पन्थीले भने ।

बाढीको त्रासलाई न्यूनीकरण गर्नुपर्ने, विद्यालय परिसरको संरक्षण र सुरक्षित बनाउन सङ्घ, प्रदेश र स्थानीय सरकारले प्राथमिकता दिन सके विद्यालयमा विद्यार्थी फर्काउन सकिने अपेक्षा गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाईका प्रमुख मतिलाल चपाईले नयाँ शैक्षिक सत्र सुरु भइसक्दासम्म पनि जिल्लामा आवश्यक पाठ्यपुस्तक आइनपुगेको बताए ।

जनक शिक्षा सामग्री केन्द्रले मनाङका लागि आंशिक पाठ्यपुस्तक पठाएको खबर भने पाएको उनले बताए । “आंशिक पाठ्यपुस्तकले पनि विद्यार्थीको पठपाठनमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ,” उनले भने । विकट क्षेत्रमा बाढीपहिरोको जोखिम र पाठ्यपुस्तक समयमा पुग्न नसक्नुले शैक्षिक सत्र सुरु हुनु अगावै विद्यार्थीहरु अन्यत्र सर्ने प्रक्रियाले जिल्लामा विद्यार्थी घट्ने क्रममा छ । रासस

–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.