www.tandavnews.com
Fact ~ In search of truth
Mulberry

आम्दानीको स्रोत बन्दै अकबरे खुर्सानी

hima aus

भोजपुर।

classic tech

व्यावसायिक अकबरे (डल्ले) खुर्सानी खेती भोजपुरका कृषकको रोजाइमा परेको छ । बजारमा माग राम्रो भए पछि खुर्सानी खेतीमा कृषकको आकर्षण बढेको हो ।

यहाँका विभिन्न ठाउँमा कृषकले व्यावसायिकरुपमा अकबरे खुर्सानीको खेती गरिरहेका छन् । भोजपुर नगरपालिकाको बोखिम, दावाँ, भैँसीपङ्खा, पोखरे र रामप्रसाद राई गाउँपालिकाको दलगाउँ, भुल्के, टेम्केमैयुङ गाउँपालिकाको, खावा, कोट, गोगने लेखर्क, अन्नपूर्ण नागीलगायत ठाउँमा खुर्सानीको खेती हुने गरेको छ ।

त्यस्तै षडानन्द नगरपालिका, अरुण, हतुवागढी, आमचोक, साल्पासिलिछो गाउँपालिकाको विभिन्न ठाउँमा पनि खुर्सानीको खेती हुने गरेको छ । यहाँको ७१९ हेक्टर जमिन खुर्सानीको उत्पादनशील क्षेत्र रहेको कृषि ज्ञानकेन्द्र भोजपुरले जनाएको छ । अहिले ५९० हेक्टर क्षेत्रमा यसको खेती भइरहेको केन्द्रको भनाइ छ । विशेष गरेर जिल्लाको पौवादुङमा गाउँपालिकाले यसको पकेट क्षेत्र निर्धारण गरेर कृषकलाई यसको खेतीमा प्रोत्साहन गरेको छ ।

गएको याममा गाउँपालिकामा खुर्सानी बिक्रीबाट रु छ करोड ५० लाख बढी रकम भित्रिएको गाउँपालिकाका कृषि शाखा प्रमुख बर्तेन्द्र राईले बताए । प्रमुख राईले भने, ‘‘हाम्रो गाउँपालिकाको निकै राम्रो आम्दानीको स्रोतका रुपमा अकबरे लिएका छौँ । गएको याममा गाउँपालिकामा रु छ करोड ५० लाख रकम खुर्सानी बिक्रीबाट भित्रिएको छ ।” गत वर्ष तीन रोपनीमा खेती हुँदै आएकामा त्यसमा वृद्धि भएर अहिले चार हजार पाँच रोपनी क्षेत्रमा अकबरे खुर्सानीको खेती भइरहेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।

खुर्सानी खेती गर्न इच्छुक कृषकलाई गाउँपालिकाले अनुदानसँगै प्राविधिक सहयोगसमेत गर्दै आएको छ । गाउँपालिकामा गएको याममा तीन लाख ५० हजार किलोग्रामको हाराहारीमा खुर्सानी उत्पादन भएको गाउँपालिकाको भनाइ छ । खेतीमा विस्तार भएकाले यस वर्ष उत्पादनमा अझ वृद्धि हुने गाउँपालिका शाखा प्रमुख राईले जानकारी दिए । राईले भने, “हामीले यहाँ खुर्सानीको पकेट क्षेत्र नै छुट्याएर खेतीमा लगानी गरेका छौँ । गाउँपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गरेपछि कृषकमा थप उत्साह थपिएको छ । यस याममा एक हजार ५०० बढी क्षेत्रमा थप विस्तार भएको छ । विगतको याममा भन्दा यस वर्ष उत्पादनमा समेत वृद्धि हुने देखिन्छ ।”

खुर्सानी सबै खालको हावापानी भएको ठाउँ र बलौटे दोमट माटोमा उपयुक्त हुने प्राविधिकको भनाइ छ । खुर्सानीको खेती पहाडी क्षेत्रमा सामान्यतया गर्मी याममा र तराई क्षेत्रमा हिउँदको समयमा गर्ने गरिन्छ । नेपालका प्रायःसबै भूभागमा अकबरे खुर्सानीको खेती हुने भए तापनि अकबरे खुर्सानी भोजपुरलगायत पहाडी जिल्लामा राम्रो उत्पादन हुने गरेको यहाँका कृषि प्राविधिकको भनाइ छ ।

