www.tandavnews.com
Fact ~ In search of truth

हेर्नुहाेस् ! माछापुच्छ्रे गाउँपालिकाकाे नीति तथा कार्यक्रम (पूर्ण पाठ)

पाेखरा ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम ल्याएको छ । गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङले बिहिबार ११ औँ गाउँसभामा वार्षिक नीति कार्यक्रम प्रस्तुत गरे ।

नीति कार्यक्रममा पोखरा महानगरपालिकाको मुख्य खानेपानीको स्रोतको रुपमा रहेको मर्दिखोलालाई आवश्यक वातावरणिय संरक्षण गर्न पोखरा महानगरपालिका¸ नेपाल खानेपानी सस्थान साथै सरोकार निकायसँग आवश्यक समन्वय गरिने उल्लेख छ । मर्दीमा वातावरणीय सेवाको भुक्तानी सिद्धान्त अनुरुप रकम प्राप्त गर्न आवश्यक पहल गरिने अध्यक्ष गुरुङले बताए ।

Batas

मर्दीखोलाको पानी पोखरामा विक्री वितरण गरेर अरवौँ राजश्व उठाएको खानेपानी संस्थानले राजश्वको केही हिस्सा प्रभावित क्षेत्रलाई छुट्टाउनुपर्दछ भनेर नीति कार्यक्रमा समावेश गरिएको अध्यक्ष गुरुङले बताए।  खानेपानी संस्थानले मर्दी क्षेत्रका नागरिकका लागि राजश्वको निश्चित प्रतिशत रकम   छुट्टाउनुपर्नेमा जोड दिएको छ ।

यसैगरी शैक्षिक सुधारका लागि अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिने अध्यक्ष गुरुङले बताउनुभयो ।गाउँपालिकाले आगामी वर्ष पालिकाका कम्तिमा १० स्थानमा फ्रि वाइफाइ जोन बनाउने भएको छ ।

नीति तथा कार्यक्रमको पूर्ण पाठ :

माछापुच्छ्रे गाउँपालिका कास्की का अध्यक्ष  मिन बहादुर गुरुङज्यू वाट प्रस्तुत आ.व.०७९/०८० को नीति तथा कार्यक्रम

उपाध्यक्षज्यू,प्रमुख प्रशासकीय अधिकृत ज्यू, वडा अध्यक्षज्यूहरु, कार्यपालीका सदस्यज्यूहरु, गाउँसभाका सदस्यज्यूहरु, सल्लाहकार ज्यूहरु उपस्थित संचारकर्मी एवं सम्पूर्ण कर्मचारी मित्रहरु माछापुच्छे गाउपालिकाको एघारौ गाउसमा उपस्थित तपाई सवैलाई हार्दिक स्वागत गर्दछु।उत्साहप्रद रुपमा पालिकाको  समग्र विकास अभियानमा साथ दिनुभएकोमा तपाई सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

नेपालको संविधान २०७२ को सवैधानिक व्यवस्थामार्फत स्थानीय सरकारको दोश्रो जनप्रतीनिधिको रुपमा निर्वाचित भै कार्यकालको प्रारम्भमा हामी आज एघारौ गाउ सभामा उपस्थित भएका छौ । हाम्रो कार्यकालको प्रथम नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न एघारौ गाउसभामा उपस्थित भएकाछौ । यस अगाडी १० वटा गाउसभा, ५ बर्षको नीति, कार्यक्रम र बजेट कार्यान्वयन भैसकेको छ भने एघारौं गाउँसभामा हामीले नीति कार्यक्रम तथा बजेट प्रस्तुती र छलफल गरि पारित गर्दैछौ । हामीलाई यो ऐतिहासिक जिम्मेवारी वहन गर्ने वातावरण निर्माण गर्न लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि नेपाली जनताले पटक पटक गर्दै आएको सवै खाले क्रान्ति र आन्दोलनको स्मरण गदै ति आन्दोलनहरुको नेतृत्व गर्नुहुने अग्रजहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु। नेपाली सामाजको रुपान्तरणमा उहाँहरुले पुर्‍याउनुभएको योगदानको पुनः स्मरण गर्न चाहन्छु।

सम्र्पुण ज्ञात अज्ञात सहिदहरुप्रती हार्दिक श्रद्धान्जली अर्पण गर्दछु । साथै वेपत्ता र पिडित परिवार प्रति सम्मान व्यक्त गर्न चाहान्छु । कोभिड महामारीका कारण अकालमै मृत्युबरण गरेका सवै नागरिक एवं विनासकारी बाढी पहिरो र विपद्का कारण ज्यान गुमाउनेहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । माछापुच्छ्रे गाउँपालिका वासीहरुको विकास प्रतिको तिब्र चाहाना र महत्वकांक्षालाई आत्मसात् गर्दै दिगो विकासको लक्ष्य प्राप्ति एवं हामीलेनिर्वाचनका बेला गरेका प्रतिबद्धता पुरा गर्न गाउँपालीकाले यस भन्दा अगाडी शुरु भै अधुरा र अपुरा भएका कार्यक्रमहरु यथासम्भव प्रयास गर्दै हाम्रा प्रतिबद्धता अनुरुपका अधिकांश घोषणाहरु क्रमिक रुपमा पुरा गर्ने गरि अघि बढाउने तथ्य यस सम्मानित गाउसभा समक्ष राख्न पाँउदा गौरव महशुस गरेको छु ।

कानूनी जटिलता, अस्पष्टता, साधन र स्रोतको सिमितताका वावजुत सबल सुरक्षित र समृद्ध माछापुच्छ्रे निर्माण गरी सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय अभियानलाई सार्थक बनाउने लक्ष्य हासिल गर्ने नीति अवलम्बन गरेका छु।

आदरणीय गाउँसभा सदस्यज्यूहरू

पर्यटन कृषि उर्जा र पुर्वाधार समृद्ध माछापुच्छेको मुल आधार दिर्घकालिन सोच लाई पुरा गर्न माछापुच्छे गाँउपालिका विभिन्न विषयगत क्षेत्र समावेश गरी प्रमुख नीति तथा कार्यक्रमहरु देहाय बमाजिम प्रस्तुत गर्न चाहन्छु ।

