www.tandavnews.com
Fact ~ In search of truth

ढोरपाटन : पर्यटकसँगै राजस्वमा वृद्धि

गलकोट।

ढोरपाटन क्षेत्रमा बर्सेनि पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ । नेपालकै एकमात्र शिकार आरक्ष सो क्षेत्रमा पर्यटकको आगमनमा वृद्धिसँगै राजस्वमा समेत वृद्धि भइरहेको छ ।

कुनै समय ढोरपाटनमा शिकार खेल्नमात्रै पर्यटक आउने चलन थियो । सोझै हेलिकोप्टरमार्फत विदेशी शिकारी पर्यटकमात्रै ढोरपाटन शिकार आरक्ष पुग्ने भएपनि सडकको पहुँच, होटल सुविधा तथा प्रचार–प्रसारसँगै बाह्यमात्रै नभएर आन्तरिक पर्यटकसमेत त्यहाँ पुग्न थालेका छन् । ढोपाटनमा शिकार खेल्न, उपत्यका भ्रमण गर्न, प्रसिद्ध ढोरबारही मन्दिर दर्शन गर्न र शिकार आरक्ष कार्यालयको अवलोकनका लागि पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।

नाउर र झारलको वैधानिक शिकार खेल्न पाइने उक्त क्षेत्रमा विदेशी पर्यटकले लाखौँ खर्च गरेर शिकार खेल्न त्यहाँ पुग्ने गरेका छन् भने आन्तरिक तथा अन्य पर्यटकले शिकार आरक्ष क्षेत्रको भ्रमण तथा अवलोकन गर्ने गरेका छन् । बर्खा सुरु भएसँगै झण्डै आठ किलोमिटर क्षेत्रमा फैलिएको ढोरपाटन उपत्यकामा सयौँ प्रकारका आकर्षक फूलहरू फुलेका छन् । हरियाली ढोरपाटन उपत्यकाले त्यहाँ पुगेका पर्यटकलाई नलोभ्याउने कुरै छैन ।

अहिले ढोरपाटनमा वर्षमा दुई याममा आन्तरिक तथा बाह्य पर्यटक बढी मात्रमा पुग्ने गरेका छन् । तर पुस–माघको बाक्लो हिमपात र साउन–भदौमा भारी वर्षा हुँदाबाहेक अघिपछि पर्यटकको अभाव भने ढोरपाटनलाई पर्दैन । ढोरपाट शिकार आरक्ष क्षेत्रमा गत आर्थिक वर्षदेखि ढोरपाटन प्रवेश गर्ने आन्तरिक पर्यटकको समेत रेकर्ड राख्न थालिएको छ । ढोरपाटन प्रवेशस्थल देउरालीमा यसअघि बाह्य पर्यटकले शुल्क तिरेर प्रवेश पाउने गरेकामा गत आर्थिक वर्ष २०७७/७८ आन्तरिक पर्यटकले समेत रु१०० प्रवेश शुल्क तिर्ने प्रावधान ढोरपाटन शिकार आरक्षले बनाएको छ ।

शिकार आरक्षका अनुसार आव २०७६/७७ सम्म विदेशी पर्यटकको मात्रै रेकर्ड राख्दै आएको आरक्षले गत आवदेखि स्वदेशी पर्यटकको समेत रेकर्ड राख्दै आएको छ । आव २०७२/७३ मा ९१ विदेशी पर्यटक भ्रमणका लागि आएको आरक्षमा २०७३/७४ मा १३९, २०७४/७५ मा ११९, २०७५/७६ मा ४८० र २०७६/७७ मा ३२० विदेशी पर्यटक आएकामा २०७७/७८ मा विदेशी र स्वदेशी गरी ६ हजार ७०३ पर्यटक आएको र पर्यटकको आगमन शुल्क वार्षिकरु छ लाखको हाराहारीमा हुने गरेकामा २०७७/७८ बढेर रु २० लाख पुगेको छ ।

ढोरपाटन शिकार आरक्ष अवलोकनका लागि विदेशी र स्वदेशी सबैको रेकर्ड राख्न थालिएको ढोरपाटन शिकार आरक्षका प्रमुख संरक्षक अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिए।“विसं २०४४ बाटै विदेशी पर्यटक आउने ढोरपाटनमा पछिल्लो एक दशकयता आन्तरिक पर्यटक आउन थालेका हुन् । सडकको पहुँच पुग्नु, प्रचार–प्रसार हुनु र होटल सुविधा थपिँदा यहाँ बर्सेनि पर्यटक बढ्दै आएका हुन्”, कँडेलले भने, “पर्यटकको सङ्ख्यामा वृद्धि हुँदा राजस्वमा समेत वृद्धि भएको छ । विशेषगरी ढोरपाटनमा असोज, कात्तिक, मङ्सिर, चैत, वैशाख र जेठमा बढी पर्यटक आउने गर्दछन् ।”

बागलुङ, म्याग्दी र पूर्वीरुकुमसम्म फैलिएको आरक्षको मुख्य कार्यालय बागलुङको ढोरपाटन उपत्यकामा पर्दछ । ढोरपाटन उपत्यकामा ढोरपाटन भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी २१ वटा साना–ठूला होटल तथा घरबास सञ्चालनमा आएका छन् ।शिकार खेल्न विदेशी पर्यटक सोझै हेलिकोप्टरमार्फत हिमाली क्षेत्रमा पुग्ने भए पनि अन्य विदेशी र आन्तरिक पर्यटक शिकार आरक्ष क्षेत्रमा आउने गरेका छन् ।

कोरोनापछि ढोरपाटन आउने पर्यटकमा वृद्धि भएको ढोरपाटन सामुदायिक होटलका सञ्चालक सुरज पौडेलले बताए ।पौडेलले कोरोनाका कारण ठप्प बनेको ढोरपाटनको पर्यटन व्यवसाय विस्तारै फष्टाउन थालेको र क्रमशः आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै आएको बताए । उनले भने “ढोरपाटनमा अहिले पर्यटकको आगमन बढेसँगै २१ होटल तथा घरबास सञ्चालनमा छन्, सिजनको समयमा सबै होटल तथा घरबास भरिभराउ हुन्छन् ।” पर्यटकको आगमन बढेसँगै ढोरपाटनमा व्यापार–व्यवसाय पनि विस्तारै फस्टाउन थालेको छ ।

यहाँ उत्पादन भएको आलु, स्याउलगायत स्थानीय उत्पादनले उचित मूल्य पाउन थालेको छ । सिजनको समयमा ढोरपाटनमा दैनिक चार–पाँच सयको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्दछन् । हिमपात र बर्खाका कारण सडक अवरुद्ध हुँदा पर्यटक भने शून्य हुन्छन् ।

बर्खा लागेपछि द्वालाखोला बढ्दा सवारीसाधन ढोरपाटन पुग्न मुस्किल हुन्छ । बुर्तिवाङबाट द्वालासम्म सडक स्तरोन्नति भएर सहज भएपनि देउरालीसम्म उकालो सडक बर्खाको भलले खोलेर सवारीसाधन फस्ने समस्याका कारण भारी वर्षापछिको दुई महिना सवारीसाधन ढोरपाटन पुग्न मुस्किल हुन्छ ।

रासस

–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.