www.tandavnews.com
Fact ~ In search of truth

ठगीजन्य कार्यबाट बच्न सिआइबीको अनुरोध

काठमाडौँ ।

प्रहरीले पछिल्लो समयमा सामाजिक सञ्जाल तथा विभिन्न माध्यम प्रयोग गरी प्रलोभन दिएर ठगी गर्ने कार्य बढिरहेको भन्दै त्यसतर्फ सचेत हुन नागरिकमा अनुरोध गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले सूचना जारी गरी त्यस्ता गतिविधि भइरहेको जानकारी आएमा सूचना दिनसमेत अनुरेध गरेको छ ।

Batas

पछिल्लो समय नेपालमा अवैध ऋण लगानी (मिटर ब्याज) गरी दिएको रकमको धेरै गुणा रकम तिरिसक्दासमेत तमसुक, चेक वा दृष्टीबन्धक जग्गा फिर्ता नदिई उठीवास गराउने गरेको, वैदेशिक रोजगारीको प्रलोभन, फोन, मेल र सामाजिक सञ्जालको दुरुपयोग गरी वा सामाजिक सञ्जालमा साथी बनाई चिठ्ठा, उपहारका नाममा ठगी, सस्तो मुल्यमा सामान पठाई दिने भनी ठगी गर्नेजस्ता घटना देखिएको व्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताए ।

यस्तै विदेशी नागरिकको आवरणमा आकर्षक गन्तव्यमा पठाई दिने, विवाह गर्ने, व्यापारिक साझेदार बनाउने वा सामाज सेवाका नाममा डलरले भरिएका बाक्साका फोटो देखाई एवं झुठा श्रव्य दृष्य सामग्रीसमेत पठाई भ्रममा पारी ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

त्यसैगरी नजिकका व्यक्ति बनी आकस्मिकरुपमा फोनका माध्यमबाट पैसा मागी ठगी गर्ने, मोबाइल बैंकिङका पासवर्ड र बैंकका विवरण मागी रकम झिक्ने, सामाजिक सञ्जालमा भिडियो कल गरी अश्लिल फोटो तथा भिडियो लिई अपलोड गरिदिने धम्कि दिई आपराधिक लाभ लिने, नेपालीको बैंक खातामा अवैध रकम जम्मा गर्न लगाई हुण्डीमार्फत विदेशमा पठाउन लगाउने वा नचिनेका व्यक्तिलाई पैसा दिन लगाई आपराधिक कार्यमा संलग्न गराउने कार्य भएको भनी प्रहरीमा उजुरीसमेत परेको छ ।

नेपालमा क्रिप्टोकरेन्सी तथा डिजिटल नेटवर्किङ आदिबाट धेरै गुणा प्रतिफल दिने भनी प्रलोभनमा पारी ठगी गर्ने कार्यसमेत देखिएको जनाउँदै व्यूरोले यस्ता अवाञ्छित कार्यका सम्बन्धमा सचेतना बढाई सजगता अपनाउन र ठगीबाट बच्न अनुरोध गरेको छ ।

जाहेरी प्राप्त भएको अवस्थामा प्रहरीद्वारा कसुरदारमाथि अनुसन्धान गरी कानुनबमोजिम कडाइका साथ कारबाही भइरहेको छ । यस्तै घटनामा संलग्न नवलपरासीका सुनिलकुमार गुप्ता र जगदिश कानुलाई पक्राउ गरी अनुसन्धान जारी रहेको व्यूरोले जनाएको छ ।

रासस
–––

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.