www.tandavnews.com
Fact ~ In search of truth

एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या

चितवन।

जिल्लामा रहेका एचआइभी सङ्क्रमितममा यौनरोगको समस्या देखिएको छ । नौ दशमलव २५ प्रतिशत एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या देखिएको छ ।

भरतपुर अस्पतालमा रहेको एन्टिरेक्ट्रो भाइरल थेरापी सेन्टरका अनुसार विगत ६ महिनामा १०८ सङ्क्रमितको परीक्षणका क्रममा उनीहरुमा यौनरोगको समस्या देखिएको हो । सेन्टरका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार परीक्षण गरिएकामध्ये १० जनामा यो समस्या देखिएको छ ।

उनीहरुमा भिरिङ्गी, गोनोरीया, सेतोपानी बग्ने, छालामा खटिरा आउनेलगायत समस्या देखिएको उनले जानकारी दिए । पछिल्लो समय यौनरोगको समस्या असुरक्षित यौन सम्पर्क र यौनाङ्गको हेरचाहमा ध्यान नदिँदा भएको पाइएको सापकोटाले बताए। एचआइभी सङ्क्रमितमा यसअघि यो समस्या नदेखिएको उनको भनाइ छ ।

भरतपुर अस्पतालका फिजिसियन डा.प्रमोद पौडेलले एचआइभी सङ्क्रमित भएर पनि नियमित औषधि सेवन गर्नेमा यौनरोग देखिए पनि खासै समस्या नहुने बताए । उनले भने, “औषधि नखाएकामा देखा परेमा फैलन सक्ने समस्या हुन्छ ।” अहिले यौन रोगको समस्या औषधि सेवन गरिरहेकामा देखिएको उनले जानकारी दिए।

जिल्लामा पछिल्लो ६ महिनामा ५७ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा मात्रै ३७ जनामा पुष्टि भएको हो । अहिले जिल्लामा एक हजार ७३ जनाले एचआइभी एड्स प्रतिरोधात्मक औषधि एआरबी सेवन गर्दै आएका छन् ।

सोही अवधिमा यहाँबाट औषधि सेवन गरिरहेका २२ जनाले अन्य जिल्लाबाट औषधि खानका लागि सिफारिस लगेका छन् । यस्तै ६ एचआइभी सङ्क्रमित आमाले स्वस्थ बच्चा जन्माएको सापकोटाले जानकारी दिए। सङ्क्रमितमध्ये नौ जनाको मृत्यु भएको छ भने ६ जनामा हेप्पटाइटिस सि देखा परेको छ ।

रासस

–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.