गाउँपालिकाभित्रका १५० जना बढी कृषकले यसको व्यावसायिक खेती गर्दै आएका छन् । आलो खुर्सानी उत्पादनको सुरुको चरणमा रु ३५० देखि ४०० सम्म र धेरै उत्पादन भएपछि रु १५० देखि २५० सम्ममा बिक्री हुने स्थानीय कृषकको भनाइ छ । किसानले उत्पादन गरेको खुर्सानी ठेकेदारले घरमा नै आएर लैजाने गरेका छन् । यहाँको खुर्सानी, धरान, विराटनगर, झापा, काठमाडौँलगायत ठाउँमा निर्यात हुने गरेको छ । गाउँपालिकाले कृषिमा प्रोत्साहनमूलक कार्यक्रम ल्याएपछि खेती विस्तारमा ऊर्जा मिलेको कृषक निराजन श्रेष्ठले बताए । कृषक श्रेष्ठले भने, “खुर्सानी खेतीबाट राम्रो आम्दानी गरिरहेको छु । उत्पादन भएको खुर्सानी किन्न ठेकेदार घरमै आउँछन् । पछिल्लो समय अलि खुर्सानीमा जरा कुहिने रोगले सताएको छ । गाउँपालिकाको तर्फबाट राम्रो प्राविधिक सहयोग पाएका छौँ ।” अकबरे खुर्सानी गर्मी र न्यानो मौसममा हुने बाली हो ।

तुसारो नपर्ने र न्यूनतम तामक्रम पाँच डिग्री सेल्सियसभन्दा तल नजाने ठाउँमा हिउँदे बालीका रुपमा खेती गरिन्छ । १८ डिग्री सेल्सियसदेखि ३२ डिग्री सेल्सियसको बीचको तामक्रममा खुर्सानीको वृद्धि र विकास राम्रो हुने कृषि प्राविधिको भनाइ छ । यस्तो हावापानीमा खुर्सानी खेती गरिएको खण्डमा यसबाट राम्रो आम्दानी लिन सकिन्छ । गाउँपालिका खुर्सानी, अण्डा तथा तरकारीमा आत्मनिर्भर रहेको गाउँपालिकाले जनाएको छ ।

कृषिबाट नै कृषकको आर्थिक अवस्थामा सुधार ल्याउने लक्ष्यले यस क्षेत्रमा लगानी बढाएको गाउँपालिकाको भनाइ छ । छ वडा रहेको गाउँपालिकाको भूगोललाई यसको विशेषताका आधारमा छुट्याएर माटो र हावापानी सुदाउँदो खेती लगाउनका लागि प्रोत्साहनमूलक कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । अध्यक्ष राईले भने, “हामीले दूरदर्शी योजनाका साथ कृषिसँगै भौतिक तथा शैक्षिक क्षेत्रमा लगानी गरिरहेका छौँ । हामीले यहाँको कुन ठाउँमा कस्तो बाली खेती गर्न सकिन्छ भनेर पकेट क्षेत्र निर्धारण गरेका छौँ । यसैको आधारमा लगानी गछौँ । अहिले आएर कृषकहरुले निकै राम्रो आम्दानी लिदै आएका छन् ।”

गाउँपालिकाले वडा नं ३ च्याङ्ग्रे, वडा नं ४ बास्तिम, वडा नं ५ सानोदुम्मा, वडा नं ६ ठूलोदुम्मामा अकबरे खुर्सानी, मौरीपालन र एभोगाडोको खेतीको पकेट क्षेत्र निर्धारण गरिएको छ । त्यस्तै वडा नं २ तिवारी भञ्ज्याङको सडकभन्दा माथिदेखि वडा नं १ श्यामसिलाको वडा कार्यालयमुनिको भूगोललाई आलु, बन्दाकोबी र काउलीको खेतीको पकेट क्षेत्रका रुपमा विकास गर्ने योजनाका साथ काम गरिरहेको छ ।

