www.tandavnews.com
Fact ~ In search of truth

डुम्रे–बेँसीसहर सडक अवरुद्ध

लमजुङ।

गए रातिदेखि परेको वर्षाले पहिरो जाँदा डुम्रे बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । बेँसीसहर नगरपालिका–१ उदीपुरको देउरालीडाँडामा पहिरो खस्दा सो सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए।

सो सडकखण्डको वैकल्पिकरूपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदीपुरबजार जोडिने यस भागमा माथिबाट लेदो आएर सडक अवरुद्ध बनेको हो । गत वर्ष र केही हप्ताअघि गएको बाढीले डुम्रे बेँसीसहरको देउरालीडाँडाको सडक नै बगाएपछि उक्त स्थानबाट वैकल्पिक सडकको रुपमा सञ्चालन हुँदै आए पनि यस खण्डसमेत पटक–पटक बाढीपहिराले अवरुद्ध बनाउँदै आएको छ ।

सडक अवरुद्ध भएपछि बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवन, तनहुँ, गोरखालगायत जाने सो स्थानबाट बेँसीसहर आउने सवारीसाधन सञ्चालन हुन नसकेको प्रहरी निरीक्षक रेग्मीले बताए। पहिरोले बेँसीसहर–चामे सडकसमेत अवरुद्ध भएको छ । गए रातिको वर्षाले बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा पहिरो खस्दाउक्त स्थानमा सवारी सञ्चालन हुनसकेको छैन ।

उक्त स्थानमा सडक अवरुद्ध भएसँगै बिहानैदेखि वैकल्पिक सडक बेँसीसहर–बाझखेत हुँदै खुदी निस्कने सडकबाट सवारीसाधन सञ्चालन भइरहेको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ । यस सडक लमजुङ–मनाङ जोड्ने एक मात्र सडक हो । ६५ किलोमिटरको यस सडकमा दैनिकजसो नै सडक अवरुद्ध हुने गर्दा यात्रुहरू मर्कामा परेका छन् ।

रासस

–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.