 सामाजिक विकास

शिक्षा

  1. स्थानीय कला, संस्कृति, साहित्य, धर्म तथा अन्य सामाजिक तथासांस्कृतिक धरोहर, पहिचान र विशिष्टतालाई समावेश गरी स्थानीय पाठ्यक्रम निर्माण र पाठ्यपुस्तक निर्माण गरी कार्यान्वयन गरिनेछ।
  2. विद्यार्थीको सिकाई उपलब्धि प्रति शिक्षकलाई पूर्णत जिम्मेवारबनाइने छ। विद्यार्थीको सिकाई उपलब्धिका बार्पिक कार्यसम्पादनको आधारमाउत्कृष्ट शिक्षकलाई प्रोत्साहन सम्मान गरिने छ।साथै उत्कृष्ट विद्यालय प्रोत्साहन व्यवस्था गरिनेछ ।
  3. शिक्षामा सबैको पहुँच र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सरकारी तथा गैर सरकारी संस्था, र सरोकार निकायहरूसँग सहकार्य र समन्वय गरिनेछ।
  4. वालबिकास कक्षाका सहजकर्ता र कर्मचारीहरूको आवश्यक तालिम तथा साथै साविक बर्षहरुमा बढाइएको सुविधा निरन्तरता दिइनेछ ।
  5. सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार निर्माण तथा सुधार कार्यक्रमलाई सञ्चालन गरिनेछ ।
  6. गाउँपालिकाको शैक्षिक सुधारका लागि अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ ।
  7. हरेक विद्यालयको शैक्षिक मापदण्ड मापन गरि न्यून मापदण्ड रहेका विद्यालयहरुमा पुर्वाधार तथा जनशक्ति ब्यवस्थापनमा विशेष सहयोग गरिनेछ ।न्युन दरबन्दी भएका विद्यालयहरुमा थप शिक्षक जनशक्तिलाई ब्यवस्थापन गर्न मापदण्ड बनाई शिक्षक नियुक्ती तथा अनुदान वितरण गर्ने ब्यवस्था मिलाइनेछ ।
  8. गाउँपालिका भित्रका विद्यालयहरुमा गुणस्तर सुधार साथै उचित व्यवस्थापनका आधार सृजना गर्न बार्षिक विद्यालय सुधार योजना¸दश बर्षे गाँउ शिक्षा योजना तयार गरिनेछ ।
  9. विद्यालयहरुलाई सूचना प्रविधिमैत्री बनाउदै ब्रोडब्याण्ड इन्टरनेट सेवा सहितको भर्चुअल कक्षा सञ्चालन गर्न आवश्यक तालिम तथा सामाग्री सहयोग गरिनेछ ।
  10. सवै विद्यार्थी लाई निशुल्क पाठ्यपुस्तक व्यवस्थापन गर्ने उदेश्यले हाल लाई कक्षा १ देखिकक्षा ५ सम्म का पाठ्यपुस्तक निशुल्क गरिनेछ ।
  11. हरेक विद्यालयमा विद्यार्थीहरुको ब्यक्तित्व विकासका लागि बालक्लब प्रवर्धन कार्यक्रम सञ्चालन गरिने छ ।
  12. विद्याथीहरुको स्वास्थ र खानपानमा सुधार गर्न विद्यालयहरुकमा मेडिकल डा¸ आयुवेर्दिक डा सहित स्वास्थकर्मीहरु टिमबाट स्वास्थ शिक्षा योग शिक्षा उपलव्ध गराइनेछ।
  13. किशोर किशोरीहरुका लागि यौन तथा प्रजनन् स्वास्थ शिक्षा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
  14. विद्यालयमा बालमैत्री वातावरण सृजना गरि विद्यार्थीहरुलाई अभिप्रेरणा, परामर्श तथा आवश्यक सहयोग गरि विद्यालय छाड्ने दर न्युन बनाइनेछ ।
  15. सामुदायिक सिकाई केन्द्रहरुलाई थप व्यवस्थीत बनाउदै सिकाई केन्द्रमा कार्यरत कर्मचारीहरुले खाईपाई आएकोपारीश्रमिक बृद्धि गरिनेछ ।
  16. विद्यार्थी हरुलाई शैक्षिक क्षेत्र विकास साथै खेल क्षेत्रमा विकास गर्ने उदेश्यका साथ कक्षा १ देखि ८ कक्षा सम्मका अतिरिक्त किलाकपाप सञ्चालन गरिनेछ ।
  17. सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार सुधार गदैफर्निचर सहितका नयाँ कक्षा कोठा भवन थप गदै लाने¸सफा सुरक्षीत शौचालय व्यवस्थापन गर्नेICTल्याब स्थापन गदै जाने विज्ञान प्रयोगशाला व्यवस्थीत बनाउदै क्रमिक रुपमा मा वि हरुमा गणित प्रयोगशालाहरुस्थापना गरिनेछ ।
  18. सवै विद्यालयहरुमा स्वच्छ सफा पिउने पानीको व्यवस्थापन गरिने छ ।
  19. बालबालिकाहरुलाई कक्षा कोठमा सहज सरल अध्ययन गर्नका लागि बालमैत्री कक्षाकोठा व्यवस्थापन गरिनेछ ।
  20. विद्यालयमा शैक्षिक गुणस्तर सुदृढीकरण एवं कार्यसम्पादनमा प्रभावकारिता ल्याउन शिक्षक विद्यार्थी नियमितता मार्फत शिक्षकको शिक्षण सिकाइ समयलाइ अधिकतम उपयोग गर्ने उद्धेश्यले (TST)Teacher Spend Time शिक्षण सिकाइ समय कार्यान्वयन डायरी निर्माण गरी कार्यान्वयनमा ल्याइनेछ ।

युवा तथा खेलकुद

  1. नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, अखिल नेपाल फुटवल संघ (ANFA) र गाउँपालिकाको सहकार्यमा यस गाउँपालिकाको वडा नं. ६ मा निर्माणाधीन ANFA Technical Centerको निर्माण कार्यलाई निरन्तरता दिइनेछ।
  2. युवाशक्तिलाई गाँउविकास अभियानमा संलग्न गराउन आवस्यक नेतृत्व विकास , उत्प्रेरणा, चरित्र निर्माण तालिम तथा कार्यक्रमलाई सञ्चालन गरिने छ ।
  3. जिल्ला, प्रदेश, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुदमा सहभागिता जनाउने खेलाडी, समुह तथा ब्यवस्थापन टोलीलाई पालिकाको तर्फबाट उचित सहयोग, प्रवद्र्धन, सम्मान तथा पुरस्कारको ब्यवस्था गरिनेछ ।
  4. अध्यक्षकप खेलकुल प्रतियोगीता सञ्चालन गरिने छ । जसमा फुटबल, ब्याडमिन्टन तथा सवै खेल समेट्ने गरि प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गरिनेछ ।
  5. खेल क्षेत्रमा सवै भन्ने उद्देश्यका साथ जनप्रतिनिधि, कर्मचारी, एवम् शिक्षकलाइ खेलकुल प्रतियोगीता सञ्चालन गरिनेछ ।
  6. सामुदायिक विद्यालय विद्याथीहरुको अन्तरनिहित प्रतिभा प्रष्फुटनका लागि विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापको रुपमा खेलकुद सहभागि गराउने तथा खेलाडी पहिचान तथा प्रवर्धनका लागि विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गरिनेछ ।
  7. कुनै पनि नवप्रवर्धनात्मक कामलाई प्रोत्साहित गर्नै युवाहरुलाई नवप्रवर्तन तर्फ अभिप्ररित गरिनेछ । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितालाई निरन्तरता दिँदै गाउँपालिकाको एक महत्वपूर्ण खेलकुद उत्सवको रूपमा मनाइनेछ।
  8. विदेशबाट फर्केका, वैदेशिक रोजगारीमा जान समस्यामा परेका, स्वदेशमा रोजगारी गुमाएका तथा बेरोजगार युवाहरूलाई लक्षित गरी स्वरोजगार कार्यक्रम सञ्चालन गर्न उद्यमशीलता विकास कोष मार्फत उद्यम विकास कार्यक्रमलाई सञ्चालन गरिनेछ ।
  9. प्राविधिक र व्यवसायिक तालिममा अवसर अभिवृद्धि गरी युवा उद्यमशीलताका लागि गाउँपालिका, प्रदेश सरकार र संघीय सरकारबीच समन्वय र सहकार्य गरिनेछ।
  10. परम्परागत पेसा र व्यवसायको जगेर्ना, परिष्कृत, प्रवर्द्धन र व्यवसायीकरणमा युवा सहभागिता अभिवृद्धि गरिनेछ।
  11. सार्वजनिक-निजी साझेदारीको माध्यमबाट युवा लक्षित उद्यम व्यवसायलाई प्रवर्द्धन गरिनेछ।
  12. वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन सञ्चालन गरिएको सुरक्षित आप्रवासन कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
  13. प्रधानमन्त्री रोजगार कार्यक्रमलाई थप प्रभावकारी र व्यवस्थित रूपमा सञ्चालनगर्न थप बजेट व्यवस्थापन गरि रोजगारीका अवसरहरू सृजना गरिनेछ।
  14. स्थानीय स्काउट मार्फत युवामा असल आचरण, स्वावलम्बन र स्वयंसेवी भावनाको विकास गर्दै युवालाई मानवीय सेवा र विपद् व्यवस्थापन जस्ता क्षेत्रमा परिचालन गरिनेछ ।
  15. खेलकुद क्षेत्रलाई अगाडी बढाउन लागी खेल सगसगै युवा भन्ने उदेश्यका साथ पालिका स्तरमा खेलकुद विकास समिति गठन गरी खेलकुदका कार्यक्रमहरु सञ्‍चालन गरिनेछ ।

