www.tandavnews.com
Fact ~ In search of truth

बागलुङमा विद्यार्थीलाई उपभोक्ता शिक्षा

बागलुङ।

बागलुङमा विद्यालय तहदेखि नै उपभोक्ता अधिकारबारे विद्यार्थीको ज्ञान र चेतना जगाउन प्रशिक्षण अभियान थालिएको छ । राष्ट्रिय उपभोक्ता मञ्च बागलुङले उपभोक्ता शिक्षा प्रवद्र्धनका लागि विद्यार्थीलाई प्रशिक्षित गर्न सुरु गरेको हो ।

मङ्गलबार र बुधबार सदरमुकामस्थित विद्यामन्दिर मावि र कालीगण्डकी आवासीय माविमा प्रशिक्षण चलाइएको मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

“दुई दिन गरी झण्डै ३०० विद्यार्थी प्रशिक्षणमा सहभागी बने”, उनले भने, “यो अभियानकै रूपमा अगाडि बढ्छ, साउनदेखि अरु विद्यालयमा पनि गर्छौँ ।” बागलुङ नगरपालिकासँगको सहकार्यमा मञ्चले नगरभित्रका विद्यालयमा उपभोक्ता सचेतनाका लागि प्रशिक्षण सञ्चालन गरेको हो ।

अध्यक्ष श्रेष्ठले अरु स्थानीय तहसँग पनि मिलेर जिल्लाभर उपभोक्ता शिक्षाको प्रसार र सबलीकरण गरिने बताए। “विद्यार्थीलाई उपभोक्ता अधिकारका कुरा बुझायौँ, सिकायौँ भने उनीहरु आफू पनि सचेत हुन्छन्, घरपरिवार र समुदायमा पनि पु¥याउँछन्”, उनले भने, “प्रशिक्षणमा सम्बन्धित क्षेत्रका विज्ञ र अनुभवीले विद्यार्थीलाई सहजीकरण गर्छन् ।”

हरेक नागरिक उपभोक्ता भएकाले आफ्ना अधिकारका बारेमा पहिले व्यक्ति स्वयं सचेत हुनुपर्ने अध्यक्ष श्रेष्ठले बताए । सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले विद्यालय तहका बालबालिकालाई उपभोक्ता शिक्षा फलदायी हुने धारणा राखे ।

“सानो उमेर भनेको आफू कस्तो हुने र के सिक्ने भन्ने बेला हो, यस्तो प्रशिक्षणबाट बालबालिकाको सिकाइ पनि बढ्छ, उनीहरुलाई के खान हुन्छ, के हुँदैन भन्ने थाहा हुन्छ”, उनले भने, “उपभोक्ता अधिकारबारे जनस्तरमा व्यापक सचेतना फैलाउन विद्यार्थी असल माध्यम हुन सक्छन् ।”

दुई दिनसम्म चलेको प्रशिक्षणका क्रममा मञ्चका खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य अनुसन्धान अधिकृत सौरभ श्रेष्ठ, भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका डा ऋषि सापकोटा, सरकारी वकिल कार्यालयका प्रमुख जिल्ला न्यायाधिवक्ता लालप्रसाद लामिछाने, मञ्चका सचिव रामबहादुर केसीलगायतले सहजीकरण गरेका थिए ।

सहजकर्ताले उपभोक्ता अधिकारसँग जोडिएका विविध विषयमा विद्यार्थीलाई सुसूचित गरेका थिए । खाद्य अनुसन्धान अधिकृत श्रेष्ठले दूषित खाद्य पदार्थ, न्यून गुणस्तरयुक्त खाद्य पदार्थ, ‘जङ्कफुड’, उपभोक्ता अधिकारसम्बन्धी कानुनी व्यवस्थाजस्ता विषयमा सहजीकरण गरेका थिए।

‘जङ्कफुड’को अधिक सेवनले मस्तिष्कको विकासमा अवरोध आउने, हाडजोर्नी कमजोर हुने, बौद्धिक शिथिलताजस्ता समस्या देखापर्ने उनको भनाइ छ ।

डा. सापकोटाले स्वस्थकर मासु सेवन नगर्दा मानिसले गम्भीर रोगको सामना गरिरहनुपरेको बताए । “रोग निम्त्याउने सुक्ष्म जीवका लागि मासु उपयुक्त स्थान हो, सुरक्षित मासु सेवनका लागि मासु संरक्षणको विधि सबै उपझोक्ताले सिक्नुपर्छ जान्नुपर्छ”, उनले भने, “अस्वस्थकर मासुका कारण जुनोटिक रोगको समस्या बढ्दो छ, १२ घण्टा फ्रिजमा चिस्याएर मात्र मासु प्रयोग गर्नुपर्छ ।” प्रशिक्षणमा कक्षा ४ देखि ११ सम्मका विद्यार्थी सम्मिलित थिए ।

रासस

–––

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.