www.tandavnews.com
Fact ~ In search of truth

पाठ्यपुस्तकको पर्खाइमा विद्यार्थी

तम्घास।

“हालै सम्पन्न निर्वाचनमा मतपत्र त समयमै आयो, तर हाम्रो लागि पुस्तक ल्याउन सकेन सरकारले”, गुल्मीको रेसुङ्गा नगरपालिका–४ स्थित बुद्ध माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत अस्मिता पाण्डेले भनिन्, “ हाम्रो भविष्यमाथि खेलबाड भएको छ ।” विगतका वर्षमा यो समयमा पुस्तक आए पनि यस वर्ष नआउँदा आफूहरु निराश भएको उनले बताइन्।

कक्षा ९ मा पढ्ने पवन पन्थीले नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ताभन्दा बढी हुँदासमेत पुस्तक नआउँदा पढाइमा असर गरेको बताइन्। “प्रथम त्रैमासिक परीक्षा आउन थाल्यो, तर अझैसम्म पनि सबै पुस्तक आएका छैनन्,” उनले भने, “पुस्तक नै नभएपछि कसरी पढ्ने ?” पन्थीले शिक्षकहरुले पुराना पुस्तकहरु खोजेर पढाए पनि त्यो पर्याप्त नभएको गुनासो गरे।

त्यस्तै कक्षा ६ मा पढ्ने राजु गौतमले पुस्तक छाप्न ढिलाइ हुँदा आफूहरुले पढ्न नपाएको गुनासो गरे। “हामीहरु पाठ्यपुस्तकको पर्खाइमा छौँ, कहिले आउँछ खै ?,” गौतमले भने, “सकेसम्म छिटो आए सजिलो हुने थियो ।” रेसुङ्गा नगरपालिका–८ स्थित सिद्धबाबा माविका प्रधानाध्यापक डोरविक्रम श्रीसले सबै विद्यार्र्थीलाई एक/दुई वटा मात्र नयाँ पुस्तक वितरण गरिएको बताए।

विद्यार्थीपिच्छे फरक–फरक पुस्तक दिएर अध्यापन गराएको उनले बताए। नयाँ पुस्तक नआएपछि विद्यार्थीहरु अध्ययन गर्नका लागि मानसिक रुपमा तयार नभएको श्रीसको भनाइ छ । बुद्ध माविका शिक्षिका शान्ति भण्डारीले कक्षा ४, ७ र ९ को कोर्स फेरिएको भए पनि अनलाइनबाट खोजेर पढाएको बताए।

तर विद्यार्थीको हातमै पुस्तक हुँदाजस्तो सजिलो भने नभएको उहाँको भनाइ छ । चन्द्रकोट गाउँपालिका–१ दिब्रुङस्थित शारदा माविका प्रधानाध्यापक कृष्ण थापाले माग गरिएको पुस्तकको २० प्रतिशत मात्रै उपलब्ध भएको बताए। कोर्स परिवर्तन नभएका कक्षाको पुराना पुस्तक खोजेर पढाएको र परिवर्तन भएकाको वेबसाइटबाट डाउनलोड गरेर पढाएको थापाले बताए। तर इन्टरनेटबाट डाउनलोड गरेर पढाएको कोर्स प्रभावकारी नभएको थापाले स्वीकार गरे ।

“गाउँमा प्रायःजसो नेट चल्दैन, इन्टरनेट खुल्नै बढी समय लाग्छ,” उनले भने, “पुस्तक समयमै नआउँदा अध्ययन–अध्यापनमा धेरै समस्या भएको छ ।” शिक्षा तथा समन्वय इकाइ गुल्मीका प्रमुख लोकनाथ मरासिनीले पुस्तक ल्याउनका लागि आफूहरु निरन्तर सम्पर्कमा रहे पनि नपाइएको प्रतिक्रिया दिए।

पुस्तक छाप्ने जिम्मा पाएको जनक शिक्षा सामग्री कन्द्रले मतपत्र छाप्दा पुस्तक छाप्न ढिलाइ भएको उनले बताए। “हामी पनि पुस्तक आउने आशामा छौँ,” उनले भने । गुल्मीमा करिब ६५ देखि ६७ हजार पुस्तक आवश्यक पर्ने भए पनि करिब ४० प्रतिशत मात्रै उपलब्ध भएको मरासिनीको भनाइ छ । जिल्लामा सामुदायिक ६६७ र संस्थागत ५४ गरी कूल ६११ विद्यालय छन् । जसमध्ये संस्थागत विद्यालयमा पुस्तक आए पनि सामुदायिकमा आएका छैनन् ।

रासस

––––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.