वडा नं १ श्यामशिलाको माथिल्लो भेगमा किवी खेतीको पकेट क्षेत्र निर्धारण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भने, “हामीले कृषिमा प्राथमिकताका साथ काम गरिरहेका छौँ । त्यसको परिणाम पनि देखिन थालेको छ । हालको गाउँपालिकाको राम्रो आम्दानीको स्रोतका रुपमा खुर्सानीलाई लिन सकिन्छ । कृषिका अन्य क्षेत्रमा पनि काम भइरहेको छ । श्यामशिला क्षेत्रमा गाउँपालिकाको आर्थिक सहयोगमा कृषकहरुले व्यावसायिकरुपमा किवी खेती गरिरहेका छन् । किबीको बिक्रीबाट अबको केही वर्षमा राम्रो आम्दानी भित्रिन्छ ।”

पूर्वी पहाडी जिल्ला भोजपुर धनकुटा, सङ्खुुवासभा, इलाम, तेह्रथुमलगायतका जिल्लामा यसको उत्पादन धेरै हुने गर्छ । खुर्सानी डल्ले, अकबरे, जिरे आदि धेरैथरिका हुन्छन् । अकबरे खुर्सानी असाध्यै मीठोे र लोकप्रिय खुर्सानी मानिन्छ । बजारमा अन्य खुर्सानीको तुलनामा अकबरे खुर्सानीको माग धेरै रहेको व्यवसायीको भनाइ छ । दुई/तीनपटक राम्रोसँग खनजोत गरी डल्ला फुटाएर झारपात केलाएर जमिन तयार गर्नुपर्छ । बेमौसमी उत्पादनका लागि भने वर्षाको मौसममा खेती गरिने भएकाले वर्षाको पानीबाट यसलाई जोगाउन र गुणस्तरीय उत्पादनको लागि प्लाष्टिकको छानो आवश्यकपर्ने किसानको भनाइ छ ।

एक रोपनीका लागि ५० देखि ७५ ग्रामसम्म खुर्सानीको बीउको आवश्यकता पर्दछ । उच्च पहाडमा फागुन/चैत्रमा बीउ राख्ने, चैत्र/वैशाखमा बेर्ना सार्ने र असारदेखि भदौसम्म बाली लिन कृषक बताउँछन् । वर्षाको चिस्यानबाट जोगाउन जमिनको सतहभन्दा ३० सेन्टिमिटर अग्लो ब्याड बनाउनु उपयुक्त मानिन्छ । खुर्सानी खेतीको लागि थोपा सिँचाइ प्रविधि अपनाउनु राम्रो हुन्छ । हिँउदमा धेरै सुख्खा भएमा खुर्सानीको बोट मर्ने भएको हुनाले यस समयमा विशेष ध्यान पु¥याएर समयसमयमा सिँचाइ गर्नुपर्छ । खुर्सानीको बेर्ना प्रतिरोपनी दुई हजारदेखि तीन हजार गोटासम्म आवश्यक रोप्न सकिन्छ ।

जरा र पात धेरै भएको र स्वस्थ बिरुवा छानेर साँझपख रोप्दा बिरुवा बचाउन सहज हुने कृषकको अनुभव छ । बेर्ना सारेपछि पाँच/सात दिनसम्म बिरुवालाई पानीको आवश्यकता पर्दछ । कृषकले बिरुवा रोप्नुभन्दा १०/१५ दिन पहिले खाल्डो खनेर जमिन तयार गर्ने र यस्तो खाल्डोमा गोबर मललाई माटोसँग मिसाएर हाल्ने गर्दछन् । खाल्डो भर्ने र मल दिएपछि माटो सुख्खा छ भने हल्का सिँचाइ गर्नुपर्छ । बिरुवा रापेको ३५/४० दिनको फरकमा बोटको वरिपरि कुलेसो बनाई मल दिएर त्यसलाई माटोले पुरेर सिँचाइ गर्दा अझ राम्रो हुने कृषकले बताउने गरेका छन् ।

