www.tandavnews.com
Fact ~ In search of truth

जिसस बागलुङको निर्वाचन जेठ ३१ मा

बलेवा।

जिल्ला समन्वय समिति बागलुङको निर्वाचन कार्यतालिक सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार जिससको नयाँ नेतृत्व चयनका लागि मतदान जेठ ३१ गतेका लागि तोकिएको छ ।

जेठ २४ गते एकै दिन मतदाता नामावली प्रकाशन, मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने, संशोधन मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका छ । २५ गते मतदाताको विरोधमा उजुरी दिने, मतदाताको विरोधमा परेको उजुरीउपर जाँचबुझ गर्ने, अन्तिम मतदाता नामावली प्रकाशन गर्ने रहेको छ । जेठ २६ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र मनोनयन पत्र दर्ता भएका उमेदवारको सूची प्रकाशन गर्ने रहेको छ ।

२७ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २८ गते मनोनयन पत्रको जाँच र उजुरीउपर निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने रहेको छ । २९ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने रहेको छ ।

निर्वाचनको कार्यतालिका सार्वजनिक भएसँगै जिल्ला समन्वय समितिको नेतृत्वको विषयमा चर्चा सुरु भएको छ । बागलुङमा ११ प्रमुख तथा उपप्रमुख जितेको नेपाली कांग्रेस जिससका लागि एकल बहुमत भएको पार्टी हो । दोस्रोमा नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले समान चार/चार सिट जितेका छन् । नेकपा (एमाले)ले भने एक सिट मात्रै जितेकाले उसको मतभार एकमात्रै हो ।

जिससका लागि दश स्थानीय तह रहेको बागलुङमा २० मत छ । बहुमत रहेको पार्टी कांग्रेस भए पनि यहाँ जिससको नेतृत्व भने राष्ट्रिय जनमोर्चाले पाउने चर्चा छ । पालिका प्रमुख/उपप्रमुख एक सिटसमेत नजितेको नेकपा (एकीकृत समाजवादी)ले जिसको उपप्रमुख पाउने छ ।

“पहिले भएको सहमतिको आधारमा राजमोलाई प्रमुख र एकीकृत समाजवादीलाई उपप्रमुख दिने निर्णय भएको छ”, जिससका संयोजकसमेत रहेका राजमो नेता राजेन्द्र ढुङ्गानाले भने, “बाँकी सात जना सदस्यको विषयमा दलहरुबीच छलफल हुनेछ ।” तर, कांग्रेसका एक तहका नेताले भने एकल बहुमत भएका बेला सहमति तोडेरै भए पनि जिससको प्रमुख आफैँले लिनुपर्ने धारणा राख्दै आएका छन् ।

जिससको पदाधिकारी वा सदस्य हुन पालिका वा वडा तहमा निर्वाचन जितेको हुनुपर्ने व्यवस्था छ । राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमरबहादुर थापा काठेखोला गाउँपालिकाको वडासदस्यमा निर्वाचित भएकाले उननै सम्भवत जिल्ला समन्वय समितिको संयोजक बन्ने चर्चा छ ।

स्थानीय तह निर्वाचन–२०७९ को कार्यविधिअनुसार पालिकामा निर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेको बढीमा १५ दिनभित्र कार्यपालिका सदस्यको लागि निर्वाचन गर्नुपर्ने व्यवस्था छ भने जिससमा एक महिनाभित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।

बागलुङमा पहिलो पदभार ग्रहण जेठ ५ गते भएकाले आउँदो असार ५ गतेभित्रै जिल्ला समन्वय समितिको नेतृत्व चयन हुनुपर्ने थियो । यसअघि २०७४ साल साउन १९ गते जिल्ला समन्वय समितिको निर्वाचन भएको थियो । एमाले र राष्ट्रिय जनमोर्चाको गठबन्धनले त्यतिबेला जिससको नेतृत्व गरेको थियो भने यसपटक एमाले जिससबाट बाहिरिने छ ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.