www.tandavnews.com
Fact ~ In search of truth

समाजसेवी ‘बहीदार बा’को जीवनीमा आधारित पुस्तक सार्बजनिक

पोखरा ।

कास्की जिल्लाको ताङतिङ क्षेत्रका समाजसेवी हर्कजङ गुरुङको जीवनीमा आधारित पुस्तक ‘हर्कजङ गुरुङ, बहीदार बा’ सोमबार पोखरामा बिमोचन गरिएको छ । वि.सं.२०५२ मा ७० वर्षको उमेरमा वितेका समाजसेवी हर्कजङको योगदानलाई उनकै गाउँका शिक्षासेवी प्रकाश गुरुङले लिपिबद्ध गरेर पुस्तकको रुप दिएका हुन् ।

पुस्तकमा बहीदार बाले गरेका कामको वर्णन गरिएको छ । उनले ताङतिङमा हिमालय मिलन मावि स्थापना गर्न, गाउँमा चिठीपत्र पढेर गाउँलेलाई सघाउन, पोखरामा ताङतिङ दूधपोखरी समाज स्थापना गर्न र गाउँमा खानेपानीको व्यवस्थापन, पुलपुलेसा निर्माण, बाटो निमार्णमा खेलेको अग्रणी भूमिकाको चर्चा गरिएको छ ।

Batas

जनबोलीमा ‘बहीदार बा’ र ’प्रधान बा‘का रुपमा सम्मानित थिए हर्कजङ । उनी करिब दुई दशक तत्कालीन नामार्जुङ देउराली गाउँ पंचायत (हालको मादी गाउँपालिका वडा नम्बर २)को प्रधानपन्च बनेका थिए । यसरी नेतृत्वमा पुगेका बेला उनले जनमुखी काम गरेर स्याबासी पाएका थिए ।

समग्रमा यो पुस्तक प्रेरणादायी दस्तावेज बनेको बिमोचन कार्यक्रममा टिप्पणी गरिएको छ ।

‘गाउँको विकासमा योगदान पुर्याउने यस्ता असल मान्छेको विषयमा पुस्तक लेख्नु राम्रो काम हो’, कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले भने, ‘हर्कजङको जीवनकथा पढ्दा समाजका लागि सत्कर्म गर्न प्रेरणा मिल्छ ।’

बहीदार बाको २७ औ स्मृति दिवसका अबसरमा ताङतिङ दूधपोखरी समाजले पुस्तक बिमोचन कार्यक्रम गरेको हो।

पुस्तकको प्रकाशन स्व. हर्कजङ गुरुङका सुपुत्रा क्याप्टेन गौबहादुर गुरुङ (एम.बि.ई.) हुन् । कार्यक्रममा उनले बेलायतबाट पठाएको शुभकामना सन्देश पढेर सुनाइएको थियो । ‘समाजका लागि बाँच्नेहरु अमर हुन्छन्’, पुस्तकमाथि टिप्पणी गर्दै पत्रकार अमृत भादगाउँलेले भने, ‘वितिसकेका मान्छेको योगदान खोजबिन गरेर पुस्तक लेख्नु चानचुने काम होइन। त्यसैले लेखकलाई धन्यवाद छ !’

समाजका अध्यक्ष बीरध्वज गुरुङको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता कृष्ण के.सी, समाजसेवी क्याप्टेन पूर्णबहादुर लामा, बहीदार बाकी छोरी खासामाया गुरुङ, छोरा हिराजङ गुरुङ र शिक्षिका कुमारी गुरुङले स्व. हर्कजङको योगदानको चर्चा गरेका थिए ।

बहीदार बाका सन्तानले बाबाको नाउँमा समाजसेवीलाई बर्सेनी सम्मान गर्न अक्षयकोष राखेका छन् । हिमालय मिलन माविमा उत्कृष्ट शिक्षक, मादी गाउँपालिका वडा नम्बर २ कार्यालयमा आदर्श नागरिक पुरस्कार, ताङतिङ दुधपोखरी समाजमा समाजसेवी पुरस्कार स्थापना गरेका छन् ।

यसपाली ताङतिङ दुधपोखरी समाजका तीन जना समाजसेवीहरु स्व. श्रवण सिंह गुरुङ, श्रीप्रसाद गुरुङ र विरमाया गुरुङलाई सम्मानित गरियो । यस अघि ‘ताङतिङ मेरो गाउँ‘ पुस्तक लेखेर चर्चित बनेका शिक्षासेवी प्रकाशले ’बहीदार बा‘ पुस्तक पछि लाहुरे संस्कृतिमा आधारित अर्को पुस्तक लेख्ने तयारी गरिरहेको जानकारी दिएका छन् ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.