www.tandavnews.com
Fact ~ In search of truth

वर्षाले किसान खुसी, रोपाइँको चटारो

बैतडी।

केही दिनदेखि भइरहेको वर्षाले बैतडीका किसान खुसी भएका छन् । वर्षापछि रोपाइँ गर्न पाएको र वर्षे बालीलाई राहत पुगेपछि यहाँका किसान खुसी भएका हुन् ।

वर्षा नभएर रोपाइँ गर्न नसकिएको र मकै, भटमासलगायत वर्षे बाली सुक्ने अवस्था थियो । रोपाइँ गर्न राहत पुगेको दोगडाकेदार–३ श्रीकोटका मानसिंह विष्टले बताए । उनले भने, “वर्षा नहुँदा रोपाइँ गर्न सकिएको थिएन, वर्षे बालीलाई पनि राहत मिलेको छ ।” यसअघि असार पहिलो सातासम्म वर्षा नहुँदा किसान चिन्तित बनेका थिए ।

हालसम्म जिल्लामा ७५ प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत नरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । सिँचाइको सुविधा भएको ठाउँमा रोपाइँ सम्पन्न भएको छ भने आकाशे पानीका भरमा रोपाइँ हुने क्षेत्रमा पनि धमाधम भइरहेको छ । जिल्लाको सुर्नया र चौलानी नदी किनार, पुर्चौडीको हाट, पाटन, पञ्चेश्वरलगायत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ ।

पाटन नगरपालिकाको पाटन फाँट, सलेना, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिकाका विभिन्न क्षेत्र तथा दशरथचन्द नगरपालिकाको सेरालाई धान खेतीको पकेट क्षेत्र मानिन्छ । बैतडीमा नौ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.