www.tandavnews.com
Fact ~ In search of truth

नौमती बाजा संरक्षण मगर युवा

पाल्पा।

पाल्पाको बगनासकाली गाउँपालिकाको खानीगाउँका मगर युवाहरु नौमती बाजा संरक्षणमा लागिपरेका छन् । गाम्रीण तथा सहरी क्षेत्रमा नेपाली परम्परागत बाजा नौमतीको धुन गुञ्जिन छाडेपछि चाड पर्वलगायत शुभ कार्यका बेला सुनसान जस्तो बन्दै आएको थियो ।

पछिल्ला वर्षहरुमा यहाँका मगर जातिका युवाको अग्रसरताले नौमती बाजाको धुन सुनिन थालेको हो । रानीमहल पञ्चेबाजा मगर समूहका उपाध्यक्ष टीकाबहादुर बाह्रघरेले गाउँ तथा सहरमा समेत बाजा बजाउने माग आइरहेको छ । पुर्खाको कला र सीप संरक्षणका लागि हामीले चासो दिएका मात्र हौँ ।

यो पेसाको संरक्षणले नेपाली समाजलाई फाइदा पुगेको बाह्रघरेले बताए । गाउँमा पञ्चेबाजाको धुन गुञ्जिन छाडेको वर्षौंपछि पहिला सीप सिकेका केही युवा जुरमुराए अनि समूह बनाएर पञ्चेबाजा बजाउन थालेका हुन् । पञ्चेबाजा देवीदेवताको मन्दिरमा बजाइन्छ भने नौमती बाजा रमाइलोका लागि बजाइने गरिन्छ । अहिले नौमतीको धुनसँगै विवाह, व्रतबन्ध मात्र नभएर विभिन्न सामाजिक र सांस्कृतिक कार्यक्रम, पर्वमा पनि नौमतीको माग हुन थालेपछि समूहसँगै व्यक्तिगत रूपमा पनि उनीहरूको आय बढेको छ ।

पारिश्रमिकको केही भाग बाजा मर्मत तथा संरक्षणका लागि कोषमा राख्ने गरिएको समूहका सदस्य भेषबहादुर बाह्रघरेले बताए । बाजाको धुन गुञ्जिन थालेपछि जो कोहीलाई उत्साहित बनाउने गर्छ । नौमती बाजा बजाउने चलन नेपालको परम्परादेखि चलिएको हो । यस्ता खालका बाजा बजाउने मानिस हराउन थालेपछि स्थानीय सरकारले संरक्षणका लागि सहयोग गर्दै आएको छ । मगर युवाले परियार जातिका मानिसलाई गाउँमा बोलाई बाजा बजाउन सिकेका थिए । एक महिनामै बाजा बजाउन सिकेपछि शुभकार्य तथा मनोरञ्जनका लागि उनीहरु बाजा बजाउन व्यस्त हुन थालेका छन् ।

मगर जातिका युवाले बाजा बजाई दर्शकलाई पनि नचाउन थालेपछि स्थानीय बासिन्दा पनि दङ्ग छन् ।परियार जातिका युवाले बाजा बजाउन छाडेपछि शुभकार्य पनि सुनसान जस्तै हुन थालेको थियो । यहाँका मगर जातिका युवाले विसं २०६२ मा रानीमहल पञ्चेबाजा मगर समूह स्थापना गरी नौमती बाजाको संरक्षणमा जुटेका हुन् । सामाजिक विभेद र आर्थिक सङ्कटका कारण दलित समुदायका परम्परागत पेसा बिस्तारै लोप हुन लागेकाले यसको संरक्षणका लागि राज्यको चासो बढाउन आवश्यक रहेको दलित अधिकारकर्मीको भनाइ थियो ।

परियार जातिको पुख्र्यौली पेसा दलित समुदायअन्तर्गत परियार जातिको नौमती बाजा बजाउने परम्परागत पेसा हो । परम्परादेखि नै बाजा बजाउने पेसा अँगालेका दलित समुदायलाई जातीय छुवाछूत तथा भेदभावपूर्ण व्यवहार गर्दा उनीहरु यो पेसाबाट नै विस्थापित भएका हुन् । दलित अधिकारकर्मी तीर्थप्रसाद गौतमले अहिले दलित समुदायका मानिसहरु परम्परागत पेसाभन्दा अन्य व्यवसयामा आकर्षित भएको बताए । सरकारले दलित समुदायका पेसा तथा व्यवसायलाई संरक्षणमा चासो नदेखाएको उनकाे गुनासो थियो ।

रासस

–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.