www.tandavnews.com
Fact ~ In search of truth

डेढ दशकपछि बेनी–सिमखण्ड कालोपत्र

गलेश्वर।

म्याग्दीको बेनी–सिमखण्ड निर्माण भएको १६ वर्षपछि कालोपत्र भएको छ । बाह्र किलोमिटर लामो उक्त सडक कालोपत्र भएपछि पश्चिम म्याग्दीका तीन गाउँपालिकाका साथै छिमेकी बागलुङको पश्चिमी क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् ।

सडक कालोपत्र भएपछि मङ्गला, मालिका र धौलागिरि गाउँपालिकाका साथै पश्चिम बागलुङका ढोरपाटन, धम्जा लगायत गाउँका बासिन्दा लाभान्वित भएका हुन् । विसं २०६३ मा निर्माण गरिएको २७ किलोमिटर लामो बेनी–दरबाङ सडक खण्डमध्ये १२ किलोमिटर लामो बेनी–सिमखण्ड कालोपत्र भएपछि अब जोखिमपूर्ण यात्रा हटेको छ । सडक कालोपत्र भएपछि करिब दुई घण्टाको यात्रा अवधि २५ मिनेटमा छोटिएको मालिका–५ का भुवन बूढाले बताए ।

“सामान ढुवानी गर्न र आवतजावतमा सजिलो हुनुका साथै धुलो र हिलोबाट मुक्त भएका छौँ”, रणबाङका हरिकृष्ण पौडलले भने । अब सो क्षेत्रको व्यापार व्यवसाय फष्टाउने भएको छ । बेनी–सिमखण्ड पूर्वाधार विकास कार्यालयले कालोपत्र गरेको हो । कार्यालयका निमित्त प्रमुख गुरुदत्त अधिकारीका अनुसार पहिरोको समस्या र जग्गा विवाद भएको बाहेकको ठाउँमा कालोपत्र गरिएको छ ।

एघार मिटर फराकिलो सडकमा सात मिटर कालोपत्र गरिएको छ । सडक कालोपत्र गर्न २०७४ असोजमा रु ४५ करोडमा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले उपकरण र मजदुर परिचालन गर्न नसक्दा काम गर्न ढिलाइ भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

तत्कालीन सडक डिभिजन कार्यालयले ठेक्का लगाएको उक्त सडक २०७५ पुसमा प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो । आयोजनाको दोस्रो चरणमा लाम्पाटादेखि दरवाङसम्मको आठ किलोमिटर खण्ड कालोपत्र गर्न रु २२ करोड ५७ लाखमा बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको छ ।

एक वर्षयता सो कम्पनीले काम नगर्दा काम अधुरै छ । यस्तै मङ्गला गाउँपालिकाको सिमदेखि लाम्पाटासम्मको साढे दुई किलोमिटर सडक स्तरोन्नतिका लागि सम्झौता भएको छ ।

रासस

–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.