स्वास्थ्यआरोग्यता

  1. गाउँपालाको एक वडा एक स्वास्थ संस्थाको अवधारणा अनुसार स्थापित सवै वडाका स्वास्थ संस्थाहरुबाट नेपाल सरकारले तोकेका निःशुल्क औषधी निरन्तर उपलब्ध गराउने ब्यवस्था मिलाइनेछ ।
  2. भेडावारी प्राथमिक स्वास्थ्य केन्द्रको सेवा प्रवाहलाइ थप व्यवस्थति र सुधार गर्नका लागी एक जना रेडियोलोजष्टिको व्यवस्था गरिनेछ ।
  3. रोग निदानका लागि स्वास्थ्य परीक्षणका लागि सार्दीखोला स्वास्थ्य चौकीमा एक जना ल्याव असिस्टेन्टको व्यवस्था गरी क्रमिक रुपमा अरु स्वास्थ्य संस्थाहरुमा पनि प्रयोगशाला सेवा विस्तार गरिनेछ ।
  4. ८० बर्ष माथिका जेष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ जाँच तथा निःशुल्क मधुमेह र उच्च रक्तचाप औषधी वितरण ब्यवस्था गरिनेछ ।
  5. सवै वडामा स्वास्थ विमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गरि गरिव, विपन्न तथा दलित समुदायका विपन्न परिवारलाई नि:शुल्क स्वास्थ्य विमाको ब्यवस्था गरिनेछ ।
  6. विश्वमारीको रूपमा फैलिएको कोरोना भाईरसको प्रकोपबाट पाठ सिक्दै सम्भावित प्रकोपको रोकथाम, नियन्त्रण तथा व्यवस्थापनको लागि आवश्यक बजेट व्यवस्था गरिनेछ ।
  7. कोरोना भाईरस विरूद्धको खोप सेवा सम्पूर्ण गाउँपालिकावासीहरूलाई उपलब्ध गराउन आवश्यक पहल गरिनेछ ।
  8. माछापुच्छे गाउँपालिका बासीलाई सहज रुपमा स्वास्थ सेवा प्राप्त गर्न गाउँपालिकामा १५ शैयाको आधारभूत अस्पताल निर्माण गरिनेछ।
  9. महिला स्वास्थ्य स्वयम् सेवीकाहरूको प्रोत्साहन भत्ता लगायतका सुविधाहरूलाई निरन्तरता दिइनेछ ।
  10. स्वास्थ्य संस्थाहरुको बर्तमान अवस्था स्वास्थ्य सम्बन्धी सूचकहरु र नागरिकको विद्यमान स्वास्थ्य अवस्था समेटी पार्श्व चित्र तयार गरिनेछ ।
  11. संविधानले निर्दिष्ठ गरे अनुरुप गुणस्तरीय स्वास्थ्य सेवामा सबैको सर्व सुलभ, सहज र समान पहुँच स्थापित गर्न स्वास्थ्य सेवाका नीति, रणनीति तयार गर्ने, वित्तीय व्यवस्था गर्ने, व्यवस्थापकीय पक्षलाई चुस्त दुरुस्त बनाईनेछ ।
  12. गाउँपालिकाका सम्पूर्ण बासिन्दाहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थय सेवामा पहुँच सुनिश्चित गर्न, स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सामाग्री र औषधिहरुको आवश्यक व्यवस्थापन गरिने छ।
  13. घरमा प्रसुती हुने प्रवृतिलाई निरूत्साहित गर्दै पालिकामा सञ्चालनमा रहेका बर्थिंङ सेन्टरहरुमा दक्ष प्रसुतिकर्मीहरूबाट संस्थागत प्रसुतिलाई प्रोत्साहित गर्न गर्भवतीसँग उपाध्यक्ष कार्यक्रम लाई निरन्तरता दिइनेछ ।
  14. उपाध्यक्षसँग गर्भवती सुत्केरी पोषण कार्यक्रम संचालन गरिनेछ ।
  15. गर्भवती महिलाहरुलाइ निशुल्क भिडियो एक्सरे सेवा उपलब्ध गराइनेछ ।
  16. पूर्ण खोपको सुनिश्चितता, दिगोपना, परिवार योजना सेवा, आमा सुरक्षा कार्यक्रम, गाउँघर क्लिनिक जस्ता सेवाहरुलाई व्यवस्थित गर्दै महिला स्वास्थ्य स्वयमसेविकाहरु, स्वास्थ्यकर्मीहरुको मनोवल उच्च राख्न आवश्यक नीति लिइनेछ। खोप द्वारा रोकथाम गर्न सकिने रोगहरुको राष्ट्रिय निर्देशिकाअनुसारका कार्यक्रमलाई निरन्तरता दिई यसै आ.व. बाट टाईफाईडखोप अभियानलाई सञ्चालन गरि नियमित खोप सेवामा समावेश गरिनेछ।
  17. महामारीका रुपमा देखापर्न सक्ने ट्रपिकल रोगहरु पशु पंक्षीको सम्पर्कबाट सर्ने रोगहरुको खोपको अभावले रोग नियन्त्रण गर्न हुने कठिनाइलाई सम्बोधन गर्न संक्रामक रोग र जनस्वास्थ्य प्रणालीको सुदृढ गरिनेछ ।
  18. नसर्ने रोगहरु उच्च रक्तचाप, क्यान्सर, मधुमेह, बाथ, मुटुरोग, थाइराइड, आखाँको रोग, मृगौला रोग आदि रोगहरुका बारेमा समुदाय सचेतना कार्यक्रम सञ्चालन गरिनेछ।
  19. गाउँपालकावासीहरूको आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्न एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइनेछ।
  20. गाउँपालिका सबै प्रसुति गृहहरु (Birthing Center)मा आधुनिक औजार उपकरण खरिद गरी सुबिधा सम्पन्न बनाइनेछ।
  21. घरमा सुत्केरी हुने क्रमलाई निरूत्साहित गदै गर्भवती महिलाहरु पहिचान गरी घरभेट गरी स्वास्थ चौकी सम्म ल्याउने वातावरण मिलाइने छ ।
  22. आधारभूत स्वास्थ्य सेवाको नियमित उपलब्धताको लागि औषधि खरिद गरी १२ महिना नियमितआपूर्ति सुनिश्चित गरिनेछ।
  23. सवै नागरिकहरुलाइ स्वास्थ पहुँच पुर्याउन मेडिकल डा सहितको टिम बाट घुम्ती स्वास्थ सेवासाथै समय समयमा स्वास्थ शिविरहरु सञ्चालन गरिनेछ ।

आयुर्बेद सेवा

  1. भेडावारी प्राथमिक स्वास्थ्य केन्द्रमा एकीकृत रुपमा सञ्चालनमा रहेको आयुर्वेदिक स्वास्थ्य सेवासुदृढ गरिनेछ।
  2. दीर्घजिवन तथा स्वस्थ समाजका लागी जेष्ठ नागरिक आरोग्य क्लिनिककार्यक्रम तथा प्रसुति रसायन सेवन/स्तनपान आमा कार्यक्रम सञ्चालनमा ल्याइनेछ।
  3. महिला स्वास्थ्य स्वयंसेविकालाई लक्षित गरी आयुर्बेद तथा योग कार्यक्रमको साथै जेष्ठ नागरिक युवा लगायत विद्यार्थीहरुलाइ योग शिक्षा कार्यक्रमलाई अगाडी बढाइनेछ।

