www.tandavnews.com
Fact ~ In search of truth

आयोजनाको काम छिटो सम्पन्न गर्नुस् : नेता पौडेल

तनहुँ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज मादीनदी लिफ्टिङ खानेपानी आयोजना अवलोकन गरेका छन्। नेपाल सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाकोे ३० प्रतिशत लगानीमा उक्त आयोजना निर्माण सम्पन्न हुन लागेको हो ।

आयोजनाको अवलोकन पश्चात् नेता पौडेलले आम उपभोक्तामा जतिसक्दो छिटो खानेपानीको पहुँच पु¥याउनु पर्नेमा जोड दिए। निर्माणका क्रममा केही समस्या परे आफ्नोतर्फबाट गर्नुपर्ने सहयोग सदैव साथ रहने प्रतिबद्धतासमेत उनले जनाए। गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विकले आयोजना गौरवको विषय भएकाले उपभोक्ता, कार्यसमिति र निर्माण कम्पनी सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिए।

व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले वडावासीका लागि खानेपानी प्रशस्त मात्रमा उपलब्ध गराउन आयोजनाको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे। कूल रु १५ करोड २४ लाख ३६ हजारको लागतमा निर्माण गर्न लागिएको उक्त आयोजना पराजुली कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएको थियो । व्यास नगरपालिका–४ स्थित मादी नदी किनारबाट व्यास नगरपालिका–१ को अमिली भञ्याङमासम्म करिब पाँच किलोमिटर लामो दूरीबाट पानी ल्याउन लागिएको भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव राजेश्वर हड्खलेले जानकारी दिए।

विसं २०८० भदौमा उक्त आयोजनाको निर्माण गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरिएको र यसबाट प्रतिसेकेण्ड २६ लिटर पानी बहने क्षमता रहने समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले बताए। नेपालभरका अन्य खानेपानी आयोजनामध्ये १० आयोजनाभित्र भादगाउँ करादी खिरखाँदी खानेपानी आयोजना छनोट भएपछि उक्त आयोजनाको निर्माण प्रक्रिया अघि बढाइएको थियो ।

साना ठूला गरी चार योजना तथा आयोजनाबाट सङ्कलन हुँदै आएको पानी उपभोक्तालाई वितरण गर्दै आइएको संस्थाका अध्यक्ष चिजबहादुर दरैले बताए। विसं २०५६ मा उक्त खानेपानी संस्था स्थापना भई ५२ सार्वजनिक धाराबाट सुरुवात गरिएकामा हालसम्म २६०० बढी निजी धारा जडान गरी पानी वितरण हुँदै छ ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.