www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रियस्तरको खुला कविता प्रतियोगितामा १५ कविता छनोट

तनहुँ।

आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीका अवसरमा राष्ट्रियस्तरको खुला कविता प्रतियोगितामा ११ जिल्लाका १५ कविता छनोट भएका छन् ।

आदिकवि भानुभक्त जन्मस्थल विकास समिति तनहुँद्वारा आयोजित राष्ट्रियस्तरको खुला कविता प्रतियोगितामा वाचनका लागि प्राप्त भएका कवितामध्ये ती कविता छनोट भएका हुन् । आचार्यको जन्मजयन्तीका अवसरमा यही असार २८ गते खुला कविता प्रतियोगिता हुन गइरहेको छ ।कविले स्वयं उपस्थित भई कविता वाचन गर्नुपर्ने समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिए।

प्रतियोगितामा कविता वाचनका लागि पर्वत, मोरङ, कास्की, नवलपुर, अछाम, रामेछाप, कपिलवस्तु, बारा, खोटाड, पाल्पा र रुपन्देहीका कवि सहभागी हुने बताइएको छ । प्रतियोगितामा प्रथम हुनेलाई रु २० हजार, द्वितीय हुनेलाई रु १५ हजार, तृतीय हुनेलाई रु १० हजार र सान्त्वना हुने दुई जनालाई जनही रु पाँच हजारका दरले पुरस्कार प्रदान गरिनेछ ।

कविता नेपाली भाषामा लेखिएको हुनुपर्नेछ । विसं १८७१ असार २९ गते भानु नगरपालिका–४ चुँदीरम्घामा आचार्यको जन्म भएको थियो । भानु जयन्तीका अवसरमा गण्डकी प्रदेश सरकारले असार २९ गते सार्वजनिक बिदासमेत दिएको छ ।

नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविका रुपमा परिचित भानुभक्त वाल्मिकी रामायणका अनुवादकका रुपमा पनि उत्तिकै प्रख्यात छन् । मोतिराम भट्टले उनलाई पहिलोपटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए ।

भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षालगायत कृति लेखेका छन् । उनका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतीरामले पुस्तकाकारमा प्रकाशित गरेपछि नेपाली साहित्यमा चिनिएका हुन्।

रासस

–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.