www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा बजेट माथिको छलफल जारी

पाेखरा।

गण्डकी प्रदेशसभामा बजेट माथिको छलफल जारी छ । प्रदेशसभाको आजको बैठकमा सदस्यहरूले बजेटका सम्बन्धमा आ–आफ्ना धारणा राखेका छन्।

बैठकमा प्रदेशसभा सदस्य रामशरण बस्नेतले बजेटमा एउटा र रातो किताबमा अर्कै आउने जस्ता प्रवृत्ति देखिएको बताए। जनताका आवश्यकतातर्फ बजेट केन्द्रित नभएको उनले बताए । यस बजेटबाट जनताका इच्छा र चाहना पूरा नहुने उनले बताए।

बाढीका कारण जनजीवन अस्तव्यस्त भएको अवस्थामा सरकारले बेवास्ता गरेको आरोप लगाए । सरकारमा जवाफदेहिता नदेखिएको उनले बताए ।

मनकुमारी गुरुङले आफ्नो साधनस्रोतलाई ख्याल गर्नुपर्ने अवस्थामा हैसियत अनुसार बजेट आएको बताउँदै धेरै विषयलाई बजेटले समेटेको बताइन् । सरकारले जनतालाई अत्यावश्यक कतिपय नयाँ कार्यक्रम ल्याएको उनले बताइन्। कतिपय कार्यक्रम नीति तथा कार्यक्रममा परे पनि बजेटमा नसमेटिएको बताउँदै उनले रातो किताबमा ती विषय समेटिएर आउने विश्वास व्यक्त गरिन् ।

लेखबहादुर थापाले बजेट जनमुखी रहेको बताए । करको दायरा फराकिलो बनाउनुपर्नेमा उनले जोड दिए । धनमाया पोखरेल लामाले सङ्घीयताको मर्म र भावनाअनुसार प्रदेशमा देखिने विवाद तथा समस्या यहाँ नै समाधान गर्नुपर्नेमा जोड दिए । उनले जनताका पक्षमा सबै एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याए।

सावित्रा रानाले सरकारले ल्याएको बजेट परिणाम दिने खालको हुनुपर्नेमा वितरणमुखी आएको बताइन् । योजना छनोट विधि नै गलत अवलम्बन गरिएको उनले बताए । यो बजेटले समृद्धिको यात्रा तय गर्न नसक्ने उनको भनाइ छ ।

भागवत प्रकाश मल्लले जनताका आवश्यकता र अपेक्षालाई सम्बोधन गर्नुपर्नेमा जोड दिए । मोहनप्रसाद रेग्मीले बजेट गन्तव्यमा पुग्ने किसिमको नभएको बताए। सत्तापक्ष आफैँभित्र लुछाचँुडीमा लागेको बताउँदै उनले जनताका अपेक्षालाई ध्यान नदिइएको बताए । आजको छलफलमा इन्द्रलाल सापकोटा, विनोद केसीलगायत सदस्यहरूले भाग लिएका थिए ।

रासस

–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.