अकबरे खुर्सानीको बेर्ना सारेको ८०/९० दिनमा पहिलो फल टिप्न तयार हुन्छ । एक मौसममा १० पटकसम्म फल टिप्न सकिने प्राविधिकको भनाइ छ । अरु खुसार्नीको तुलनामा अकबरे खुर्सानीलाई स्वास्थ्यका लागि लाभदायक मानिन्छ । अकबरे खुर्सानीले रगतमा चिनीको मात्रा घटाउनुका साथै यसले हाडजोर्नीलगायतका दुखाई पनि कम गर्ने स्वास्थ्यकमीले बताउने गरेका छन् । यो खुर्सानीले खाना रुचाउने स्थानीयवासीको भनाइ छ । अकबरे खुर्सानी प्रयोग गरेर बनाइएको परिकारमा किटाणुको सङ्क्रमण कम हुन्छ भन्ने गरिन्छ ।

यसको सेवनबाट पिसावको बिरामीलाई समेत फाइदा पुग्छ । यो खुर्सानीको अचार बनाएर पनि प्रयोग गर्न सकिन्छ । दैनिक जनजीवनमा उपयोगी रहे पनि पछिल्लो समय यसको रैथाने बीउ जात भने लोप हुन थालेको स्थानीयको भनाइ छ । यो खुर्सानी विभिन्न आकारका हुन्छन् । ठूलो गोलो लाम्चो (मीठो बास्ना आउने) जातको अकबरे निकै पिरो र प्रख्यात सबैले मनपराउने जात हो । अकबरे खुर्सानीको नियमित सेवन गर्ने हो भने पेटमा हुने ग्यास्टिक तथा अल्सरजस्ता रोग निको हुन सहयोग पुग्ने स्थानीय जानकारहरुको भनाइ छ । अकबरे खुर्सानी नियमित सेवन गर्दा यसले मोटोपना घटाउन मद्दत गर्दछ ।

पेटसम्बन्धी मात्र होइन, अन्य रोगीलाई समेत फाइदा हुने गाउँपालिकाको कृषि शाखाले जनाएको छ । फल धेरै पिरो हुने हुँदा यसको मीठो स्वादले खानाको रुचि बढाउँछ । यसको प्रयोग मसलाका रुपमा गरिन्छ । यसलाई औद्योगिक कच्चा पदार्थका रुपमा पनि प्रयोग गरिन्छ । यसको पाकेको फलबाट अचार र अन्य नेपाली परिकार बनाउन सकिन्छ ।

अकबरे खुर्सानी धेरै पिरो र स्वादिलो हुन्छ । यसको छिप्पिएको हरियो फलमा भिटामिन ए र शिललगायत विभिन्न प्रकारका अन्य भिटामिन, खनिज, तत्व तथा पोषण तत्व प्रशस्तमात्रामा पाइन्छ । खुर्सानी विशेष गरेर चाउचाउ उद्योग र अचार र पाउडरका लागि सबैभन्दा बढी खपत हुने व्यापारी जीवन राउतले बताए । बजारमा ५०० देखि ७०० टनसम्म आवश्यक रहेको राउतले बताए ।

गत वर्ष आफूले मात्र १५० मेट्रिकटन खुर्सानी बाहिर अन्य जिल्लामा लगेको उनले जानकारी दिए । एक दिनमा भोजपुरबाट २१ टनसम्म खुर्सानी उठाएको उनले जानकारी दिए । पछिल्लो समय खुर्सानी खेतीमा कृषकको आकर्षण बढेसँगै बर्सेनि उत्पादनमा पनि वृद्धि भएको छ । नेपालमा उत्पादन हुने खुर्सानी नेपाली बजारसँगै विदेशमा समेत निर्यात गर्न सरकारीस्तरबाट पहल भइरहेको छ । नेपाली बजारमा पाँचदेखि सात टन खुर्सानीको आवश्यकपर्ने बताइन्छ ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.