लैगिक तथा सामाजिक समावेशीकरण र लक्षित बर्ग 

  1. गाउँपालिकाका स्थायी बसोबास भएका नागरिकबाट जन्मेका नवजात बालिकाको सुनौलो भविष्यको लागि उनीहरुको नाममा बैक खाता खोली रु ५००० रकम जम्मा गरिनेछ ।
  2. लिंगका आधारमा हुने सवै खालका विभेदलाई अन्त गर्दै महिला र पुरुषमा समावेशी सिद्धान्तको आधारमा अवसरको वितरण र शसक्तिकरण गरिनेछ ।
  3. राजनीतिक, आर्थिक तथा सार्वजनिक जीवनका सवै निर्णायक तहमा नेतृत्वका लागि महिलाहरुको प्रभावकारी सहभागिता र समान अवसर प्रदान गरिनेछ ।
  4. ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई प्रयोग गर्न अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रम सञ्चालन गरिनेछ ।
  5. गाउँपालिका र सरोकारवाला निकायहरूबीचको समन्वय र सहकार्यमा शारीरिक एवम् मानसिक रूपमा कमजोर भएका र असहाय ज्येष्ठ नागरिकलाई आवश्यक सेवा-सुविधा प्रदान गरिनेछ।
  6. महिलाहरुलाई आत्मनिर्भर बनाउनको लागि उद्यमशिलताको विकास गर्ने र बालमैत्री स्थानीय शासनको अवधारणालाई अबलम्बन गर्न उपाध्यक्षसँग महिला तथा बालबालिकाकार्यक्रमलाईसञ्चालन गरिनेछ ।
  7. आर्थिक अभावका कारण उच्च शिक्षाबाट बञ्चितिमा परेका छात्र छात्राका लागि सामुदायिक तथा सरकारी शैक्षिक संस्थाहरूमा अध्ययन गर्न उच्च शिक्षा शैक्षिक छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिनेछ ।
  8. हिंसा पिडित महिलाहरुलाई तत्काल उद्दार गरि पुनस्थापनका लागि विशेष आर्थिक सहयोग प्रदान गरिनेछ ।
  9. बालमैत्री स्थानिय शासनलाई अवलम्बन गरी क्रमशः बालमैत्री वडा घोषणा गर्दै लगिनेछ ।
  10. स्थानिय तहले सञ्चालन गर्ने हरेक क्षेत्रमा महिला, बालबालिका, जेष्ठ नागरिक अपांगता भएका व्यक्तिहरुको अर्थपुर्ण तथा प्रभावकारी सहभागीताको सुनिश्चितता प्रदान गरिनेछ।
  11. अपांगता भएका व्यक्ति तथा दलित युवाहरुलाई स्वरोजगार बनाउनको लागि माग र आवश्यकतामा आधारित विभिन्न आय आर्जनमूलक तालिम सञ्चालन गरिनेछ।
  12. महिला, जनजाति, बालबालिका, अपांगता जेष्ठ नागरिकहरुको हक अधिकार सुनिश्चित गर्न लैगिक तथा सामाजिक समावेशीकरण नीतिले सिफारिश गरेका सवै कार्यक्रमहरुलाई प्राथमिकताका साथ सञ्चालन गरिनेछ ।
  13. लैंगिक उत्तरदायी बजेट नीति अनुसार पालिकाका सवै नीति तथा कार्यक्रम र बजेटलाई लैगिक परिक्षण र झुकाबको विश्लेषण सहित विभाजन गरिनेछ
  14. महिलाहरुको क्षमता विकास, उद्यम सहायता, स्वरोजगारी तथा लैंगिक हिंसा विरुद्ध विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
  15. दलित तथा जनजातीहरुको शसक्तिकरणका लागि माग र आवश्यकताको आधारमा विभिन्न सीपमूलक कार्यक्रम संचालन गरिनेछ ।
  16. समाजमा ब्याप्त अन्धविश्वास, कुरिती,लाल्छना, बोक्सी प्रथा, छुवाछुत प्रथा तथा बालहिंसा,जस्ता विकृति हटाउन विशेष सचेतनामूलक कार्यक्रम संचालन गरिनेछ ।
  17. माछापुच्छे गाउँपालिकाको बालविवाह न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम संचालन गरिनेछ ।
  18. अपांगता भएका नागरिकहरुको आवश्यक सिप विकास, क्षमता विकास तथा जिविकोपार्जनका साथै उत्थान कार्यक्रम सञ्चालन गरि आवस्यकता अनुसार सहायता कार्यक्रम सञ्चालन गरिनेछ ।
  19. महिलाहरुलाई आत्मनिर्भर बनाउनको लागि प्रत्येक वडामा सिपविकास तालिम सञ्चालन गरिनेछ।
  20. राष्ट्रिय बाल दिवसको अवसरमा खुला माध्यमिकविद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको छ।
  21. सवै खालका अपांगहरु भएका व्यक्तीहरुतथा जेष्ठ नागरिकहरुलाईडिजिटल परिचयपत्र वितरणगरिनेछ।
  22. जेष्ठ नागरिकहरुलाइ दिउँसोको समयमा आफ्ना साथीभाइ दाजुभाइसंग भलाकुसारी गर्न खुशीका साथ समय विताउनका लागि जेष्ठ नागरिक दिवा मनोरञ्जन घरहरु स्थापना गदै लगिने छ । स्थापना भएका दिवा मनोरञ्जन घर लाई थप व्यवस्थित गर्नका लागि आवश्यक बजेट व्यवस्थापन गरि व्यवस्थित गरिनेछ ।

पूर्वाधार विकास

  1. पालिकाको समग्र पुर्वाधार विकासका लागि यस अघिका बर्षहरुमा सञ्चालीत भएका आयोजनाका रुपमा क्रमागत चलिरहेका कोलचोक रातोपानी पुल भलावोट पानपातेचौतारा गाउपालिका केन्द्र जोगीचौर पातिखोला भिडाबारी धिताल धम्पुस देउराली सडकलाई निरन्तरता दिइनेछ ।
  2. गाउँपालिकाको निर्माणाधीन प्रशासकीय भवन निर्माण कार्यलाई सम्पन्न गरिनेछ ।
  3. पालिकाभित्र यातायातलाइ थप व्यवस्थित गर्नका लागि यातायात गुरुयोजना तयार गरिनेछ ।
  4. नयाँ ट्रयाक खोल्न औचित्यको आधारमा मात्र स्वीकृति दिइ भैरहेका सडकहरुलाई नाला निर्माण, ग्राभेलिङ तथा कालोपत्रे गर्दै जाने नीति लिइनेछ ।
  5. गाउँपालिका सम्पुर्ण वडामा सहज यातायात पहुँच तथा वडा कार्यालय जोड्ने सडक सञ्जाल स्तरोन्नती गरिनेछ।
  6. गाउँपालिकाको रणनीतिक चक्रपथ निर्माण कार्य गर्न सघिय सरकार प्रदेश सरकार सँग आवश्यक सहकार्य गरि निर्माण गरिनेछ ।
  7. दिगो विकासको लागि भौतिक पूर्वाधारको विकास गरी गाउँपालिकाका जनतालाई समृद्ध बनाउन क्षेत्रगत रणनीति तयार गरी अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजनाहरू बनाइ क्रमशः कार्यान्वयन गरिनेछ ।
  8. प्रदेश राजधानीबाट गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई सम्पन्न गर्न पहल गरिनेछ। गाउँपालिकाबाट वडा जोड्ने सडकलाई क्रमिक रुपमा कालोपत्रे गर्ने कार्य अगाडी बढाइनेछ। सबै वडाका सहायक बाटोहरूलाई स्तरउन्नती गरी बाह्रै महिना सवारी साधन सञ्चालन गर्न सक्ने बनाइनेछ। ग्रामीण कृषि सडकहरूको निर्माण तथा स्तरउन्नती गरिनेछ ।
  9. संघ तथा प्रदेशसँगको समन्वयमा मर्दी, सेती नदी तथा अन्य आवश्यक स्थानहरूमा मोटरेवल पुल निर्माण का लागि आवश्यक पहल गरिने छ ।
  10. गाउँपालिकाभित्र सडक निर्माण तथा विस्तार गर्दा पानीका स्रोत, वनजंगल, प्राकृतिक स्रोत तथा धार्मिक क्षेत्र विस्थापित नहुने गरी डिजाइन गरिनेछ ।
  11. गाउँपालिका अन्तर्गत निर्माण हुने ठूला आयोजनाहरूको कार्यान्वयन अगाडी सम्भाव्यता अध्ययन एवम् वातावरणीय प्रभाव समेतको अध्ययन एवम् विश्लेषण गरी विस्तृत परियोजना प्रतिवेदन (DPR)तयार गरी सोको आधारमा मात्र निर्माण कार्य अगाडी बढाइनेछ ।
  12. गाउँपालिका, संघ र प्रदेश सरकारको साझेदारीमा गाउँपालिकाभित्र आवश्यक स्थानहरूमा नयाँ झोलुङ्गे पुलहरूको निर्माण तथा विद्यमान झोलुङ्गे पुलहरूको मर्मत कार्य गरिनेछ ।
  13. उत्पादन र उत्पादकत्व अभिबृद्धि गरी जनताको आर्थिक सामाजिक अवस्थामा सुदृढीकरणका लागि खेतीयोग्य जमिनमा सिंचाई सुविधा उपलब्ध गराउन साना, ठूला र मझौला सिंचाई योजनाहरूलाई निरन्तरता दिइनेछ ।
  14. गाउँपालिकाभित्रका वडा कार्यालय, स्वास्थ्य संस्था, प्रहरी चौकी, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, बहुउद्देश्यीय भवन निर्माण तथा मर्मतको लागि आवश्यकता अनुसार गाउँपालिका, प्रदेश सरकार र संघीय सरकारहरूसँगको समन्वय र सहकार्यमा निर्माण गर्ने नीति अङ्गिकार गरिनेछ ।
  15. पालिकामा निर्माण हुने सवै घरहरु निर्माण पुर्व अनिवार्य रुपमा भवन निर्माण मापदण्ड अनुरुप नक्सापास गरेर मात्र निर्माण शुरु गर्नुपर्ने साथै साविकमा नक्सापास नगरी बनाईका घरहरुलाई पनि नक्सा निर्माण गरी घर कायम गर्ने कार्य कडाइका साथ लागु गरिने छ ।
  16. गाउँपालिका भित्रका गरीब, विपन्न, दलित, जनजाती र सिमान्तकृत समुदायका लागि जस्तापाताद्वारा छाना छाउनको लागि सुरक्षित नागरिक आवास कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
  17. भौतिक पूर्वाधार अभाव भएका विद्यालयहरूको भवन निर्माण लगायत अन्य संरचनाहरूको निर्माण कार्यलाई संघ, प्रदेश र अन्य दातृ निकायहरूसँगको सहकार्यमा निरन्तरता दिइनेछ ।
  18. गाउँपालिकाबाट निर्माण गरिने भवन लगायत भौतिक संरचनाहरू लैंगिक, बालबालिका तथा अपांगमैत्री र भूकम्प प्रतिरोधी बनाउनुका साथै भवन आचारसंहिताको पूर्ण परिपालना गरिनेछ।
  19. सडक ब्यवस्थापन तथा मर्मत सम्भार कार्यक्रम सञ्चालन गरिनेछ ।

