www.tandavnews.com
Fact ~ In search of truth

भूकम्पको सम्भाव्यताबारे अध्ययन हुँदै

दार्चुला।

जिल्लाको तातोपानी क्षेत्र रहेका दुई स्थानमा भूकम्पको सम्भाव्यताबारे अध्ययन सुरु गरिएको छ । तातोपानी क्षेत्र रहेको दुहुँ गाउँपालिका– ३ को श्रीवगड र मार्मा गाउँपालिका–४ को तपोवनस्थित तातोपानी क्षेत्रको अवस्थाबारे अध्ययन थालिएको हो ।

पेरिसका प्रोफेसर फेडरिक पेरियर र खानी तथा भूभार्ग विभागका टेक्निकल असिस्टेन्ट राजेश शर्माले यहाँ पुगेर अवस्थाबारे अध्ययन गरेका हुन् । भूकम्पको दृष्टिकोणले पश्चिम नेपालको दार्चुला र बझाङमा बढी जोखिम रहेको हुनसक्ने अनुमानका आधारमा उनीहरुले यहाँको अवस्थाबारे अध्ययन थालेका छन् । पश्चिम नेपालमा ५१७ वर्षयता ठूलो भूकम्प गएको छैन ।

नेपालका ठूला भूकम्पमध्ये अबको १० वर्षभित्र पश्चिम नेपालमा ठूलो भूकम्प आउनसक्ने भूकम्पविद् प्रोफेसर पेरियर बताए । “पश्चिम नेपालमा १० वर्षभित्र ठूलो भूकम्प आउने खतरा छ”, उनले भने, “तातोपानी भएको क्षेत्रमा भूकम्प आउने सम्भावना बढी हुने भएकै कारण यहाँको पानीको अवस्थाबारे अध्ययन गर्न आएका हौँ ।” दार्चुलाका श्रीवगडको पानीमा त्यति खतराको अवस्था नरहेको उनले बताए ।

पानीको तापक्रम ६४.६ डिग्री देखिएको उनले जानकारी दिए। ग्यासको मात्रा सिओ–२ मात्रै छ । उनका अनुसार ग्यास बढी भएको भए भूकम्प चाँडो आउने सम्भावना रहन्छ । “यहाँ ग्यासको मात्रा अहिले बढेको छैन्, मेरो अनुभवले जुन तातोपानीमा ग्यासको मात्रा बढी हुन्छ त्यो खतरा हो”, उनले भने ।

नेपालमा लामो समयदेखि भूकम्प आउने क्षेत्रबारे अनुसन्धान गर्दै आएका प्रोफेसर पेरियरकले अहिले नै यो क्षेत्रमा जोखिमको अवस्था धेरै नरहेको बताए । उनले थपे, “हामीले गरेको अनुसन्धानको डिटेल रिपोर्ट आउन ३/४ महिना लाग्छ ।” पछिल्लो समय सुदूरपश्चिमका दार्चुला, बझाङ लगायतका केन्द्र भएर साना भूकम्प भने बढी जाने गरेको टेक्निकल असिस्टेन्ट शर्मा बताए । “मैले भूकम्प मापन केन्द्र सुर्खेतमा बसेर काम गरेको हुँदा यो क्षेत्रमा साना भूकम्प धेरै जाने गरेको थाहा छ”, उनले भने ।

रासस

–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.