www.tandavnews.com
Fact ~ In search of truth

हिलो र धुलोमुक्त हुँदै पोखरा बसपार्क

पोखरा।

जग्गा अधिग्रहण भएको झण्डै ४७ वर्षपछि यहाँको बसपार्क व्यवस्थित बनाउने पहल थालिएको छ ।

यतिबेला बसपार्कको नाला निर्माण र ग्राभेल भरेर सम्याउने काम अगाडि बढेको छ । अहिले बसपार्कको आधा भागमा ग्राभेल हालेर सम्माउने काम भएको छ भने पश्चिम भागमा नाला निर्माण गर्न थालिएको छ ।

पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले भने, “लामो समयदेखि पोखराको बसपार्कमा देखिएको समस्या कम गर्न थालिएको छ । तत्कालका लागि हिलो र धुलोमुक्त बनाउन लागेका छौँ ।” नाला निर्माण र ग्राभेल भरेर सम्याउने काम भएसँगै बसपार्क अब हिलो र धुलोमुक्त हुने उनको भनाइ छ ।

उनका अनुसार पोखरा महानगरपालिका र प्रदेश सरकारको समेत सहयोगमा बसपार्क सुधार कार्य अगाडि बढेको हो । आधा भाग ग्राभेल हालेर पुर्ने काम भएको र बाँकी आधा भागमा पनि निरन्तर काम भइरहेको छ । यसैबीच पोखरा बसपार्कका प्रमुख आचार्यले बसपार्कको सबै भाग सम्याएर तत्कालका लागि धुलो र हिलोमुक्त बनाउन निर्देशन दिएका छन्। उनले दीर्घकालीन समस्या समाधानका लागि डिपिआर तयार पार्दै सिटी बसपार्कको रुपमा निर्माण गर्ने बताए ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का र पोखरा महानगरका प्रमुख धनराज आचार्यले गत जेठमा बसपार्कको नाला निर्माणको शिलान्यास गरेका थिए । झण्डै ४७ वर्ष अगाडि अर्थात् १८ फागुन २०३२ सालमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर बसपार्कका लागि जग्गा अधिग्रहण गरिएको थियो ।

पोखरा बसपार्कको जग्गा पोखरा उपत्यका नगरविकास समितिको स्वामित्वमा छ । उपत्यका नगरविकास समिति अहिले महानगर प्रमुखको नेतृत्वमा छ । अधिग्रहण गरिएको २०५ रोपनी जग्गा अहिले जम्मा ८१ रोपनीमा खुम्चिएको छ ।

रासस

–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.