 खानेपानी तथा सरसफाई

  1. खानेपानीमागाउँपालिकावासिमा स्वच्छ खानेपानीको पहुँच सुनिश्चितताका लागि खानेपानीको पहुँच नपुगेको घरधुरीको तथ्यांक संकलन तथा नक्सांकन गरिनेछ ।एक घर एक धारा कार्यक्रम सम्पन्न गर्नसंघीय सरकार, प्रदेश सरकार र अन्य गैर सरकारी संघसंस्थासंग समन्वय गरिनेछ ।।
  2. दिगोविकासको लक्ष्य अनुरुप सबैलाइ स्वच्छ खानेपानीको सुनिश्चितताका लागि सवै वडामा पिउनका लागि प्रयोग भैरहेको पानीको गुणस्तर जाँच गरि आवस्यकता अनुसार शुद्धिकरणको ब्यवस्था गरिनेछ ।
  3. पिउने पानी तथा सरसफाई ब्यवस्थापनको लागि सामुदायिक सहभागितालाई विशेष प्रोत्साहन गरिनेछ ।
  4. खानेपानी ब्यवस्थापनमा देखिएको समस्या यसै आर्थिक बर्षमा समाधान गर्ने गरि आयोजना तथा विशेष ब्यवस्थापन संरचना निर्माणगरिनेछ ।
  5. पालिकाभित्रको फोहोरमैला व्यवस्थापन गर्न सम्भाव्य स्थानहरु खोजिनेछ ।घर भित्रको फोहोर व्यवस्थापन गर्नका लागि कुहिने र नकुहिने फोहोर छुट्याइ कुहिने फोहोरमैलाबाट प्रांगारिक मल बनाउन जनचेतना र तालिमको व्यवस्था गरिनेछ।
  6. पोखरा महानगरपालिकाको मुख्य खानेपानीको स्रोतको रुपमा रहेको मर्दिखोलालाई आवश्यक वातावरणिय संरक्षण गर्न पोखरा महानगरपालिका¸ नेपाल खानेपानी सस्थान साथै सरोकार निकायसँग आवश्यक समन्वय गरीनेछ ।वातावरणीय सेवाको भुक्तानी सिद्धान्त अनुरुप रकम प्राप्त गर्न आवश्यक पहल गरिने छ ।

आर्थिक विकास

कृषि सेवा

  1. कृषक बर्गिकरण गरी कृषि व्यवसाय दर्ता गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
  2. बैदेशिक रोजगारीबाट फर्केर कृषि फर्म संचालन गर्नेका लागि प्रोत्साहन कार्यक्रम सञ्चालन गरिनेछ ।
  3. गाँउपालिकाका वडाहरुमा उत्पादन भएका कृषि उपजहरुलाइ एकीकृत गर्न सङ्कलन केन्द्रहरु स्थापना गरिने छ । सङ्कलन केन्द्रबाट बजारसम्म लैजानका लागि निशुल्क कृषि एम्बुलेन्सको व्यवस्था गरिनेछ ।
  4. एक गाउँ एक उत्पादनको नीतिलाई थप प्रभावकारी बनाउन कृषि अनुदान तथा विज्ञ सहायता सेवा उपलब्ध गराई कृषि पकेट क्षेत्र विस्तार गरिनेछ ।
  5. कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रीकरण, व्यवसायीकरण र बजारीकरण गरी उत्पादन र उत्पादकत्व बृद्धि गर्नको लागि यन्त्र उपकरणहरूमा दिँदै आएको अनुदानलाईनिरन्तरता गरिनेछ ।
  6. कृषकहरुको साझेदारीम स्थायी प्लाष्टिक घर निर्माण गर्न विशेष अनुदानको व्यवस्था गरिनेछ ।
  7. विपन्न¸ गरिब¸ सामाजिक रुपमा पिछडिएका साना कृषकहरु¸ एकल महिलापरिवारको आय आर्जन तथा जीविकोपार्जनमा टेवा पुर्याउन किसान उत्थान कार्यक्रम सञ्चालन गरिने छ ।
  8. पालिकास्तरमा बीउ संरक्षण र वितरण गर्नका लागि बिउ बैंक स्थापना गरिनेछ ।
  9. कृषक तथा कृषि समूहलाइ कृषि उत्पादन रोग निदान बजारीकरण बाली संरक्षण लगायतका विषयमा जानकारी दिनका लागि स्थलगत घुम्ती तालिम दिइनेछ ।
  10. सिताके च्याउ प्रबर्दन गर्नका लागि कृषकहरुलाइ बिउ तथा उपकरण वितरण गरिनेछ ।
  11. कृषि सामाग्री, उन्नत बिउ बिजन खरिद, दुग्ध सङ्कलन, घाँस खेती आदिका लागि व्यवसायिक कृषक एवम् कृषक समूहलाई समय समयमा अभिमुखीकरण एवम् विशेष अनुदान कार्यक्रम साथै कृषि बिमा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याइनेछ।
  12. एकीकृत कृषि खेती, सामूहिक तथा सहकारी खेती प्रणाली, कृषि पर्यटन, पर्या-पर्यटन तथा वातावरणमैत्री कृषि प्रणालीलाई प्रोत्साहित गरिनेछ ।
  13. सिँचाई, कृषि सडक तथा बजार पूर्वाधारहरूको विकास तथा विस्तार गदै लगिनेछ ।
  14. लोपोन्मुख बीउ-बिजन, रैथाने वाली सरक्षणका लागि महत्व दिई यसको सरक्षण र बिस्तार साथै जैविक विविधता संरक्षणमा समुदायको अग्रसरतालाई प्रोत्साहन गरिनेछ।
  15. उत्पादन वृद्धिको लागि माटोको गुणस्तर परिक्षण गरी हावापानी अनुकुलन खेती गर्न मल, बिउ र प्राविधिक सेवा उपलब्ध गराइनेछ ।
  16. निर्वाहमूखी कृषि प्रणालीको रूपान्तरण गरी व्यवसायिक र उत्पादकत्व वृद्धि मार्फत दिगो र समानजनक कृषि पेशालाई रोजगारी र आम्दानीको उपयुक्त क्षेत्रको रूपमा विकास गरिनेछ।
  17. कृषकहरुलाइ बाली रोपण गर्ने समय तालिका सहितको बाली पात्रो तयार गरिनेछ ।कृषकहरुले लगाएका बालीमा पर्न सक्ने र आउन सक्ने जोखिम, रोग लगायतका विषयमा समयमै जानकारी लिनको लागि डिजिटल कृषि परामर्श एप्स संचालनमा ल्याइनेछ ।
  18. वातावरणमैत्री कृषि कार्यक्रममा प्राकृतिक स्रोत र स्थानीय स्रोत तथा सीपको अधिकतम उपयोग गरी प्राङ्गारिक उत्पादनमा जोड दिदैँ रासायनिक मल प्रयोगलाई निरूत्साहित गर्दै लगिनेछ।
  19. सवै जातका फलफुल तरकारीका विरुवा उत्पादन गर्नका लागि बहुउद्येश्यीय नर्सरी स्थापना र सञ्चालन गरिनेछ ।
  20. पालिकाभित्र उत्पादन गरिएका बालीहरुको परिमाण र परिणामको लगत तयार गर्न बाली कटानी कार्यक्रम संचालन गरिनेछ ।
  21. सार्वजनिक महत्व लगायतका कार्यक्रममा आयातित फुलको प्रयोग नगर्ने अभियानलाई सफल पार्नका लागि फुलमालाको आयातलाई पुर्ण रुपमा निरुत्साहित गरि स्थानीय फुलमाला उत्पादन कार्यक्रमलाई प्रोत्साहन गरिनेछ ।
  22. व्यवसायीक रुपमा काम गर्ने किसानलाई गाँउपालिका स्तरीय सम्मान कार्यक्रम सञ्चालन गरिने छ । कृषिसँग सम्वन्धीत बालीहरुमा सवैभन्दा बढि उत्पादन गर्ने किसानलाई उत्कृष्ट किसानको रुपमा पुरस्कृत गरिने छ । किसानलाई उत्पादनमा आधारित अनुदान नीति अबलम्वन गरिनेछ ।

