www.tandavnews.com
Fact ~ In search of truth

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३६ गैँडा मरे

चितवन।

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा ३६ गैँडा मरेका छन् । जसमध्ये दुईवटा चोरी शिकारीबाट र ३४ वटा प्राकृतिक कारणले मरेका हुन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार पछिल्लोपटक मेघौली रेञ्जपोष्ट नजिकै अन्दाजी २५ वर्षको पोथी गैँडा मृत फेला परेको छ । सो गैँडाको खागखुर सुरक्षित रहेको र घाउचोट नभएकाले प्राकृतिक कारणले मरेको हुनसक्ने निकुञ्जको अनुमान छ ।

चालु आर्थिक वर्षमा मरेका दुई गैँडामध्ये एउटाको खागखुर शिकारीले लगेका थिए भने अर्काे एकको खागखुर सुरक्षित रहेको थियो । बाँकी ३४ गैँडा प्राकृतिक कारणबाट मरेका हुन् । तीमध्ये झण्डै आधा जुधेर मरेको तिवारीले बताए।

गैँडा बुढो भएर, दलदलमा फसेर, बाघको आक्रमणमा परेर, खाडलमा परेर मरेका हुन् । गत आवमा ३३ वटा गैँडा प्राकृतिक कारणबाट मरेका थिए । केही वर्षअघि एकै वर्ष प्राकृतिक कारणबाट ४४ गैँडा मरेका थिए । त्यो नै हालसम्मको प्राकृतिक कारणबाट मरेका सबैभन्दा ठूलो सङ्ख्या हो । गैँडाको सङ्ख्या बढेसँगै मृत्युदर बढ्दै गएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले प्राकृतिक कारणबाट मृत्युदर घटाउन सक्ने जति प्रयास भइरहेको बताए।

एकै ठाउँमा धेरै गैँडा नहोस् भन्नका लागि निकुञ्जले आन्तरिक स्थानान्तरणको योजना बनाएको छ । यससँगै बासस्थान व्यवस्थापनमा जोड दिएको छ ।

नमूना घाँसेमैदान निर्माणका लागि प्रस्ताव गरिएको उनले जानकारी दिए। गैँडा एकै ठाउँमा धेरै रहँदा जुधेर मर्ने क्रम बढेपछि फरक–फरक ठाउँमा व्यवस्थित घाँसेमैदान र पानीको स्रोत व्यवस्थापनमा निकुञ्ज जुटेको छ ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.