www.tandavnews.com
Fact ~ In search of truth

हिमालय एयरलाइन्सको काठमाडौँ–कुवेत उडान सुरु

काठमाडौँ।

नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको निजी क्षेत्रको हिमालय एयरलाइन्सले काठमाडौँ–कुवेत–काठमाडौँ सिधा उडान सुरु गरेको छ ।

कम्पनीले अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्दै आठौँ गन्तव्यका रुपमा कुवेतमा उडान सञ्चालन गरिएको विज्ञप्तिमार्फत जनाएको छ ।

छैठौँ गल्फ सिटी कुवेतका लागि हिमालय एयरलाइन्सले जुलाई १५, २०२२ मा आफ्नो पहिलो निर्धारित उडान सफलतापूर्वक सञ्चालन गरेको जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार राति २२ः३२ बजे प्रस्थान गरी कुवेतबाट फर्कने क्रममा आज बिहान ०९ः१७ बजे काठमाडौँ अवतरण गरेको थियो । उडान उद्घाटन कार्यक्रममा विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर र अन्य विशेष अतिथिको उपस्थिति रहेको थियो ।

एअरलाइन्सले एयरबस ३२० विमानले हरेक शुक्रबार काठमाडौँदेखि कुवेत र हरेक शनिबार कुवेतदेखि काठमाडौँ उडान सञ्चालन गर्ने जनाएको छ । अरबी प्रायद्वीपको देश कुवेत विशेष गरी रोजगारी र व्यापारिक उद्देश्य लिएर जाने नेपालीका लागि महत्वपूर्ण गन्तव्य हो ।

नेपाल र कुवेतबीच मैत्रीपूर्ण तथा सौहार्दपूर्ण सम्बन्ध रहेकामा हिमालय एअरलाइन्सद्वारा काठमाडौँ–कुवेत–काठमाडौँ सेक्टरको उद्घाटनले दुई राष्ट्रबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने कम्पनीको विश्वास छ । नेपाल र कुवेतबीच जनवरी २३, २००६ मा हवाई सेवा सम्झौता भएको थियो ।

हिमालय एयरलाइन्स काठमाडौँलाई कुवेतसँग सिधा जोड्ने नेपालको पहिलो वायुसेवा कम्पनी भएको कम्पनीले जनाएको छ कम्पनीका प्रशासनिक उपाध्यक्ष विजय श्रेष्ठले यात्रुलाई प्रभावकारी अन्तर्राष्ट्रिय हवाई सेवा उपलब्ध गराउँदै हिमालयको काठमाडौँ–कुवेत–काठमाडौँ सेक्टरको सुरुआत पनि सोही भावनाअनुरुप रहेको बताए।

रासस

–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.