पशुपंक्षी

  1. सहकारी मार्फत दुध बिक्रि गर्ने दुग्ध उत्पादक किसानलाई उत्पादनका आधारमा प्रोत्साहित गर्न बिशेष अनुदान व्यवस्था गरिने छ ।
  2. साना व्यवसाय विस्तारका लागि एक वडा एक उत्पादनमा आधारित कार्यक्रम संचालन गरिनेछ ।
  3. हिउँदको समयमा घाँसको अभाव हुने हुँदा माछापुच्छ्रे हिमालको फेदी र मर्दी हिमालको फेदीमा उपर्युक्त घाँस तथा विरुवा रोपी पशु चरन खर्क सुधार कार्यक्रम संचालन गरिनेछ ।
  4. गाउँपालिकामा अन्तर्गतका सहकारी संस्थाहरूलाई सबल रूपमा सञ्चालन गर्न पशु बिमा कार्यक्रम सञ्चालन, बहुबर्षे भूई घाँस, पोषिलो हिउँदे घास, बहु बर्षे डाले घाँसका विरूवाहरू लगाउन आवश्यक अनुदान तथा प्रोत्साहित गरिनेछ।
  5. दुध अण्डा र मासुमा आत्मनिर्भर पालिका बनाउनका लागि गाई भैसी बाख्रा बँगुर सुगुर¸ कुखुरा पालनका लागि भौगोलिक सम्भाव्यताको आधारमा पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिने छ ।
  6. गाँउपालिका भित्र नियमित औषधि वितरण¸ महामारी बिरुद्ध खोप सेवा¸ समय समयमा पशुपक्षी स्वास्थ घुम्ती शिविर¸ बाझोपन निवारण शिविर सञ्चालन गरिनेछ ।
  7. कृषकको मागमा आधारित कृषी तथा पशुपक्षी पालन तालिम सञ्चालन गरिनेछ ।
  8. अर्गानिक उत्पादनमा जोड दिने उदेश्यका साथ गाईबस्तुको मलमुत्र सङ्कलन गर्नका लागि भकारो सुधार कार्यक्रम सञ्चालन गरिनेछ । पशुपालन व्यवसायलाई व्यवसायिक र व्यवस्थित बनाउन गोठ र खोर सुधार कार्यक्रम सञ्चालन गरिनेछ ।

पर्यटन तथा संस्कृति

  1. समृद्ध माछापुच्छ्रेको प्रमुख आधारको रूपमा रहेको पर्यटन क्षेत्रलाईपहिचान¸ विकास तथा विस्तारको लागि गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रहरूको लागि आवश्यक पूर्वाधारहरूको निर्माण गर्ने कार्यलाई संघ र प्रदेश सरकारसँगको समन्वयमा गरिनेछ।
  2. गाउँपालिका भित्रका पर्यटकीय स्थलहरू, प्राकृतिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक पक्षहरूको प्रचार-प्रसार, संरक्षण तथा प्रवर्द्धन गरिनेछ ।
  3. पर्यटनलाई स्थानीय आय आर्जनको माध्यम बनाउने उदेश्यले गाउँपालिकामा दर्ता भई सञ्चालनमा रहेका होमस्टेव्यस्थित बनाउन होमस्टे प्रबर्दन कार्यक्रम संचालन गरिनेछ ।
  4. साहसिक पर्यटनका सम्भावित क्षेत्रहरू जस्तै, रक क्लाइमिङ्, जिप फ्लायर, क्यानोनिङ्ग, हनिहन्टिङ्ग, प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गरी आवश्यक पूर्वाधारको विकास तथा विस्तारगरिनेछ।
  5. गाउँपालिका भित्रका पर्यटकीयस्थलहरुको पहिचान नक्सांकन सरक्षण तथा पूर्वाधार विकासमा जोड दिइनेछ।
  6. पालिकाभित्र विभिन्न स्थानमा रहेका सार्वजनिक स्थानहरुमा पार्कहरु निर्माण गरिनेछ ।
  7. पालिकाभित्र रहेका पर्यटकीय पदमार्गहरुको स्तरोन्नती तथा प्रबर्दन मूलक कार्यक्रम संचालन गरिनेछ ।
  8. दलित आदिवासी जनजातीको भाषा सस्कृति र सम्पदाको सरक्षण गर्दै उनिहरुको कला सस्कृति प्रदर्शन गरी पर्यटकहरुलाई आकर्षित गर्ने नीति लिइनेछ ।

सहकारी

  1. सहकारी संस्थाहरू मार्फत वित्तीय साक्षरता, सहकारी शिक्षा, तालिम र क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गरिनेछ।
  2. पालिकाका कृषि सहकारी दुग्ध सहकारी हरुको प्रबर्दन गर्नका लागि आवश्यक पूर्वाधारमा बजेट व्यवस्थापन गरिनेछ ।
  3. दुग्ध सहकारी मार्फत दुग्ध जन्य परिकारहरु उत्पादन गर्नका लागि आवश्यक बजेटको व्यवस्था गरिनेछ ।
  4. सहकारीमा आवद्ध गरिब, विपन्न, आदिवासी जनजाती तथा अपांगता भएका व्यक्ति र महिला सहकारी संस्थालाई लक्षित गरी विशेष कार्यक्रम सञ्चालन गरिनेछ । सहकारी संस्थाहरूको नियमित अनुगमन र नियमन गरी संस्थागत सुशासन कायम गरिनेछ।

उद्योग

  1. स्थानीय वन पैदावर, प्राकृतिक स्रोत साधन, जडिबुटी, अल्लोमा आधारित उद्योगहरु गाउँपालिका तथा स्थानीयसँग साझेदारीमा स्थापना गर्न लगानी मैत्री वातावरणको व्यवस्था गरिनेछ ।
  2. स्थानीय प्रशासन एवमं सुरक्षा निकायको समन्वयमा कालो बजारी, एकाधिकार, तथा कार्टेलिङ अन्त्य गर्ने तथा गुणस्तरीय र नियमित आपूर्ति सुनिश्चित गर्न संयुक्त बजार अनुगमन कार्यक्रम सञ्चालन गरी उपभोक्ता अधिकार संरक्षण गरिनेछ ।

खानी तथा खनीज पदार्थ

  1. नीजि जग्गाहरूमा रहेका ढुङ्गा, गिट्टि, माटो र बालुवाको उत्खनन् र बिक्रि वितरणका लाई व्यवस्थीत गरिनेछ ।
  2. गाउँपालिका क्षेत्र भित्र रहेका विभिन्न ढुङ्गा खानीहरू र नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टि, माटो र बालुवा) को वातावरणीय प्रभाव मूल्यांकन गरी खानी सञ्चालन गर्ने प्रक्रिया अगाडी बढाइने छ ।
  3. प्राकृतिक स्रोत साधन प्रयोग तथा सम्भाबनाहरुको उपयोग र प्रयोग साथै पर्यटकीय प्रवद्धन गर्ने सम्बन्धमा राष्ट्रिय प्रकृति संरक्षण कोष सँग आबश्यक समन्वय गरिनेछ ।

जलस्रोत तथा उर्जा

  1. गाउँपालिकाभित्र रहेका सेती र मर्दी खोलाबाट सम्भावित उर्जा उत्पादन क्षमतालई सदुपयोग गर्न सार्वजनिक तथा निजी क्षेत्रलाई लगानी मैत्री वातावरण नीति अवलम्वन गरिनेछ।
  2. लघु तथा साना जलविद्युत, सौर्य उर्जा, जैविक उर्जा, वायु उर्जा जस्ता वैकल्पिक उर्जाको उपयोगको प्रवर्द्धन, विकास एवम् विस्तारको लागि आवश्यक समन्वय सहकार्यको नीति लिइनेछ ।
  3. गाउँपालिकाभित्र विद्युतको पहुँच नपुगेका जनताहरूमा विद्युतीय पहुँच सुनिश्चितताको लागि संघीय सरकार, प्रदेश सरकार र नेपाल विद्युत प्राधिकरणसँगको सहकार्य र समन्वय गर्ने नीति लिइनेछ।

