www.tandavnews.com
Fact ~ In search of truth

एसपीपीसम्बन्धी सरकारको निर्णय कार्यान्वयनबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ

काठमाडौँ । 

सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)का सम्बन्धमा नेपाल सरकारको निर्णय र त्यसको कार्यान्वयनका सम्बन्धमा सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्ने अधिकांश सांसदहरूले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल सहभागी नहुने निर्णय गरिसकेको भए पनि अमेरिकालाई पत्र किन नपठाइएको भनी प्रश्न उठे पछि सभामुख सापकोटाले त्यस बारेमा स्पष्ट पार्न सरकारलाई रुलिङ गरेका हुन्

Batas

बैठकले आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलग्न रहेकोबारे छानविन गर्न गठित संसदीय विशेष समितिको म्याद ७ दिनका लागि थप गर्ने सर्वसम्मत निर्णय गरेको छ ।

यस्तै, बैठकले काठमाडौँ उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत रुपमा स्वीकृत भएको छ ।

यसअघि, आजको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले वर्षा र खेतीपातीको समयमा किसानले मल नपाएर हैरानी खेपिरहनुपरेको, विद्यालयमा पठनपाठन सुरु भइसकेको तीन महिना बितिसक्दा पनि देशका कतिपय स्थानमा अझै पनि पाठ्यपुस्तक पुग्न नसकेकोमा सरकारको ध्यानकृष्ट गराए।

सांसदहरुले नेपाली मुद्राको अवमूल्यन हुँदै गएको र जनता महँगीको मारमा परिरहेकाले गरिब तथा विपन्नलाई राहतका कार्यक्रम दिनुपर्ने र विभिन्न स्थानमा सुपथ मूल्य पसलहरू सञ्चालन गरेर जनतालाई राहत दिन सकिने भएकाले त्यस तर्फ सरकारले अविलम्ब ध्यान दिनुपर्नेमा जोड दिए।

यस्तै, बैठकमा सांसदहरुले महँगीको मारमा परेका श्रमिक मजदुरको ज्याला बढाउन, बाढी पहिरो प्रभावितहरूको राहत र उद्धारका कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।

प्रतिनिधिसभाको अर्को बैठक साउन ६ गते शुक्रबार दिउँसो १ः०० बजे पुन बस्ने छ ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.