www.tandavnews.com
Fact ~ In search of truth

करार कर्मचारी हटाएसँगै स्वास्थ्य बिमा र फार्मेसी बन्द

पोखरा।
माछापुच्छ्रे गाउँपालिकाले करार कर्मचारी हटाएपछि वडा नं ६ मा रहेको भेडाबारी प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य बिमा र फार्मेसी सेवा बन्द भएका छन् । गाउँपालिकाको फार्मेसी सेवामा कार्यरत १ मात्र कर्मचारी फार्मेसी सहायकलाई पनि हटाइएपछि सेवा बन्द भएको हो ।

फार्मेसीका अन्य कर्मचारी नहुँदा सेवा बन्द भएको स्वास्थ्य केन्द्रले जनाएको छ । स्वास्थ्य केन्द्रले शनिबार सूचना जारी गर्दै दक्ष कर्मचारी अभाव भएकोले सेवा बन्द गरिएको उल्लेख गरेको हो । स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिको शनिबार बिहानको बैठकले अर्काे सूचना नभएसम्मका लागि फार्मेसी सेवा बन्द गर्ने निर्णय गरेको हो ।

माछापुच्छ्रे गाउँपालिका ६ का वडाध्यक्ष टेकनाथ गौतमले जनताबाट धेरै गुनासो आएपछि सेवा प्रवाहको विषयमा स्वास्थ्य केन्द्र व्यवस्थापन समितिको बैठक बस्नुपरेको जानकारी दिए । ‘सेवा बन्दको विषयमा धेरैले गुनासो गर्नुभयो, आज (शनिबार) समितिको बैठक बसेर सेवा प्रवाहका लागि आइतबार गाउँपालिका जाने निर्णय गरेका छौँ,’ उनले भने । दक्ष जनशक्ति अभावले सेवा प्रवाह नहुँदा बिरामीलाई सास्ती भएको छ ।

Batas

गाउँपालिकाले राजनीतिक आग्रहले फार्मेसी सेवामा करार कर्मचारीलाई हटाएको नेकपा एमाले माछापुच्छ्रे गाउँपालिका अध्यक्ष विक्रम गुरुङको आरोप छ । ‘भेडाबारी स्वास्थ्य चौकी अस्पताल नै हो, दैनिक ठूलो संख्यामा बिरामीले सेवा लिन्छन्,’ उनले भने, ‘जनशक्ति नहुँदा सेवा बन्द भएको ७ दिन भइसक्यो, सयौँ बिरामीलाई सास्ती भएको छ ।’ स्वास्थ्य केन्द्रमा दैनिक सेवाग्राही आएर फर्किइरहेका छन् ।

नयाँ आर्थिक वर्ष सुरु भएसँगै गाउँपालिकामा कार्यरत केही करार कर्मचारी हटाइएका थिए । साउन १ गतेबाट करार कर्मचारीले हाजिर गर्न नपाएपछि सेवा प्रभावित हुँदै आएको छ । स्वास्थ्य चौकीले शनिबार बिहान औपचारिक रुपमा सूचना जारी गरी स्वास्थ्य बिमा सेवासेमत बन्द गरेको जानकारी दिएको छ । मेडिकल अधिकृत डा. विजय श्रेष्ठले भने आइतबारबाट सेवा चल्ने दाबी गरे ।

शनिबार बिहान त्रुटि भएर सूचना जारी भए पनि पछि कर्मचारीको व्यवस्थापन भइसकेको डा. श्रेष्ठको जिकिर छ । ‘बिहान त्रुटि भएर सूचना निकाल्यौँ, कर्मचारी व्यवस्थापन भइसक्यो, भोलि (आइतबार) देखि सेवा प्रवाह गछौं,’ उनले भने ।

गाउँपालिकामा ६३ जना करारका कर्मचारी थिए । गाउँपालिकाको साउन ३ गतेको बैठकले १६ जना करारका कर्मचारीको म्याद नथप्ने निर्णय गरेको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले हटाइएका कर्मचारी परिपूर्तिको तयारी भइरहेको सुनाए ।

गाउँपालिकाले १५/१६ दिनमा आवश्यक कर्मचारी परिपूर्ति गर्ने गरी प्रक्रियाअघि बढाएको प्रमुख प्रशासकीय अधिकृत पोखरेलले जानकारी दिए । ‘१/२ दिनमा सूचना आउँछ । अबको १५/१६ दिनमा सबै कर्मचारी परिपूर्ति हुन्छन्,’ उनले भने ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.