सुशासन

  1. स्थानीय सरकारको सक्षमता एवं संस्थागत विकासका लागि आवश्यक थप कानून तथा कार्यविधि एवं मौजुदा कानूनको प्रभावकारी कार्यान्वयन गरि सक्षम संस्थाको रुपमा स्थापित गरिनेछ ।
  2. पालिकाको समग्र विकास र क्षेत्रगत विकासमा विज्ञहरुको राय परामर्शलाई अंगिकर गदै विज्ञ परामर्श कार्यशाला आवश्यकता अनुसार संचालन गरिनेछ ।
  3. पालिकाका पदाधिकारीहरुतथा विभिन्न विषयगत समिति र पालकिास्तरीय समितिहरुको क्षमता विकास कार्यक्रम सञ्चालन गरिनेछ ।
  4. कर्मचारीहरुको कार्यक्षमताको आधारमा पुरस्कार तथा दण्डको ब्यवस्था गरि हरेक जनशक्तिको विशेष कार्यविवरण प्रणाली विकास गरिनेछ ।
  5. जनप्रतीनिधि कर्मचारीहरु र शिक्षकहरुको क्षमता विकास तथा अनुभव असल अभ्यास आदानप्रदान गर्न अन्य स्थानीय तह संग अनुभव आदान प्रदान कार्यक्रम तथा भ्रमण अवलोकनका कार्यक्रम सञ्चालन गरिनेछ ।
  6. अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत, अन्य कार्यपालिका पदाधिकारी एवं प्रमुख प्रशासकीय अधिकृत र माताहतका कर्मचारीहरु विच कार्य सम्पादन सम्झौता गरि कार्य क्षमताको आधारमा उचित प्रोत्साहन, सम्मान तथा पुरस्कारको ब्यवस्था गरिनेछ ।
  7. गाउँपालिकाका सम्पूर्ण वडाकार्यालयहरूबाट अन्लाईन व्यक्तिगत घटना दर्ता कार्यान्वयनमा पुर्ण रुपमा कार्यान्वन गर्ने नीति लिइनेछ ।
  8. सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई थप व्यवस्थीत बनाउन वडा वडामा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरी आवश्यक व्यवस्था मिलाइने छ ।
  9. गाउँपालिकाभित्रका सबै वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू र सबै माध्यमिकविद्यालय आधारभुत विद्यालय हरुमा इन्टरनेट सेवा विस्तार गरिनेछ ।
  10. पालिका भित्रका कम्तिमा १० स्थानहरुलाइ फ्रि बाईफाइ जोन बनाइनेछ ।
  11. कर्मचारी प्रशासनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी, भष्टाचारमुक्त, जनमुखी र सहभागतितामूलक बनाइनेछ ।
  12. गाउँपालिकाबाट प्रदान गरिने सेवा सुविधालाई छिटो, छरितो, प्रभावकारी र प्रविधिमैत्रि बनाइने छ ।
  13. नागरिकहरुलाइ सेवा प्रवाहमा सहजताका लागि नागरिक सहायता कक्षा संचालन गरिनेछ ।
  14. जवाफदेही, व्यवसायिक र सक्षम प्रशासन मार्फत सार्वजनिक सेवाप्रतिको जनविश्वास अभिवृद्ध गर्ने र विकासलाई नतिजामुखी बनाइनेछ ।
  15. गाउँपालिका अन्तर्गत सञ्चालित योजना, सेवाप्रवाह सम्बन्धमा सरोकारवालहरूसँग बार्षिक रूपमा सार्वजनिक परीक्षण सामाजिक परीक्षणको व्यवस्था मिलाईनेछ। चैमासिक रूपमा सार्वजनिक सुनुवाई गर्ने व्यवस्था गरिनेछ ।
  16. गाउँपालिकाबाट सञ्चालन हुने योजनाहरूको ठेक्कापट्टा विद्युतीय बोलपत्र मार्फत गरिने र सोको दायरालाई विस्तार गरिनेछ ।
  17. गाउँपालिकाको सार्वजनिक आय/व्यय र खरिद प्रक्रियालाई प्रभावकारी, व्यवस्थित र पारदर्शी बनाइनेछ ।
  18. राजश्व संकलन र परिचालनलाई पारदर्शिता र प्रभावकारी बनाइनेछ।
  19. गाउँपालिका मार्फत प्रवाह गरिने सेवाहरूमा घुम्ती सेवा प्रवाह प्रणालीको दिइनेछ ।
  20. पालिकाभित्र हुन सक्ने आपराधिक क्रियाकलाप घटना लगायतका विषयहरुमा हुन सक्ने र भएका गतिविधिहरुलाइ आंकलन गर्न तथा थाहा पाउनका लागि पालिकाका विभिन्न स्थानमा सीसी टीभी जडान गरिनेछ ।
  21. पालिकाको समग्र क्षेत्रहरुको तथ्यांक संकलन अभिलेखिकरण र व्यवस्थापन गर्नका लागि डिजिटल भिलेज प्रोफाइल तयार गरिनेछ ।
  22. पालिकाका विभिन्न एतिहासिक सांस्कृतिक धार्मिक पर्यटकीय आर्थिक लगायत सम्पुर्ण क्षेत्रका अवस्था र सम्भाव्यता पहिचान गर्न अनुसन्धान र अन्वेषण गरिनेछ।
  23. गाउँपालिकाको गत आर्थिक बर्षको अन्तिम लेखापरीक्षण प्रतिवेदनले औल्याएका बेरूजु फर्छ्यौट गरिने र दिएका सुझाव एवम् मार्गदर्शनलाई मनन् गरी वित्तीय अनुशासन कायम गरिनेछ।
  24. न्यायिक समितिको काम कारवाहीलाई प्रभावकारी बनाउन व्यवस्थित न्यायिक इजलासको व्यवस्थापन गरिनेछ ।
  25. गाउँघरका विवाद स्थानीय स्तरमै समाधान गर्नको लागि गठित वडा मेलमिलाप केन्द्रहरूको कार्यलाई प्रभावकारी तथा व्यवस्थित गरिनेछ ।
  26. नागरिकलाइ सेवा प्रवाहका विषयमा सुसुचित गराउनका लागि प्रत्यक वडा कार्यालयहरुमा विद्युतीय नागरिक बडापत्र जडान गरिनेछ ।
  27. गाउँपालिकाको आन्तरिक स्रोत साधनहरूको प्रभावकारी परिचालन गर्न प्रगतिशील कर प्रणालीको विकास, सक्षम कर प्रशासनको निर्माण, करका दायरा र क्षेत्र विस्तार र राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाइनेछ।
  28. पालिकाबाट सम्पादन गरिने सम्पूर्ण आर्थिक कारोवारहरु EFT- Electronic Fund Transfer (विद्युतीय भुक्तानीप्रणाली) मार्फत भुक्तानी गरिनेछ ।
  29. नागरिकलाई सहज रुपमा राजश्व तिर्नका लागि विद्युतिय राजश्व प्रणाली सञ्चालन गरिने छ ।
  30. पालिकाभित्र संचालनमा आएका व्यापार व्यवसायहरुमा हुन सक्ने उच्च मूल्य, समय गुर्जेका सामग्री गुणस्तरहिन बस्तु तथा सामग्री हरुलाइ समयसमयमा बजार अनुगमन गर्ने नीति लिइएको छ ।

गैर सरकारी संस्था

  1. गाउँपालिकाभित्र क्रियाशील गैर सरकारी संस्थाहरूलाई गाउँपालिकाको विकास लक्ष्य तथा प्राथमिकता प्राप्त क्षेत्रमा कार्यक्रम सञ्चालन गरी गरिवी निवारण, क्षमता अभिवृद्धि, नागरिक सचेतना तथा कर्तव्यवोध र सशक्तिकरणमा जोड दिइनेछ ।
  2. गैर सरकारी संस्थाहरूका कार्यक्रमहरूलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने व्यवस्था गरिनेछ ।

