www.tandavnews.com
Fact ~ In search of truth

शिवालयमा बिहानैदेखि चहलपहल

बागलुङ।

आज साउनको पहिलो सोमबार । यहाँका शिवालयमा बिहानैदेखि भक्तालुको भीड लागेको छ । शिवभक्तले साउने सोमबारलाई पवित्र दिनका रुपमा लिन्छन् ।

साउन भगवान् शिवजीसँग जोडिएको महिना हो । यस वर्ष पाँच सोमबार परेका छन् । साउनमा शिवको व्रत र पूजाआजा गरे फल प्राप्त हुने धार्मिक विश्वास छ । विशेष गरी महिलाले यसलाई बढी महत्व दिन्छन् ।

बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित गौरीधाम शिव मन्दिरमा बिहान ३ बजेदेखि नै चहलपहल सुरु भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र जिसीले बताए। “बिहानैदेखि भक्तजनको भीड लागेको छ, भक्तजनको सहजता र सुविधाका लागि आवश्यक सबै प्रबन्ध मिलाएका छौँ”, उनले भने, “दुई वर्ष कोभिडले प्रभाव पारे पनि अहिले मन्दिरमा राम्रो चहलपहल छ, उमङ्गको वातावरण छ ।” अध्यक्ष जिसीले पूजाको व्यवस्थापनका लागि प्रहरी र स्वयंसेवक खटाइएको बताए।

भक्तालुको सुविधालाई हेरेर खानेपानीको निःशुल्क प्रबन्ध गरिएको छ । विसं २०५८ मा निर्मित उक्त मन्दिरमा बर्सेनि शिवरात्रि र साउने सोमबारमा विशेष पूजाआजा हुने गर्छ ।

बागलुङ –९ तित्याङस्थित शिवालय मन्दिरमा पनि भक्तजनको चहलपहल देखिएको छ । बागलुङ बजार र आसपासका गाउँबाट भक्तालु शिवको पूजाआरधाना गर्न त्यहाँ आउँछन् ।

काठखोला गाउँपालिका–५ रामकोटधाममा रहेको त्रिपुरेश्वर महादेव मन्दिरमा पनि साउने सोमबारमा विशेष पूजाआजा हुन्छ । विसं २०४० मा दिवङ्गत स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजले स्थापना गरेकाे उक्त मन्दिरमा ५०० किलोको शिवलिङ्ग छ ।

भारतको नर्मदा नदीबाट ल्याएर उक्त शिवलिङ्गलाई त्यहाँ प्रतिस्थापन गरिएको हो । उक्त मन्दिरमा बर्सेनि जेठ ११ मा भगवान् शिवको रथयात्रा पनि निकाल्ने गरिन्छ । शिवरात्रि, बालाचर्तुरदशीलगायतका पर्वमा त्यहाँ धार्मिक मेला लाग्छ । गलकोट–७ मल्मस्थित सिद्धेश्वर शिवालय मन्दिरसहित यहाँका सबै शिवालयमा साउने सोमबारभर भक्तालुको भीड लाग्छ ।

सिद्धेश्वरमा शिवलिङ्ग मण्डप पनि निर्माण गरिएकाले भक्तजन आकर्षित हुने गरेका छन् । ज्योतिषशास्त्र अनुसार सोमबारको स्वामी भगवान् शिव भएकाले यो महिनामा गरिने शिवको व्रत पूजा फलदायी हुन्छ ।

यस दिन आफू र आफ्नो परिवारको भलो चिताएर व्रत बस्ने गरिन्छ । सोमबारे व्रत बसेर पार्वतीले महादेव स्वामी पाएको धार्मिक ग्रन्थमा उल्लेख छ । शिवलाई देवाधिदेव महादेवका रुपमा पुजिन्छ ।

रासस
––––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.