वन, वातावरण तथा विपद् व्यवस्थापन

  1. माहामारीको रूपमा फैलिनसक्नेरोग गाउँपालिका भित्र रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्न साथै बेला बेला हुने प्राकृतिक विपदलाई व्यवस्थापन गर्न प्रकोष व्यवस्थापन कोषलाई निरन्तरता दिइनेछ ।
  2. प्रकोप व्यवस्थापन कोषमा पर्याप्त बजेटको व्यवस्था गरी कार्यविधि अनुरुपका विपद प्रतिकार्यका पूर्वतयारी, खोज, उद्धार, राहत र पुर्नस्थापना गरिनेछ । विभिन्न संघ संस्थाहरुलाई सहयोगको लागि आह्वान गरी एकद्वार प्रणालीबाट सहयोग वितरण गरिनेछ ।
  3. अन्नपुर्ण संरक्षण क्षेत्र, सामुदायीक वन समूहहरु, नीजि तथा कबुलियती वन समूह तथा समुदाय र अन्य निकाय तथा संघसंस्था संग सहकार्य गरि वातारण संरक्षण गर्ने नीति लिइनेछ। स्थानीय खोला, नदीहरूको नियन्त्रण, पहिरो रोकथाम र भू-क्षय न्युनीकरण कार्यलाई सञ्चालन गरिने छ ।
  4. सडक छेउछाउ बजार क्षेत्र सार्वजनिक क्षेत्र लगायतमा हरियाली प्रवर्धन गर्न पालकिाबासी तथा टोल विकास संस्थाहरु संगको सहकार्य मा हरियाली अभियान गरिने छ ।
  5. नदी वहाव तथा वातावरणमा प्रतिकुल प्रभाव नपर्ने गरि नदीजन्य पदार्थहरुको प्रयोग गर्न प्रारम्भीक वातावरणीय सर्वेक्षण गरि सिफारिश गरिएको मात्रामा मात्र प्रयोग गर्ने ब्यवस्था मिलाइनेछ ।
  6. पालिकाबाट विनियोजन हुने बजेट तथा हरेक कार्यक्रमलाई वातावरण अनुकुल हुने गरि सञ्चालन गरि जलवायु परिवर्तनको असर न्युनिकरण गर्न विशेष सतर्कता अपनाइनेछ ।
  7. पालिकाबाट सञ्चालन हुने ठूला आयोजनाहरुमा अनिवार्य रुपमा वातावरण प्रभाव मुल्यांकन गर्ने ब्यवस्था गरिनेछ ।
  8. जलवायु परिवर्तनको असर र न्युनिकरणका उपायबारे जनस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
  9. गाउँपालिकालाई वातावरणमैत्री गाउँको रुपमा स्थापित गर्न वातावरणमैत्री स्थानीय शासन कार्यक्रम लागू गरिनेछ ।
  10. विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सार्वजनिक, निजी, गैरसरकारी, सहकारी र समुदायबीच साझेदारी र सहकार्य गरिनेछ।
  11. विपद् जोखिम क्षेत्रको नक्साङ्कन तथा बस्तीहरूको पहिचान र स्थानान्तरण गरिनेछ ।
  12. विपद् जोखिम न्यूनीकरणमा सार्वजनिक तथा निजी लगानी वृद्धि गरी उत्थानशीलता अभिवृद्धि गरिनेछ ।
  13. गाउँपालिका अन्तर्गतका पुरातात्विक महत्वका मठ, मन्दिर, पाटी, पौवा, कुवा, पोखरी, चौतारी, विश्राम स्थलहरु र त्यसको महत्वसँग जोडिएका रुख बिरुवाहरुको संरक्षण गरी पार्क,विद्यालय,स्वास्थ्य चौकी एवमं सार्वजनिक स्थलहरुमा हरियाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ ।
  14. माछापुच्छे गाउपालिका भित्र सञ्चालन भएका क्रसर उद्योगलाई नीति नियम र कानूनी परिधी भित्र ल्याउनका लागि सम्वन्धी निकायमा आवश्यक पहल गरिनेछ ।

कलासहित्य र संस्कृति

  1. सांस्कृतिक विविधताको संरक्षण तथा प्रवर्धन गर्न आवस्यक कार्यक्रम सञ्चालन गरिनेछ ।
  2. विभिन्न जातिका धर्म, संस्कृति रितिरिवाज तथा परम्पराको संरक्षण गर्न ती संस्था तथा सम्प्रदायको मागमा आधारित प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गरिनेछ ।
  3. पालकिा भित्र कियाशिल साहित्यीक संस्था, कलाकर्मीहरुको संस्था तथा साहित्यकार र कलाकारहरुलाई आवस्यक सहयोग, प्रोत्साहन र सम्मान गरिनेछ ।
  4. कला साहित्य र संस्कृतिलाई पर्यटन संग जोडी आर्थिक विकास गर्न सम्भाब्य क्रियाकलापहरु सञ्चालन गरिनेछ ।
  5. कलाकार तथा साहित्यकारहरुको प्रस्तुतिकरणमा निखारता ल्याउन तालिम, अभ्यास तथा क्षमता विकास कार्यक्रममा आवस्यक सहयोग गरिनेछ ।
  6. गाउँपालिका भित्रका कला संस्कृति परमपरा संरक्षणका लागि स्नातकोत्तर र विद्यावारिधीमा शोधकार्य गर्ने विद्यार्थीलाई आवस्यक शोध खर्च उपलब्ध गराइनेछ।

 आदरणीय सभा सदस्यज्यूहरू

अन्तमा,प्रस्तावित नीति तथा कार्यक्रमको सफल कार्यान्वयनबाट भौतिक, आर्थिक, सामाजिक र संस्थागत विकासमा ठोस उपलब्धी हासिल भई गाउँपालिकाले लिएको “पर्यटन, कृषि, उर्जा र पूर्वाधार: समृद्ध माछापुच्छ्रेको मूल आधार” को लक्ष्य पुरा गर्न र जनताको जीवनस्तरमा सुधार ल्याउन पक्कै योगदान पुग्नेछ भन्ने विश्वास लिएको छु ।

हामीले गाउँपालिका विकास अभियान र सेवा प्रवाहलाई प्रभावकारी ढगबाट अघि बढी रहेका छौ । सिमीत साधन र श्रोतका बावजुत हामीले  सोचेका, नागरिक माझ प्रविद्धता गरेका वाचाहरु र पालिका बासीले रोजेको र खोजेको विकास गर्न अग्रणी भुमिका खेली समृद्धि माछापुच्छे बनाइने अभियान इमान्दारका साथ हुने विषय पनि यहाँहरु माझ व्यक्त गर्न चाहन्छु।  योजना वद्ध रुपमा विकास हुने र गर्ने कुरा पनि विश्वास तपाइहरुका सामु ब्यक्त गर्न चाहन्छु । मानव अधिकार, कानुनी शासन, पारदर्शिता, जवाफदेहीता, उतदायित्व र शुसासनको मर्म र भावना,  विधि र प्रक्रियाको परिधि भित्र रहि समृद्ध माछापुच्छेको सपना साकार पार्न हाम्रो अथक प्रयास जारी रहने छ ।

नीति तथा कार्यक्रम तयार पार्न आफ्नो महत्त्वपूर्ण राय, सल्लाह, सुझाव प्रदान गर्नुहुने तथा सहयोग र सक्रियताका साथ लाग्नुहुने गाउँ कार्यपालिकाका उपाध्यक्षाज्यु प्रमुख प्रशासकीय अधिकृतज्यु कार्यपालिका सदस्यज्यूहरू, गाउँसभाका सम्पूर्ण सदस्यज्यूहरू, गाउँपालिकामा क्रियाशील राजनीतिक दलहरू, नागरिक समाजका प्रतिनिधि, गाउँपालिकाका कर्मचारीहरू, शिक्षक, सञ्चारकर्मी, सामाजिक संघ संस्था र समाजसेवीहरू सबैमा हार्दिक आभार प्रकट गर्दै हामीलाई यस कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा मार्गदर्शन गरी उत्प्रेरित गर्नुहुने गाउँपालिकावासीहरू प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु।

गाउँपालिकाको नीति तथा कार्यक्रमको सफल कार्यान्वयनका लागि सम्पूर्ण सुभेच्छुकहरुको सदभाव, सहभागिता र सहयोग आवश्यक छ । सवै पक्षको रचनात्मक र सकरात्मक सहयोगबाट हामी जननिर्वाचित प्रतिनीधिहरुको कार्यकाल सार्थक सिद्ध हुने कुरामा विश्वस्त हुँदै निरन्तर सहयोगका लागि तपाईँ सवैमा हार्दिक आभार प्रकट गर्दछु ।

अध्यक्ष

मिन बहादुर गुरुङ्ग

माछापुच्छ्रे गाउँपालिका, कास्की

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.